स्पेनिस ला लिगा: बिल्बाओको प्रतिस्पर्धात्मक जित

Advertisement

एजेन्सी/म्याड्रिड । एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बिल्बाओले भिल्लारियललाई २–१ गोलले हरायो ।

बिल्बाओलाई जिताउन राउल गार्सिया र इकर मुनियनले गोल गरे । भिल्लारियलका फ्रान्सिस कोक्वेलिनको गोल सान्त्वना बनेको थियो । प्रतिस्पर्धात्मक खेलमा राउलले १४औं मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । उनले इनाकी विलियम्सको पासमा गोल गरेका थिए । त्यसपछि ३२औं मिनेटमा कोक्वेलिनले अर्नउट डान्जुमाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

Advertisement

पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । दोस्रो हाफमा बिल्बाओले सानदार प्रदर्शन गरेको थियो । ७७औं मिनेटमा मुनियनले पेनाल्टी गोल गर्दै बिल्बाओलाई महत्वपूर्ण जित दिलाए । भिल्लारियलका अल्बर्टो मोरेनोले फल खेलेपछि रेफ्रीले भिएआरको सहायतामा बिल्बाओलाई पेनाल्टीको अवसर दिएका थिए । बिल्बाओले ८२औं मिनेटमा अर्को पेनाल्टी पाएको थियो । तर एलेक्स बेरेनग्वेरको पेनाल्टी प्रहारलाई भिल्लारियलका गोलरक्षक जेरोनिमो रुल्लीले सजिलै बचाए ।

५२ प्रतिशत बल पोसेसन राखेको बिल्बाओले खेलभर १४ वटा पोस्ट प्रहार गरेको थियो । यता ११ वटा पोस्ट प्रहार गरेको भिल्लारियलले दोस्रो हाफमा कमजोर बन्दा हार खेप्यो । बिल्बाओका इकर मुनियन ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै बिल्बाओ सातौं स्थानमा छ । नौ खेलमा चार जित, चार बराबर र एक हार खेपेको बिल्बाओको १६ अंक छ । पराजित भिल्लारियल ११ अंक सहित १३औं स्थानमा छ । शनिबार रातिनै भएको अन्य खेलमा इल्चे र स्पान्योल तथा भ्यालेन्सिया र मालोर्काले समान २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अर्को खेलमा रेलिगेसनको दबाबमा रहेको डिर्पोटिभो अलाभेसले काडिजलाई २–० गोलले पराजित गरेको छ ।

ला लिगा अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार (आज) हुँदैछ । ‘एल क्लासिको’ बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार साँझ ८ः०० बजे हुनेछ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement