बिगत एक बर्ष कुनै काम नगरेका कारण आज विद्युत खेर गयोः घिसिङ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसअघि आफू कार्यकारी निर्देशक हुँदा कसरी खपत गराउने भन्ने चुनौति थियो भने अहिले कसरी खपत बढाउने भन्ने रहेको बताएका छन् । 

नेविप्रा कर्मचारी संघको १२औं महाधिवेशन उद्घाटनका क्रममा उनले विद्युत खपत बढाउने कुरामा प्राधिकरणको ध्यान केन्द्रित रहेको बताए । माग कम भएका कारण प्राधिकरणको दैनिक चार–पाँच सय मेगावाट विद्युत खेर गइरहेको जानकारी दिँदै घिसिङले खपत बढाउने वा निर्यात गर्ने कुरा आजको आजै संभव थिएन् भने । यद्यपि यसमा काम भने आफूहरुले गरिरहेको उनले बताए । 

Advertisement

बिगत एक बर्ष काम नभएका कारण आज विद्युत खेर जाने अवस्था बनेको घिसिङको तर्क छ । गएको एक बर्ष प्राधिकरणको नेतृत्व हितेन्द्रदेव शाक्यले गरेका थिए । घिसिङले विद्युत खेर जानुमा शाक्य नै दोषी रहेको औंल्याएका छन् ।

उनले विद्युत माग बढ्ने क्रम जारी रहेको र अहिले १६ सय मेगावाट पुगेको जानकारी दिँदै उद्योगहरुले थप विद्युत माग गरेको अवस्था छ भने । तर हालको विद्युत खेर जाने समस्या समाधान गर्न विद्युत व्यापारको विकल्प नरहेको घिसिङले औंल्याए । उनले भारत, बंगलादेशसहित सार्क राष्ट्रमा विद्युत व्यापारका लागि सरकार, राजनीतिक दलले पनि पहल गर्नुपर्ने बताए । 

उनले कर्मचारीको सेवा सुविधाका लागि आफ्नो यसअघिको चार बर्षे कार्यकालमा जति काम त्यसअघि भएको थिएन भन्दै कर्मचारी संगठनहरुलाई माग मात्रै नराख्न सल्लाह दिए । घिसिङले थप सुविधा दिन प्राधिकरणलाई थप नाफामा लैजानु जरुरी रहेको बताए । 

Advertisement

Advertisement