बोर्डको कमजोरीले भिसा लागेका कर्मचारी डब्ल्युटीएममा सहभागि भएनन्, हाकिमको घुमघाम मात्रै

Advertisement

काठमाडौं । नेपालको पर्यटनको प्रवद्र्धन गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्डको कमजोरीले दिल्ली पुगेर भिसा लगाएका कर्मचारीले विश्वकै ठूलो ट्राभल मेलामा सहभागि हुन पाएनन् । पर्यटन बोर्ड स्थापना कालदेखि नै सहभागि हुने गरेको, बर्षेनी निश्चित मितिमा हुने यस्तो मेलामा सहभागि हुन बोर्डले गर्ने तयारी समयमा नै पूरा नगर्दा पर्यटन प्रवद्र्धन गर्ने र मेलाको स्टलमा बसेर ब्रोसर तथा पर्चा बाँड्ने कर्मचारी नै सहभागि हुन नपाएको उल्लेख छ ।

मेलामा पर्यटन मन्त्री प्रेम आले, पर्यटन सचिव यादवप्रसाद कोइरालाई, पर्यटन बोर्डका सीईओ डा.धनन्जय रेग्मी र बोर्डका बजार महाशाखा प्रमुख लक्ष्मण गौतम सहभागि भएका छन् । बोर्ड सहभागि हुने र नेपालको प्रवद्र्धन गर्ने विश्वकै ठूलो प्लेटफर्म मानिने यो मेला हिजो (१ नोभेम्बर)देखि लण्डनमा सुरु भएको छ । मेला भोलि (३ नोभेम्बर)सम्म हुने छ । यो मेलामा पर्यटन मन्त्री र सचिवसमेत पुगेका छन् ।

Advertisement

मेलामा सहभागि हुन गएका मन्त्री र सचिव पनि मेला सुरु भएको एक दिन पछि मात्रै क्वारेन्टिनबाट निस्कने गरी पुगेका हुन् । बोर्डले गरेको कमजोर तयारीले महामारीपछि नेपाल सहभागि भएको सबैभन्दा ठूलो मेलामा नेपालको प्रवद्र्धन भन्दा पनि उच्च तहको हाकिमको घुमघाम मात्रैमा सिमित हुने भएको छ । मेलामा बस्ने र प्रवद्र्धन गर्ने कर्मचारीको प्रक्रिया ढिलो भएको र क्वारेन्टिनको नियमका कारण बोर्डका दुई जना कर्मचारीको भिसा लागेको भएपनि मेलामा भने सहभागि हुन नपाउने भएपछि ल्याउन नसकिएको डब्ल्लुटीएममा सहभागि बोर्डका सीईओ रेग्मीले कर्पोरेट नेपालसँग बताए ।

उनले भने ‘मन्त्री, सचिव, बोर्डका बजार महाशाखाका प्रवन्धक र व्यवसायी आएकै छौं । हामीले नेपालको प्रवद्र्धन गर्ने काम गरेको छौं । मन्त्री र सचिव पनि सहभागि भएकोले नेपाल चिनाउने काम भएकै छ ।’ ‘दुई जना तय भएका कर्मचारीलाई भने ल्याउन नसकिएपनि यही (लन्डनमै) दुई जना भाडा लिएर प्रवद्र्धन गर्ने काम गर्ने गरी आएका हौं’ सीईओ रेग्मीले भने । मेलामा सहभागिता गत वर्षको भन्दा राम्रो भएको मन्त्री र सचिवले पनि मेलामा सहभागि हुन भ्याउनु भएकोले सन्देश सकारात्मक नै गएको दाबी रेग्मीको छ ।

बोर्ड प्रवन्धक रानु शाह र लेखा अधिकृत सरोज महर्जन भने दिल्ली पुगेर भिसा लिएका भएपनि नेपाल नै फर्किए। बोर्डका प्रवन्धक शाहसँग यस विषयमा कर्पोरेट नेपालले जिज्ञासा राख्दा उनले अफिससँग सम्बन्धित विषय भएकोले बोर्डकै प्रवक्ता वा सहप्रवक्तालाई सम्पर्क गर्नु भन्दै पन्छिइन् । उनले यो अफिसियल विषय भएकोले आफू केही पनि नबोल्ने बताइन् । बोर्डका प्रवक्ता नन्दिनी लाहे थापा र सहप्रवक्ता मणि लामिछानेसँग सम्पर्क प्रयास गर्दा उहाँहरू सम्पर्कमा आउन चाहेनन् ।

Advertisement

Advertisement