सहकारीमार्फत वित्तीय र हस्पिटलसँग जोडिएर स्वास्थ्य सेवामासमेत क्रियाशील छु: वाग्ले
मधुकर वाग्ले सीईओ, शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा अध्यक्ष बेल्कोटगढी नागरिक अस्पताल

Advertisement

काठमाडौं । नयाँ सडकमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्याकारी अधिकृत तथा नुवाकोटको रातमाटेमा रहेको बेलकोटगढी नागरिक अस्पतालका अध्यक्ष मधुकर वाग्ले वित्तीय तथा स्वास्थ्य सेवामा क्रियाशील व्यत्तित्व हुन् । सहकारी संस्थामा आवद्ध भएर सामूदायिक सेवामा विश्वास बटुल्दै आफ्नो जन्मभूमि नुवाकोटमा दुई वर्षदेखि सुरु गरेका स्वास्थ्य सेवाका संस्थामासमेत आवद्ध वाग्लेसँग सहकारीको समसामयीक अवस्था र हस्पिटलको सेवाका विषयमा कर्पोरेट नेपालले गरेको कुराकानी:

सहकारी संस्था भन्ने वित्तिकै आम नेपाली समूदायसँग जोडिने संस्था हो तर यही संस्थासँग समूदायले विश्वास भने गरिनहाल्ने अवस्था छ नि ?
समग्रमा सहकारीलाई हेर्दा सहकार्य गर्ने र गाउँगाउँमा पुगेर गरिने तथा सामूहमा गरिने कार्य हो । समूहको आवश्यकतालाई परिपूर्ति गर्ने अवधारणा अनुसार समूदायमा सहकारी सुरु भएको पाइन्छ । यो शुक्रपथ सहकारी पनि सोही क्रममा २५ चैत २०६७ बाट सुरु भएको हो । सहकारी प्रतिको बुझाई र हामीले गर्ने कारोबार भनेको सुरुका दिनमा पैसा ल्याउने र लाने मात्रै हो भन्ने बुझाइ हुन्थ्यो । यसले पैसाको मात्रै कारोबार गर्छ भन्ने बुझाई थियो । तर, सहकारीको काम र बुझाई भनेको समग्र सदस्यहरूको हित र सेवामा काम गर्ने काम पनि हो ।

Advertisement

त्यसो त सहकारीलाई सेवा दिने भन्दा पनि पैसाकै कारोबार गर्ने संस्थाको रूपमा बुझ्ने गरिएको छ नि ?
हामीले आफ्नो कार्यक्षेत्र भित्र रहेर सदस्यलाई वित्तीय सहितको सहरकारी सचेतनाको पनि सेवा दिने गरेका छौं । क्षमता विकास गराउने र आज आर्जन बृद्धि गर्ने माध्यम बनेका छौं । आफ्नो क्षेत्रभित्र रहेर आर्थिक पाटोमा सहयोग गर्ने वा आर्थिक पाटोमा सहभागिता गराउने काम भइरहेको छ । सहकारी शिक्षा दिने पनि काम गर्दै आएका छौं । सुरुवाती समयमा सहरकारी सञ्चालनमै कठीन थियो । सहकारीले बजारबाट पैसा संकलन गर्ने र व्यक्तिगत प्रयोजनको लागि प्रयोग गर्ने केही संस्थाहरूका कारण सहकारी वदानम पनि पनि छन् ।

केही संस्थाले वदमासी गर्दा त्यसको असर त समग्रमा पर्छ । त्यसपछि विश्वास लिन अलि गाह्रो होला नि ?
केही व्यक्तिका कारण सहकारी भन्ने संस्था नै बदनाम भएको हो । त्यो पाटोबाट भन्दा पनि अलि फरक पाटोबाट हेर्ने हो भने सहकारीले गरेको सकारात्मक कुरालाई पनि हेर्नुपर्छ । सहकारीले राम्रो गरेको, स्थानीयले यसैको माध्यमबाट आय आर्जनमा योगदान गरेको, जीवनस्तर विकास भएको, सहकारीकै कारण जीवस्तर सुध्रिएको र राम्रो भएको सहकारी धेरै छन् । यस्तो सकारात्मक पाटोबाट सहकारीलाई हेर्नुपर्ने हुन्छ । हुन त जुनसुकै क्षेत्रमा पनि राम्रो र नराम्रो दुबै पाटो हुन्छ । हामीले समग्र सदस्यको हित र सहकारी मूल्य मान्यता र सिद्धान्तमा टेकेर नीति विधि र प्रविधिका साथ अगाडि बढ्नुपर्छ । त्यही आधारमा हामी अगाडि बढ्ने हो र बढेको पनि छौं । राम्रो गर्ने संस्थाप्रति विश्वास अझै पनि उति नै छ ।

स्थापित भइसकेको र कर्पोरेट छवि बनाएका एकदुईवटा संस्थाको बदमासीका कारण समग्र सहकारीप्रति नै आम सर्वसाधारणको धारणा फरक भएको हुन्छ । यसले गर्दा त घरघर पुगेर सेवा दिने र व्यक्ति व्यक्तिसम्म पुगेर कन्भिन्स गर्न चाहिँ कतिको गाह्रो छ ?
गाह्रो त छ नै । तर, समूदायमा आधारित भएका र सदस्यमुखी भएर काम गरेर सहकारीलाई त्यस्तो समस्या छैन् । जुन सहकारी बजारमा बस्ने र व्यवासायिक हिसावमा मात्रै सञ्चालन गर्ने कोसिस गर्छन् । तिनैबाट समस्या भएको हो । हिजोका दिनमा सहकारीलाई नियमन गर्ने, सहकारीको ऐन कानूनमा पनि बलियो कानून नहुँदा केही समस्या पनि भएकै थियो । तर अहिले २०७४ मा सहकारी ऐन आइसकेपछि भने त्यस्तो समस्या छैन भने सहकारी अलि राम्रो बाटोमा हिँडेको देखिन्छ । एकदुईवटा सहकारीले खराब नियत राख्दा भएको समस्या अरु सहकारीमा भने हुँदैन् । 

शुक्रपथ सहकारीको अवस्था चाहिँ कस्तो छ ?
हामीले सुरुवाति दिनमा अरु सहकारी जस्तै २५ जनाको सदस्य संख्याबाट सुरु भएको हो । त्यतिबेला सहकारीको चाप बढेकै बेला हामी पनि अरु सहकारी जस्तै सेवा दिने गरी नै सुरु गरेका हौं । संगठनात्मक रूपमा विस्तार गर्दै गर्दा हामी अहिले आठ वटा जिल्लामा पुगेको छौं । हाम्रो सहकारीको कार्यक्षेत्र आठ वटा जिल्ला भएको छ भने १२ वटा सदस्य सेवा केन्द्रको स्वीकृति लिएर कारोबार गरिरहेका छौं । यो सहकारीले अहिले दुई अर्ब पाँच करोड रुपियाँको कारोबार गरेको छ । प्रत्यक्ष रूपमा १३१ जना कर्मचारीलाई रोजगारी दिएका छौं । हामीले बहुउद्देश्यीय सहरकारी संस्था भएपनि बचत तथा ऋणकै काम नै बढी गरेको छौं । यसको उद्देश्य अनुसार नै विस्तारै विस्तारै यसलाई डाइभर्ट गर्दै जानेछौं । बहुउद्देश्यीय सहकारीको नियम अनुसार ७० र ३० प्रतिशतको जुन अवधारणा छ त्यसै अनुसार जान हामीले विभिन्न योजाना बनाएर काम गरिरहेका छौं । र सोही अनुसार जाँदै पनि छौं । हामीलाई गरेको विश्वासकै कारण सहकारीले राम्रो गरिरहेको छ ।

यो सहकारीले अन्तर जिल्ला सेवा चाहिँ कहिलेबाट सुरु गरेको हो ?
काठमाडौंमा भएकोले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर कार्यक्षेत्र नै भयो । त्यसपछि हामीले चितवन, नुवाकोट, काभ्रे र मकवानपुरमा सेवा केन्द्र सञ्चालन गरेर त्यहाका सदस्यरूलाई सेवा दिइरहेका छौं । समग्रमा वागमति प्रदेश भित्रका आठ वटा जिल्ला हाम्रो कार्यक्षेत्र छ ।

यो सहकारीले कुनै क्षेत्र विशेषलाई दृष्टिगत गरेर लगानी बढाउने वा सेवा दिने पनि हो ?
हामीले अहिले व्यवसायिक हिसावले नै सदस्य बृद्धि वा व्यवसाय बढाउन लगानी गरिरहेका छौं । हामीले सदस्यहरूलाई वित्तीय सेवासँगै वित्तीय साक्षरता पनि दिइरहेका छौं । सदस्यलाई सहकारिताको अवधारणामा काम गर्नुका साथै ऋण दिएर व्यवसाय गर्नमा मात्रै सिमित नभएर उसको व्यवासाय बढाउन गर्न सकिने काम तथा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कामलाई पनि बढी जोड दिएका छौं । उपत्यका भित्र रहदा व्यवसायिकता बढी हुने भएपनि बाहिर भने कृषि, पर्यटनसहितका अन्य क्षेत्रमा पनि लगानी गर्ने र कारोबार प्रर्वद्धन गर्ने काम गरिरहेका छौं ।

हामीले सेवाको दायरा र क्षेत्रलाई एकीन गरेर जाने अवस्था चाहिँ बनाएका छैनौं ?
हामीले उपत्यका बाहिर काम गर्न थालेको दुई वर्ष जति हुन लाग्यो । यो अवधिमा कोभिडले पनि समस्या बनायो । कोभिडको प्रभावकै कारण हामीले अपेच्छा अनुसार सदस्यता विस्तार र सेवाको दायार बढाउन सकेका छैनौं । लघुवित्तको शैंलीमा गाउँगाउँमा पुग्ने र आफ्ना सदस्यहरूलाईसमेत सदस्यहरूको बृद्धि विकासका लागि हामीले काम गर्ने कार्ययोजना बनाउँदै त्यो बाटोबाट काम गर्न पनि अगाडि बढिरहेका छौं ।

पछिल्लो समय जहाँ लघुवित्त पुगेका छन्, त्यहाँ सहकारी पछि पुगेकै छ । यी दुई संस्थाबीच उस्तै ब्याजदर हुन्छ । यसले त तपाईहरू पुगेको जिल्लामा त लघुवित्तसँग सहकारी प्रतिस्पर्धी भएर सेवा दिनुपर्ने भयो नि ?
लघुवित्तसँगसँग नै प्रतिस्पर्धी भनेर भन्नुभन्दा पनि लघुवित्तकोे आफ्नै दायरा र सहकारीको आफ्नै कार्यक्षेत्र हुन्छन् । राष्ट्र बैैंकले दिएको निर्देशन अनुसार जानुपर्ने भएको हुँदा उनिहरूको कार्यक्षेत्र र दायार हाम्रो भन्दा फरक छ । सहकारीमा जोडिने भनेका ग्राहक मात्रै नभएर हाम्रा सदस्य पनि हुन्छन् । संस्थाले गर्ने समग्र मुनाफाको भागिदार सदस्यहरू पनि हुन्छन् । त्यो कारणले गर्दा हामीले संस्थालन गर्ने र दिने सेवा लघुवित्तको भन्दा फरक नै छ । यसले एकले अर्कोबीचमा प्रतिस्पर्धी भएर जाने भन्ने हुँदैन् ।

सहारीप्रतिको आम विश्वास भइनसकेरै होला सानो रकमको लिन गाउँघरमै भएको सहकारीबाट पाउने सजिलो सेवालाई छोडेर अलि परको लघुवित्त तथा बैंकसम्म पुगेका हुन्छन् नि ?
यसमा मेरो बुझाईमा हामी समग्र सहकारी कर्मीहरूको कमजोरी हुन सक्छ । राज्यको तीनखम्बे अर्थनीति हुँदाहुँदै पनि त्यसलाई ठ्याक्कै लागू हुने गरी सहकारीको नियम र ऐनसँग बाझिने गरी आएका ऐनहरूको कारण खुलेर काम गर्न नसक्ने अवस्था आएको हुनसक्छ । कतिपय अवस्थामा कम्पनी ऐनले, शिक्षा क्षेत्रमा शिक्षाको, स्वास्थ्यमा जाँदा स्वास्थ्यको ऐनले रोकिएरहेको हुन्छ । ती विषयमा तारतम्य नमिल्दा सम्बन्धितको पहुँचमा पुग्न खोज्दा पनि नपुगेको हो कि भन्ने भएको छ ।

पछिल्लो समय सहकारीलाई डिजिटलाईजेनमा केन्द्रित गर्दै जान थालिएको छ । यो सहकारीले चाहिँ डिजिटलमा पहुँच कसरी बढाउँदै छ ?
कोभिडपछि हामीले पनि मोबाइल बैंकिङको काम सुरु गरेका छौं । यसले सदस्यमा राम्रो प्रभाव परेको छ । अझै यस्तो सेवालाई वृहत बनाउँदै जाने, संस्थाको आफ्नै वालेट तथा मोबाइल बैंकिङसेवा दिनेसहितको काम गर्र्दै जाने छौं । नियामकीय निकायले अझै डिजिटलमा सहजीकरण गर्ने हो भने अझै धेरै सेवा डिजिटलमार्फट दिन सकिन्छ । हामीले बैंकको जस्तै  उत्कृष्ट सेवा दिन गृहकार्य गर्दै छौं ।

नियामकीय निकायले सम्बोधन गर्नुपर्ने तर अलिहेसम्म समन्वय नपुगेको विषय पनि होला नि ?
पहिलो पाटो भनेको नियामकीय निकाले कानूनी रूपमा नै सहजता बनाइदिने हो । बनेका ऐन नियमलाई सहजै कार्यान्वयमा लैजाने हो । त्यसैलाई सहजीकरण गर्ने र सहकारीसँग बाझिने कानून छन् भने ति कानूनहरुलाई सञ्चाउने, सुधार गर्नेसहितमा सहजीकरण गरिदिए पुग्छ । सहकारीहरू आफैं सक्षम भएर काम गर्न सक्छन् । यसो भनिरहदा संघ, प्रदेश र स्थानीय तहले बनाउने कानून पनि आआफ्नै हुने हुँदा सहकारीलाई असहज हुने गरेको छ । यस्ता समस्यालाई एकद्वार नीतिबाटै सम्बोधन हुने हुनुपर्छ । सहकारीको नियमन र सहजीकरण गर्दै पनि जानुपर्ने हुन्छ ।

तपाईले त स्वास्थ्य क्षेत्रमा पनि सेवा जोडिनुभएको छ । सहकारीमा सेवा गर्दै हस्पिटल सञ्चालनमा पनि समय व्यवस्थापन कसरी मिलाउनुहुन्छ ?
हामीले एउटा १०÷११ जनाको समूह बनाएर नुवाकोटमा बेल्कोट नागरिक अस्पताल सञ्चालन गरेका छौं । हस्पिटलमा मैले साथिहरूलाई काम गर्न सहजीकरण गर्ने र व्यवस्थापकीय नेतृत्व लिने काम गरेको छु । अस्पतालको लागि चाहिने आवश्यक जनशक्ति र प्राविधिक स्रोत जुटाएर दुई वर्षदेखि सेवा दिइरहेका छौं । गाउँकै नागरिकलाई सेवा दिने गरी सेवा सुरु गरिएको  छ ।

हस्पिटलको सेवाको दायरा कति छ ?
अहिले हामीले जनरल रूपमा दिने सेवा दिइरहेका छौं । सामान्य सल्यक्रियासम्मको सेवा पनि दिइरहेका छौं । अझै यसलाई बृहत बनाएर मेजर अप्रेसनको सेवा पनि दिन सकिन्छ कि भनेर हामीले आवश्यक तयारी पनि गरिरहेका छौं । त्यहाँ आउने विरामीलाई आवश्यक तत्कालिन सेवा तथा आवश्यक व्यवस्थापन मिलाएका छौं ।

२५ शैंय्याको सेवामा मात्रै सिमित हुन्छ कि थप बढाउने पनि तयारी छ ?
अहिले स्थानीय निकायको स्वीकृतिमा २५ बेड क्षमताको हस्पिटल सञ्चालन गरेका छौं । यो हस्पिटल अहिले प्रालिमै छ । भोलिका दिनमा प्राविधिक जनशक्ति उत्पादन गर्न सकिन्छ कि भनेर त्यतातर्फ पनि सोचिरहेका छौं । दुईपाँच वर्षपछि त्यो ठाउँमा नर्सिङ कलेज, एचएसहितका स्वास्थ्य क्षेत्रका लागि आवश्यक प्रावधिक जनशक्ति उत्पादन गर्नुपर्ने र त्यसको लािग हामीले काम गर्ने पनि हुन सक्छ । अहिले चाहिँ हामीले भाडामा सञ्चालन भइरहेको अस्पतालाई पाँच वर्षसम्मा आफ्नै भवनबाट सेवा दिने गरी तयारी गरिरहेका छौं । अहिले यो अस्पतालमा करिब साढे दुई करोड लगानी गरिरहेको छौैं । पाँच वर्षपछि कम्तिमा आठ १० करोडको लगानी हुने र सामान्य पूर्वाधार पनि तयार हुन्छ भन्ने गरी काम गरिरहेका छौं ।

त्यसका लागि बेड संख्या बढाएर थप सेवा सुविधा दिने योजनामा पनि हुनुहुन्छ ?
हाम्रो संस्थाले सुरुवात गरेको यो सेवाले उक्त स्थानीय तहमा पूर्ण सेवा दिने हस्पिटल बनाउन चाहन्छौ । प्रत्येक वडामा औषधि पसल र सामान्य उपचारसम्म गर्ने र त्यहीँबाट थप सेवा आवश्यक परे हस्पिटलसम्म ल्याउने वातावरण बनाउने गरी काम गर्दै छौं । हामीले यसलाई सामूदायिक हिसावमा चलाउने सोचाई पनि बनाएका छौं ।

सहकारीमा आवद्ध भएकोले सहकारीसँग जोडेर सेवा दिने योजना चाहिँ बनाउनु भएको छैन् ?
अहिले त्यस्तो कुनै योजना बनाएको छैन् । भोलि आवश्यकता महशुस भयो भने वा शुक्रपथका सदस्यलाई नै हाम्रो अस्पतालमा सेवा लिने वातावरण बन्यो र धेरै सदस्य त्यो अस्पतालमा सेवा लिन आउने वातावरण भयो भने त्यसमा दिने सुविधा तथा सेवा दिन सकिन्छ । अहिलेलाई हामीले ग्रामीण क्षेगका स्थानीयलाई राम्रो सेवा दिने संस्था भने बनाउन चाहन्छौं । 

Advertisement

Advertisement