एलआईसी नेपाललाई पुनर्बीमावापतको साढे सात करोड भुक्तानी गर्न आनाकानी गर्दै नेपाल री

Advertisement

काठमाडौं । एलआईसी नेपालले आफ्नो पुनर्बीमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल री)मा गराउँदै आएको छ । तर नेपाल पुनर्बीमाले एलआईसीलाई तिर्नुपर्ने साढे सात करोड रूपियाँ भुक्तानी दिन लामो समयदेखि आलटाल गर्दै आएको खुलेको छ । 

एलआईसी नेपालले दिएको जानकारीअनुसार नेपाल पुनर्बीमामा करोडौं पैसा अड्किएको लामो समय भएको छ । तर सो पैसा कहिले पाउने हो ? कुनै संकेत एलआईसीले पाउन सकेको छैन् । एलआईसी नेपाललका एक उच्च कर्मचारीले कर्पोरेट नेपालसँग भने, ‘अब त नयाँ अध्यक्ष आउनुभयो । हाम्रो पैसा समयमा पाइन्छ कि ? भन्ने आशा जागेको छ ।’

Advertisement

पुनर्बीमामा कडाई गर्दै बीमा समिति 
पछिल्लो समय बीमा समितिले पुनर्बीमामा कडाई गर्दै विदेशी पुनर्बीमा गर्दा सकेसम्म नेपालकै पुनर्बीमा कम्पनीमा गर्न आग्रह गर्दै आएको छ । विदेश पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्ने हो भने रेटिङ राम्रो भएको कम्पनीसँग मात्रै गर्न पाउने कानुनी व्यवस्था पनि गर्दै समितिले यसमा कडाई गरेको छ । तर बीमा कम्पनीहरूले सो कुरा सहजरुपमा स्वीकार गर्न मानेका छैनन् । 

नाम चलेका, राम्रो रेटिङ पाएका अब्बल विदेशी कम्पनीसँग मात्रै पुनर्बीमा गर्नुपर्ने भन्दै समितिले कडाई गरेपछि केही कम्पनीहरु समितिसँग रुष्ट भएका छन् । बीमासँग सम्बन्धित पूर्वाधार राम्रोसँग तयार नगर्दासम्म समितिले त्यस्ता निर्देशन जारी गर्न उचित नहुने बीमा कम्पनीका सीईओहरूको तर्क छ । तर नेपालकै पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराएका कम्पनीहरुले लामो समयसम्म भुक्तानी नपाउँदा समितिको नीतिमाथि नै प्रश्न उठ्न थालेको छ । 

बीमा समितिका अध्यक्ष सूर्य सिलवालले विदेशी पुनर्बीमा कम्पनीसँग बीमा गर्दा बलियो कम्पनीलाई रोज्नुपर्ने बताउँदै आएका छन् । 

हिमालयन रीलाई सघाएको आरोप
विगतमा समितिले जुन देशमा पुनर्बीमा गरे पनि त्यसमा त्यति चासो दिएको थिएन । तर, अहिले निजी क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन रीलाई लाइसेन्स दिनासाथै विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्न कडाई गर्ने कुराप्रति केही बीमा कम्पनीका सीईओहरुले बीमा समितिको नेतृत्वमाथि नै शंका गर्न थालेका छन् । उनीहरुका अनुसार समितिको नयाँ व्यवस्थापन हिमालयन रीलाई प्रवद्र्धन गर्न भित्रीरुपमा लागिरहेको छ । 

नेपाल पुनर्बीमाका आफ्नै समस्या 
सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीलाई हिमालयन री थपिने खबरले निकै चिन्तित तुल्याएको थियो । उक्त कम्पनी आएसँगै नेपाल पुनर्बीमाले आफ्नो एकाधिकारका साथै केही अब्बल कर्मचारी पनि गुमाउन पुग्यो । 

नेपाल पुनर्बीमा कम्पनीका सीईओ शंकरकुमार रायमाझीले नयाँ कम्पनी ल्याउनुभन्दा भइरहेको पुनर्बीमा कम्पनीको पूँजी वृद्धि गर्नु उत्तम हुने बताउँदै आएका छन् । उनले भारतमा पनि एक मात्रै पुनर्बीमा कम्पनीले धानिरहेकाले नेपालमा पनि धेरै कम्पनी आवश्यक नहुने रायमाझीको विश्लेषण छ । 

तर अहिले नेपाली बीमा कम्पनीले स्वदेशमै पुनर्बीमा गराउन चाहेमा दुई वटा कम्पनी रोज्ने मौका पाएका छन् । तर, अधिकांश कम्पनीहरू भने बीमा भनेको एक देशमा मात्रै सीमित नहुने भएकाले विदेशी पुनर्बीमा कम्पनीलाई बीमा समितिले सहज बनाउनुपर्ने बताउँछन् ।

अहिले बीमाविज्ञको रूपमा परिचित डा. रबिन्द्र घिमिरे पुनर्बीमा कम्पनीको अध्यक्ष नियुक्त भएका छन् । घिमिरेको प्रवेशले नेपाल पुनर्बीमा कम्पनीमा सुधार हुने र यसले गति लिने धेरैको आशा छ । 

Advertisement

Advertisement