तिहारलाई झिलिमिली बत्ती मात्रै ६३ करोड रुपियाँको, प्रयोग ३० प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । नेपालीहरूको दशैंपछिको ठूलो महान पर्व तिहार हो । तिहारमा सहरदेखि गाउँसम्म बत्ती बालेर झिलिमिली बनाउने गरिन्छ । तिहारलाई झिलिमिलीको पर्व पनि भन्ने गरिन्छ । तिहारमा आम नेपालीले घर सिंगार्ने, सफा सुग्घर राख्ने र फूल तथा बत्तीले झकिझकाउ बनाउने गर्छन् ।

तिहारमा नै प्रयोग हुने र यही पर्वलाई दृष्टिगत गरेर चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नै ६३ करोड ८६ लाख रुपियाँको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजम्ममा आयात भएको यस्तो झिलिमिली बत्तीको तथ्यांक अघिल्लो वर्षको तुलनामा ३०.७२ प्रतिशतले बढेको छ ।

Advertisement

विभागका अनुसार अघिल्लो वर्ष सोही अवधिमा यस्तो भिललिमिली बत्ती ४८ करोड ८५ लाख रुपियाँको आयात भएको थियो । विभागका अनुसार नेपालमा वर्षेनी यस्तो भिलिलिमिली बत्तीको आयात बढीरहेको छ । पछिल्लो समय नेपालमा लोडशेडिङ हटेपछि यस्तो बत्तीको प्रयोग पनि बढेको देखिन्छ ।

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका तथ्यांक अधिकृत कृष्ण बजागाईंका अनुसार तिहारमा सबैभन्दा बढी प्रयोग हुने भएकोले भिलिमिली बत्तीको आयात बढेको देखिएको हो । यस्तो बत्ती आयात वर्षेनी उल्लेख्य मात्रामा बढिरहेको छ । नेपालीको भन्सारदेखि दैनिक प्रयोगका सामाग्रीसम्मका बस्तुहरू चाडपर्वमूखी भएको छ । नेपाली पनि चाडपर्वमूखी आयातमा नै रमाउन थालेका कारण वर्षेनी हरेक चाडपर्व लक्षित आयात बढिरहेको पनि बजगाईं बताउँछन् ।

उनी भन्छन्, ‘विश्वमै नभएको प्रचलन नेपालमा भित्रिएको छ । यस्तो प्रचलनका कारण हुँदै नभएको चलन अपनाउने, देखासेकी गर्ने, अरूले लगाएको लाउनुपर्ने, खाएको खानुपर्नेसहितको चलन बढेको कारण पनि चाडपर्वमूखी आयात बढिरहेको छ । उनका अनुसार वितगका वर्षहरूमा कम सुनिने र मनाउने प्रचलन नै नभएको धनतेर अहिले विलासिताका वस्तुको खरिद गरेर मनाउन थालिएको छ । यो पर्व लक्षित विलासिताको बस्तुको प्रयोग नै तीन अर्ब रुपियाँसम्मको हुन थालिसकेको छ ।’

तिहारको लागि प्रयोग हुने भाइमसलाको नाममा आउने वस्तुको आयात पनि उल्लेख्य छ । यी बस्तुहरू ल्वाङ, सुकुमेल, छोकडा, नरिवल, सुपारी, काजु, किसमिससहितको आयात पनि बढिरहेको छ । भाइमसलाको रूपमा प्रयोग हुने यी वस्तु सबै एउटै शीर्षकमा नभएर छुट्टाछुट्टै भित्रने गरेको झिलिमिली बत्तीको जस्तो एकीन गरेर यति नै भित्रियो भने चाहिँ भन्न नसकिने बजगाईंले बताए । 
 

Advertisement

Advertisement