वर्षाका कारण सात अर्बको धानबाली नष्ट

Advertisement

काठमाडौँ । वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ । 

सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा करिब ४२ हजार हेक्टरमा एक लाख ६१ हजार २२३ मेट्रिकटन धान नोक्सान हुँदा रु चार अर्ब ५१ करोड क्षति भएको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा करिब १८ हजार हेक्टरमा ६८ हजार ४०० मेट्रिकटन धान क्षति भएको छ । सोको बजार मूल्य रु एक अर्ब ९१ करोड हुन्छ । 

Advertisement

प्रदेश नं १ का झापा, मोरङ र सुनसरीमा सात हजार ४९२ हेक्टर क्षेफलमा २८ हजार ४६९ मेट्रिकटन बालीमा नोक्सान पुगेको छ । यसको बजार मूल्य रु ८० करोड हुन आउँछ ।  गत असोज ३१ गतेदेखि देशका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण विशेषगरी यस क्षेत्रका किसान समस्यामा परेका छन् । अन्य प्रदेशमा पनि केकस्तो नोक्सान भएको छ, त्यसको अभिलेख सङ्कलन गर्न मन्त्रालय मातहतका प्रदेश कार्यालयलाई जिम्मेवारी दिइएको छ । 

सम्बन्धित पक्षलाई राहत सहुलियत उपलब्ध गराउन मन्त्रालयबाट पनि अनुगमन समिति गठन गरी प्रभावित क्षेत्रमा पठाइएको प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । मन्त्रालय र प्रदेशका अधिकारीबीच समन्वय र समझदारी कायम गरी प्रभावित कृषकलाई सहयोग प्रदान गरिने जनाइएको छ । वर्षाले देशका विभिन्न स्थानमा आएको बाढी तथा डुबानले १०० भन्दा धेरै मानिसको मृत्यु भएको छ । 

विभिन्न स्थानका सडक मार्गसमेत नोक्सान भएका छन् । कृषकले धान भित्र्याउने समयमा भएको वर्षाले यस वर्ष ठूलो नोक्सानी भएकाले राष्ट्रिय उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ । धानलगायत अन्य बाली रोप्ने समयमा रासायनिक मलको समस्या सधैँ हुने गर्दछ । मौसमका आधारमा बर्खे धान, चैते धान, भदैया धान र घैया धानसमेत उत्पादन हुने गर्दछ ।

नेपालमा अन्नबालीमा धानलाई प्रमुख बालीका रुपमा लिइन्छ । करिब दुई दशकदेखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइन्छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब ३२ प्रतिशत कृषि क्षेत्रले योगदान गरेको छ । त्यसमा पनि कृषि गार्हस्थ उत्पादनमा धानको योगदान करिब २० प्रतिशत छ । खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यकपर्ने क्यालोरी चामलमा राम्रो हुन्छ । 

कूल जनसङ्ख्याको करिब ६५ प्रतिशत यस क्षेत्रमा आश्रित छन् । मुलकमा राम्रो धानखेती हुने क्षेत्र तराई भए पनि पहाडमा हावापानीअनुसारको स्थानीय धान उत्पादन हुने गर्दछ । उच्च क्षेत्र जुम्लालगायत केही हिमाली जिल्लामा पनि स्थानीय धानखेती हुने गर्दछ । मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा धानको खेती हुन्छ । देशको करिब १६ लाख हेक्टरमा धानखेती भइरहेको मन्न्त्रालयले जनाएको छ । 

हाल ६३ जातका धानको खेती गरिन्छ भने पछिल्लो पाँच वर्षयता करिब ५० देखि ५६ लाख मेट्रिकटन धान उत्पादन हुने गरेको अभिलेख छ । “केही दशक अगाडि हामीले विदेशमा चामल निर्यात गर्ने गरेकामा केही वर्षदेखि चामल आयात गरेका छौँ”, प्रवक्ता सञ्जेलले भन्नुभयो । गत वर्ष नेपालले करिब रु ५० अर्बको चामल आयात गरेको मन्त्रालयले जनाएको छ । यसले व्यापार घाटालाई बढाएको छ भने राष्ट्रिय अर्थतन्त्रलाई नकारात्मक असर पुर्याएको छ । 

विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गरेको छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । विश्वमा करिब १७ करोड हेक्टर जमिनमा धान खेती गरिन्छ भने करिब ७५ करोड मेट्रिकटन धान उत्पादन हुन्छ । कूल उत्पादनको ८० प्रतिशत धान खपत एशियामा हुने गरेको छ । रासस

Advertisement

Advertisement