सिटिजन्स बैंकले सीईओलाई दियो एक करोड ३१ लाख तलव भत्ता, दशैं खर्च साढे नौ लाख
सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेल ।

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले गत आर्थिक वर्ष २०७७÷७८ मा बैैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लाई एक करोड ३१ लाख ९० हजार रुपियाँ तलव भत्ता दिएको छ । यो बैंकले आगामी १६ कात्तिकका लागि बोलाएको साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्ने र त्यसका लागि सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनमा सीईओ तथा सञ्चालकले पाएको तलव भत्ता सुविधा उल्लेख गरेको छ । यो बैंकको सीईओ बैशाख २०७६ देखि गणेशराज पोखरेल छन् ।

यो बैंकले गत वर्ष बैंकका सीईओलाई तलव वापत ८४ लाख रुपियाँ, भत्ता वापत ३० लाख रुपियाँ, दशैं भत्ता ९ लाख ५० हजार रुपियाँ, संचयकोष योगदान वापत ८ लाख ४० हजार रुपियाँ गरी कुल पारिश्रमिक तथा भत्ता वापत एक करोड ३१ लाख ९० हजार रुपियाँ दिएको बैंकले उल्लेख गरेको छ ।

Advertisement

बैंकले सार्वजनिक गरेको उक्त विवरण अनुसार सीईओले पाएको उक्त पारिश्रमिकमा ६५ लाख ३३ हजार रुपियाँ आयकर कट्टि भएको र सीईओले पाएको खुद पारिश्रमिक तथा भत्ता ६६ लाख ५६ हजार ८२७ रुपियाँ रहेको उल्लेख छ ।

 बैंकले प्रमुख कार्यकारी अधिकृतलाई चालक, इन्धन र मर्मतसंभारसहित सवारी साधनको व्यवस्था गरिएको पनि उल्लेख गरेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र अन्य कार्यकारी तहका कर्मचारीहरुलाई पनि नियमानुसार इन्धन सहित सवारी साधन सुविधा उपलब्ध गराइएको उल्लेख छ ।

सीईओ लगायत बैंकका सम्पूर्ण कर्मचारीहरुलाई बैंकको कर्मचारी विनियमावली अनुसार दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरिएको र निजका आश्रित परिवारका लागिसमेत औषधोपचार बीमा गरिएको पनि उल्लेख छ ।

बैंकका सीईओ लगायत कार्यकारी तहका सम्पूर्ण अधिकृतहरूलाई बैंकको कर्मचारी विनियमावली अनुसार मोबाईल फोन बापतको खर्च तथा अन्य सुविधा प्रदान गरिएको पनि बैंकले जारी गरेको गत आवको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

Advertisement

Advertisement