लाइफ कोच गोविन्द ज्ञवालीको जीवन विश्लेषणः व्यक्तिको लागि सबैभन्दा महत्वपूर्ण के हो ?

Advertisement

काठमाडौं । गोविन्द ज्ञवाली एउटा साधारण किसान परिवारमा जन्मिएका व्यक्ति हुन । जीवनमा आएका विभिन्न उत्तर चढावलाई सामना गर्दै अघि बढेका ज्ञवाली मार्केटिङ एक्सपर्ट, ब्राण्ड म्यानेजर, उत्पादनमूलक कम्पनीको प्रमुख, इक्यूप्मेन्ट मार्केटिङ् हेड, विश्व विद्यालयको प्रध्यापकको रुपमा परिचित छन् । 

तर, अहिले ज्ञवालीको परिचय विगतकोभन्दा विल्कुल फरक छ । उनले अहिले जीवनलाई उत्कृष्ट बनाउन मद्दत गर्ने व्यक्ति भएका छन् । ज्ञवाली अहिले आफू लाइफ कोचको रूपमा पनि चिनिन चाहान्छन् । 

Advertisement

कुनै पनि व्यक्ति र संस्थामा रहेको सम्भावना पहिचान गर्दै त्यसको अधिकतम् उपयोग गर्नका लागि सघाउने व्यक्ति हुन् ज्ञवाली । अहिले उनले आफ्ना विगतका सबै परिचयहरू त्यागेका छन् । आफ्नो इतिहासका परिचयका लागि उनी दौडिएका छैनन् । युवा तथा हजारौं व्यक्तिहरूको जीवन परिवर्तन गर्ने मार्गमा ज्ञवाली लागेका छन् ।

उनी आफूलाई इनेबुलरको संज्ञा दिन रूचाउँछन्  । व्यक्ति र संस्थाको उद्देश्य बुझेर त्यसलाई हाँसिल गर्न सघाउनु इनेबुलर हो । ज्ञवाली मोटिभेसनल इस्पिकरभन्दा पनि लाइफ कोचको रूपमा चिनिन्छन् । मोटिभेसनल स्पिकरले अरूलाई राम्रो काम गर्नका लागि सन्देश दिने वा बोल्ने काम मात्र गर्छन् । लाइफ कोचले वास्तविकता बुझेर मार्गदर्शन गर्छ । 

ज्ञवाली व्यक्तिको समस्या बुझ्ने र आवश्यक समाधान दिन ध्यान दिन्छन् जसको कारण धेरैको जीवन सार्थकताको बाटोतर्फ मोडिएको छ । जीवनको मार्ग भुलेकाहरू सही मार्गमा लाग्दै आएका छन् । उनी भन्छन्, ‘तपाईंको समस्या बुझेर तपाईंलाई समाधान दिने योद्धाहरू आक्कलझुक्कल मात्र भेटिने गर्छन् ।’ त्यस्तै आक्कलझुक्कलको मार्गमा छन् ज्ञवाली । 

उनले आफ्नो लोभलाग्दो जागिरे जीवन बिर्सिएर अरूको जीवन बनाउन आफ्नो पछिल्लो समय खर्चिरहेका छन् ।  ज्ञवाली भन्छन्, ‘अफर त अहिले पनि आईरहेको छ । तर, मलाई कुनै काममा गएर आफ्नो स्कोप बनाउनुभन्दा पनि एउटा स्वतन्त्र पेशामा लागेर आफ्नो जीवनभर त्यसका काम गर्न मन थियो । हो, अहिले म त्यही ठाउँमा आईपुगेको छु ।’ 

ज्ञवालीले गरेको लामो अध्ययन र विश्लेषणले एउटै कुरा भन्छ की अहिले विश्वका युवाहरू स्वतन्त्रताको पछाडी दौडिरहेका छन् । 

जीवनमा केही गर्न चाहनेलाई सन्देश
हिजो जुन काम गरिरहेका थियौं, आज हामी त्यही काम गर्न रूचाउँछौ । तर हाम्रो खोजी चाहीं फरक नतिजा आओस् भन्ने हुन्छ । एउटै काम गर्ने अनि फरक नतिजाको अपेक्षा गर्नु आम युवापुस्ताको कमजोरी भएको लाइफ कोच ज्ञवाली औंल्याउँछन् । 

उनी भन्छन्, ‘तपाईंले आफ्नो जीवनको बारेमा जस्तो सोच बनाउनु भएको छ, सोही सोचलाई समृद्ध बनाउँदै लानुपर्ने र आफूले आफैलाई सोच्ने भाषामा समृद्ध बनाउनुपर्छ ।’

के लाइफ कोचहरू ‘नेबुलाईजर’ जस्तै हुन् त ? भनेर सोधिएको प्रश्नमा उनले सरल रूपमा निकै गम्भीर जावफ दिए, ‘नेबुलाईजर भनेको आपतकालिन अवस्थामा बिरामीलाई अक्सिन दिँदा प्रयोग गरिन्छ । त्यो नेबुलाईजर जतिबेला हट्छ, त्यतिबेला नै बिरामीलाई गाह्रो हुन्छ । तर इनेबुलर भनेको एक पटक लगाइन्छ । सो इनेबुलर भनेको एकपटक मात्र चाहिने कुरा हो । जब व्यक्ति एक पटक इनेबल हुन्छ, तब त्यसले व्यक्तिको जीवनभरी साथ दिइरहन्छ ।’

ज्ञवालीले आफ्नो अनुभव सुनाउँदै थपे, ‘इनेबुलर भनेको त एक पटक मात्र चाहिने कुरा रहेछ । जब व्यक्ति एक चोटी जाग्छ, उ जीवनभर जानसक्छ या भनौ व्यक्तिको जीवन नै जाग्न सक्छ ।’

नयाँ व्यक्तिहरूसँग भेटघाट गर्ने तरिका
विगतमा आफूले काम गरेको आधारमा नै ज्ञवालीलाई धेरै भेट्न आउँछन् । उनले कुनै पनि व्यक्ति वा संस्थाको रणनीति बुझेर सोहीअनुसार सल्लाह दिन्छन् । हालसम्म धेरै संस्थासँग उनले वार्षिक सम्झौता नै गरेका छन् ।  व्यक्तिगतरूपमा सल्लाह चाहनेसँग पनि उनी नजिक छन् ।

जीवनमा कहिल्यै कोच बन्छु भन्ने सोच्नु भएको थियो ?
आजभन्दा दुई दशकअघि भारतका मोटिभेसनल स्पिकर शिव खेरासँग छ दिनको सेमिनारमा सहभागी हुने अवसर पाएको ज्ञवालीले स्मरण गरे । त्यसपछि उनले जीवनमा आफू पनि यस्तै व्यवसायमा लाग्छु भन्ने सोच बनाए । 

त्यस्तै, नेपाल रेडक्रस सोसाइटीले आफ्नो विद्यालयमा दिएको सेवाबाट आफू प्रभावित भएको उनी बताउँछन् । आफूले जानेको कुरा सिकाउन र आफूले पनि सिक्ने मौका पाउँदा ज्ञवाली खुशी छन् । न्यूरो लिङगेयुस्टिक कार्यक्रम (एनएलपी)को उनी अमेरिकन बोर्डका लागि एक मात्र आधिकारिक प्रशिक्षक हुन् । एनएलपीमार्फत व्यक्ति तथा संस्थाको विकासका लागि ज्ञवालीले काम गर्दै आएका छन् ।

उनले जीवनमा काम गर्दा चाहिने उत्साह र उर्जा दुवै भए मात्रै व्यक्ति जीवनमा सफल हुने बताउँछन् । व्यक्तिले आफ्नो जीवनको मार्गदर्शन थाहा पाउनुपर्ने र त्यसको प्राप्तिको लागि आफ्नो जीवन दिनुपर्ने ज्ञवालीको तर्क छ । आफ्नो उद्देश्य प्राप्तिका लागि मृत्युपर्यन्त संघर्ष गर्ने मान्छे मात्रै सफल हुन भन्ने उनको धारणा छ । ज्ञवालीले त्यस्ता व्यक्ति मात्रै इतिहासको पानामा लेखिने बताउँछन् । समस्याबाट भाग्ने होइन, समाधानतर्फ लाग्नु पर्छ भन्ने पक्षमा उनी स्पष्ट छन् । 

व्यक्तिले जीवनमा के गर्ने ? भन्ने कुरा थाहा पाउनुपर्ने ज्ञवालीको सुझाव छ । त्यस्तै किन गर्ने ? भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुने उनी बताउँछन् । ज्ञवालीले जब व्यक्तिले किन गर्ने भन्ने कुराको जवाफ पाउँछ, त्यतिबेला त्यो उत्तरले नै व्यक्तिको जीवन बदल्ने बताउँछन् ।

सफलता के हो ?
ज्ञवालीले सफलता भनेको व्यक्तिको सोचाईमा आउने एउटा अवस्थाको रूपमा परिभाषित गर्न रूचाउँछन् । जब कुनै व्यक्तिले आफ्ना आवेगलाई व्यवस्थापन गर्दै जीवन चलाएको छ भने त्यस्ता व्यक्ति सफलताको परिभाषामा पर्ने उनको भनाई छ । 

केही गर्न चाहने व्यक्तिलाई लाइफ कोचले सघाउने भएकाले कुनै व्यक्तिले आफ्नो चाहना बनाएको छैन भने चाहना बनाउन जरूरी रहेको ज्ञवालीको सल्लाह छ । व्यक्तिले कुनै चाहना किन राख्छ ? भन्ने कुराले पनि जीवनमा ठूलो अर्थ राख्ने उनको बुझाई छ । युवाहरू अहिले जीवनमा निश्चितताको खोजीमा छन् भन्दै उनले उक्त निश्चितता पाएपछि फेरि नयाँ आशा र आश्चर्यको पछाडी युवाहरु लाग्ने गरेको आफूले गरेको अन्तक्रियाबाट पत्ता लगाएको उनको भनाई छ । व्यक्तिले परिवर्तनभन्दा पनि विकासकोपछि दौडिनुपर्ने ज्ञवाली बताउँछन् । व्यक्तिले सोचेकै दिशातर्फ लान आफूले सघाउने लाइफ कोच ज्ञवालीको भनाई छ । 

यसरी गर्नुस् जीवन परिवर्तन
नयाँ नतिजा खोजिरहनु भएको छ भने विगतकोभन्दा नयाँ कार्यशैली अपनाउनु होस् ।

जीवनको उद्देश्य पहिचान गर्नुहोस् ।  उद्देश्य प्राप्तिका लागि काम गर्नुहोस् ।

कुनै पनि काम के गर्ने ? भन्ने भन्दा पनि किन गर्ने भन्ने कुराको लागि लाग्नुपर्ने ज्ञवाली बताउँछन् । किनभने जहिले पनि के गर्ने भन्दा पनि किन गर्ने ? भन्ने कुराको जवाफ निकै मजबुत हुने उनको विश्लेषण छ ।

व्यक्तिले आफूमा एउटा सकारात्मक लयको विकासमा गर्नु नै जीवन प्रगतिको पथमा लाग्नेको उदाहरण हो भन्दै ज्ञवालीले उक्त लय मानव मस्तिष्कमा मात्र पाइने भएकाले पनि त्यसको महत्व धेरै हुने बताउँछन् ।  

मस्तिष्क, शरिर र मानिसको सम्बन्ध जति स्वस्थ हुन्छ, त्यति नै व्यक्ति विकासको गतिमा लम्किने ज्ञवाली बताउँछन् ।  त्यस्तै, व्यक्तिको करियर, व्यक्तित्व विकास, आध्यात्मिकताको वरिपरि नै जीवन सफल रहेने उनको अनुभव छ । 

कुनै पनि व्यक्तिको लागि सबैभन्दा महत्वपूर्ण कुरा जे हुन्छ त्यसले नै उसको जीवन निर्धारण गर्छ भन्दै ज्ञवालीले कुनै व्यक्तिका लागि नाम कमाउनु महत्वपूर्ण हुन्छ, कसैलाई शिक्षा, व्यस्तता, घुमघाम महत्वपूर्ण हुन्छ भने । यसरी व्यक्तिलाई जे कुरा महत्वपूर्ण हुन्छ सोहीअुनसार व्यक्तिको जीवन निर्देशित हुन्छ । ज्ञवालीले आफूसँग भेट्ने व्यक्तिलाई उसको जीवनमा लाग्ने सबैभन्दा महत्वपूर्ण दुईवटा चिज उनले सोध्छन् । त्यसरी सोधेपश्चात व्यक्तिको जीवन कसरी निर्देशित भइरहेको छ ? भन्ने प्रश्नको जवाफ आफूले पाउने उनको तर्क छ । 

हालसम्म ज्ञवालीले करिब पाँच हजार जनासँग जीवन र सफलतासम्बन्धी अन्तक्रिया गरिसकेका छन् । उनी यस क्षेत्रमा लागेको दुई वर्ष भइसकेको छ । मलेसिया, सिगापूर, भियतनाम, इण्डोनेसियाका मान्छेलाई उनले अनलाइनबाट तालिम दिएका छन् । थाइल्याण्डबाट चाहीं भौतिकरूपमा नै तालिम दिएको अनुभव उनीसँग छ । ज्ञवालीले नेपालबाटै धेरै देशमा एनएलपी तालिम दिएका छन् ।

स्मरणयोग्य क्षण
सूर्य नेपाल कम्पनीमा उनले १५ वर्ष काम गरे । अफिसरबाट सूर्य नेपालमा काम सुरु गरेका उनी त्यहाँ ब्राण्ड म्यानेजर रहे । त्यसपछि ज्ञवाली निम्बस एग्रो विजनेस अर्गनाइजेसनमा चार वर्ष काम गरे । एननएमबी बैंकमा दुई वर्ष काम गरेपछि अहिले त्रिभुवन विश्वविद्यालयमा व्यापारिक रणनीति पढाउँदै आएका छन् । गुल्मीको टक्सामा हुर्किएका ज्ञवाली माटोको भुईंमा चकटीमा बसेर पढेको स्मरण गर्छन् । बाल्यकालमा हजूरबुबाले आफैले पनि पढाउनु भएको अनुभव उनको छ । 

स्कूलका सबै साथीहरूसँग मिलेर अम्बा चोर्न गएको क्षण उनलाई अझै ताजै छ । सुरूवाती दिनमा संघर्ष गर्दै अघि बढेको र अहिले आफू सन्तुष्ट हुने स्थानमा आईपुगेको ज्ञवाली बताउँछन् । आफ्नो लागि मात्रै नभई अरूका लागि पनि केही गर्न पाउँदा उनले आफूलाई सन्तुष्ट भएको ठान्छन् । व्यक्तिमा छाउने नकारात्मक सोचका बादल हटाएर जीवनलाई सूर्य जस्तो चम्काउन आफ्नो जीवन समर्पित गर्ने पक्षमा आफू रहेको ज्ञवालीले बताए । 

Advertisement

Advertisement