घर किन्न बैंकबाट ऋण लिएर बुझाएको रु. एक करोड ग्रिनहिल सिटीले हिनामिना गरेको खुलासा

Advertisement

काठमाडौं । हाउजिङ कम्पनी ग्रिनहिल सिटीले घर निर्माण गर्ने शर्तअनुसार ग्राहकसँग लिएको एक करोड रुपियाँ अनियमितता गरेको खुल्न आएको छ । ग्राहकले सेन्चुरी बैंकबाट ऋण लिएर बुझाएको एक करोड रुपियाँ ग्रिनहिल सिटीले अपचलन गरेको तथ्य खुलेको हो । 

पीडित शान्ता शर्मा र उनका पति इन्जिनियर दीपेन्द्र कंडेलले ग्रिनहिल सिटीले बैंकबाट एक करोड रुपियाँ लिएर पनि उक्त रकम लिएको स्वीकार गर्न आनाकानी गर्दै आएको र शर्तअनुसार घर पनि निर्माण गरी अलपत्र अवस्थामा छोडेको गुनासो गरे । 

Advertisement

कम्पनीले इमाडोलमा विकास गरेको ग्रिनहिल सिटी रेसिडेन्सीमा शान्ता शर्मालाई घर निर्माण गरी हस्तान्तरण गर्ने सम्झौता गरेअनुसार शर्माले तत्कालै एक करोड तीन लाख रुपियाँ बैना रकम बुझाएकी थिइन् भने पछि सेन्चुरी बैंकसँग एक करोड ३१ लाख रुपियाँको आवास कर्जा सम्झौता गरी बैंकले एक करोड रुपियाँ ग्रिनहिल सिटीलाई पठाइदिएको थियो । 

उक्त रकम पठाएपछि शान्ता शर्माले बैंकलाई ब्याज बुझाउँदै आएकी थिइन् । कुल तीन करोड २२ लाख ३१ हजार रुपियाँमा घर निर्माणमा लाग्ने र फिनिसिङ तथा सजावट क्रेता शान्ता शर्माले गर्ने गरी त्यसका लागि उक्त रकमबाट १६ लाख २२ हजार ३२८ कटाएर बाँकी हुन आउने तीन करोड छ लाख आठ हजार शान्ता शर्माले बुझाउनुपर्ने हुन्छ । सोही क्रममा उनले एक करोड तीन लाख नगदै र बैंकबाट ऋण लिएर एक करोड रुपियाँ हाउजिङलाई बुझाइन् । तर ग्रिनहिलले सम्झौता गरेअनुसार घर निर्माण नगरी उल्टै बैंकबाट प्राप्त गरेको एक करोड रुपियाँको हिसाव नै लुकाएर ग्रिनहिल सिटीले दुःख दिएको पीडित पक्षको भनाई छ । 

कंडेलले भने, ‘बैंकले पैसा पठाइदिएपछि हामीले त्यसको ब्याज तिर्दै आएका छौं । तर कम्पनीले बैंकबाट पठाएको रकम नै नपाएको भनेर पत्र पठाएपछि हामी कतै बैंकले पैसा नपठाई हामीसँग ब्याज मात्रै तिर्न लगायो कि ? भन्ने लाग्यो । तर चार महिना लगाएर बुझ्दा ग्रिनहिल सिटीको बदमासी रहेछ । हामीलाई शंक छ एक करोड रुपियाँ कम्पनीको कर्मचारीले अपचलन गर्यो वा सञ्चालकले नै बदमासी गरेर उक्त रकम अन्यत्र लगानी गरे वा बैंकसँग मिलेमतो गरेर हामलाई दुःख दिएका हुन् । यो चाहिं प्रहरी प्रशासनले अनुसन्धान गर्ने कुरा हो ।’ 

उनले हाउजिङले घर तयार गरिसकेपछि त्यसको भ्यालुयशन गर्ने र हस्तान्तरण गरेसँगै बाँकी रकम दिने शर्त भए पनि ग्रिनहिल सिटीले घरको संरचना मात्रै तयार गरी फिनिसिङ नगरी अड्काएर राखिदिएको, कहिले एक हप्ताभित्र घर हस्तान्तरण गर्न आउ भनेर दबाब दिने, कहिले एउटै व्यक्तिको फरक फरक हस्ताक्षर राखेर पत्र पठाउने जस्ता काम गर्दै आएको बताए । 

के हो विषय ? 
घर खरीद गर्ने शान्ता शर्मा, सेन्चुरी बैंक र ग्रिनहिल सिटीबीच २०७५ असार १८ गते इमाडोलस्थित ग्रिनहिल सिटी रेसिडेन्सीको घर नं. १५ (कित्ता नं. ५२३) कुल तीन करोड २२ लाख ३१ हजारमा खरीद गर्ने र त्यसका लागि सेन्चरी बैंकले एक करोड ३१ लाख रुपियाँ ऋण दिने गरी त्रिपक्षीय सम्झौता भयो । सोहीअनुसार बैंकले २०७५ पुस २९ मा एक करोड ३१ लाख रुपियाँ ऋण स्वीकृत गरिदियो र त्यसमध्ये एक करोड रुपियाँ ग्रिनहिल सिटीलाई पठाइदिएर क्रेतालाई पनि त्यसको जानकारी दियो । 

तर ग्रिनहिल सिटीले २०७८ कात्तिक ५ मा शान्ता शर्मालाई पठाएको पत्रमा आफूहरुले बैनाको रुपमा एक करोड तीन लाख रुपियाँ रकम मात्रै प्राप्त गरेको उल्लेख गर्दै बुझाउन बाँकी रकम र बैंकको प्रचलित ब्याजदरअनुसार उक्त रकमको जरिवानासमेत बुझाएर घर राजीनामा पास गर्न आउन चेतावनीमूलक ढंगले पत्र पठाएको छ । जबकी पीडित कंडेलले भने बैंकबाट बुझेको एक करोड रुपियाँ नै गायव बनाउने र घर पनि शर्तअनुसार तयार नगरी पास गर्न दबाब दिने कुरा गैरजिम्मेवार भएको बताए । 

उनले भने, ‘सेन्चुरी बैंकको पत्रअनुसार पनि एक करोड रुपियाँ ग्रिनहिल सिटीमा गइसकेको छ । त्यसमा पनि हामीले ब्याजसमेत बुझाउँदै आएकोले त्यो रकम गइसकेको भन्ने पुष्टि हुन्छ । त्रिपक्षीय सम्झौताअनुसार बैंकले सोझै किस्ताबन्दीमा ग्रिनहिललाई रकम पठाउने हो । पत्र हाउजिङको पत्रमा बैंकबाट पैसा प्राप्त भएको कुरा नै छैन भने पछि त्यो पैसा कहाँ गयो त ? 

कंडेलले आफ्नो मामा सुमन न्यौपाने ग्रिनहिल सिटीको सीईओको रुपमा कार्यरत रहेको बेला आफूले घर किन्ने प्रक्रिया अघि बढाएको, तर पछि ग्रिनहिल सिटीका सञ्चालकले सुमन शर्मालाई कम्पनीबाट ब्ल्याकमेल गरेर हटाएसँगै उनीसँगको रिस आफूमाथि पोख्न दुःख दिएको गुनासो गरे । सेन्चुरी बैंकबाट ऋण लिने कुरामा पनि सुमन न्यौपानेले सहयोग गरिदिएको उनले सुनाए । 

तर बैंकले कम्पनीको नाममा नै उक्त रकम पठायो र कम्पनीका कर्मचारी वा सञ्चालकको व्यक्तिगत खातामा पठायो ? त्यो आफूलाई थाहा नभएको बताउँदै कंडेलले बैंकले पठाएको पत्र र आफूहरुले उक्त रकमको ब्याज तिर्दै आएका आधारमा बैंकले रकम पठाएको विश्वास गर्दै आएको बताए । उक्त रकम आफूले प्राप्त नै नगरेको भन्ने ग्रिनहिल सिटीको दावीले धेरै आशंका र कसुरजन्य कार्य गरेको पुष्टि हुने बताए । कंडेलले यस विषयमा आफू कानुनी उपचारमा जाने पनि बताए । 

यदि ग्रिनहिल सिटीले उक्त रकम अब अहिले आएको पाएको हो भन्यो भने बैंकलाई आफूहरुले बुझाएको लाखौं रुपियाँ ब्याज, आफूहरुले घर निर्माणका लागि सुरुमै बुझाएको बैना रकमको ब्याज, घर निर्माण र हस्तान्तरणमा कम्पनीले गरेको ढिलाईको क्षतिपूर्ति कस्ले दिन्छ ? भनी उनले प्रश्न पनि गरे । ग्रिनहिल सिटीको सञ्चालक भेषराज लोहनी हुन् । उनी घर जग्गा व्यवसायी संघको पदाधिकारीसमेत रहेका उनले नेपाल उद्योग बाणिज्य महासंघको विभिन्न समितिमा रहेर काम गर्दै आएका छन् । 

Advertisement

Advertisement