बनेपामा ‘मिनी फिल्मी सिटी’ निर्माणको तयारी पूरा
File-Photo

Advertisement

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाको भैँसेपाटीमा निर्माण हुने अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो)को निर्माणार्थ आवश्यक प्रक्रिया पूरा भएको छ । 

यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए)लगायत आवश्यक तयारी पूरा भई निर्माणको प्रक्रिया अघि बढाएको चलचित्र विकास बोर्डले जनाएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको १० र १३ नं वडासिमास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ् स्टुडियो’ निर्माणका लागि आवश्यक प्रशासनिक तयारी पूरा भई भौतिक निर्माणको प्रक्रियागत काम सुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । 

Advertisement

‘भैँसेपाटीमा निर्माण हुने फिल्म सिटीको प्रशासनिक तयारी पूरा भएको छ, सबैभन्दा पहिला सुटिङ्का लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सूटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्’, उनले भने । उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हुनेछ । 

इन्डोरमा अस्पताल, प्रहरीचौकी, कारागार, ठूला भवनका भित्री भागदेखिने खालका तथो प्रोटेबल सेट निर्माण गरिने अध्यक्ष दाहालको भनाइ छ । आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नका लागि चलचित्र म्यूजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशन कक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण हुने योजना बनाइएको छ । 

स्टुडियो निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनलगायत आवश्यक प्रशासनिक कार्यका लागि रु दुई करोड बजेट विनियोजन भएको सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए । ‘बनेपास्थित भैँसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ, यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो’, उनले भने । चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाइ काम सुरु गरिने जनाइएको छ ।

‘नेपालमा हाल अत्याधुनिक छायाङ्कन इन्डोर स्टुडियो, चलचित्रको इतिहास अध्ययन, म्युजियम नभएकाले अत्याधुनिक छायाङ्कन स्टुडियोको अवधारणा ल्याएका हौँ’ अध्यक्ष दाहालले भने ।  

Advertisement

Advertisement