पाँच अर्ब लगानीमा निर्मित अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस’ भोलिबाट औपचारिक सञ्चालन

Advertisement

काठमाडौं। व्यवसायिक घराना गोल्याण समूहको मुख्य लगानी रहेको पाँचतारेस्तरको होटल हायात प्लेस सोमबारबाट औपचारिक सञ्चालनमा आउने भएको छ । 

अन्तर्राष्ट्रिय ब्राण्ड हायातको यो नेपालमा दोस्रो चेन हो । विश्वभर हायातका ३८५ स्थानमा चेन होटल छन् । हायात प्यालेस काठमाडौंले शनिबार पत्रकार सम्मेलन गरी सोमबारबाट औपचारिक सञ्चालन गर्न लागिएको जनाएको हो । तीन अर्ब ५० करोड रुपियाँमा निर्माण गर्ने भनिए पनि कोभिडका कारण लागत बढेर झण्डै पाँच अर्ब पुगेको होटलका अध्यक्ष शक्ति गोल्याणले बताए । 

Advertisement

होटल यसअघि नै सफ्ट लन्च भई आवश्यक पूर्वाधार, सुरक्षा प्रवन्ध, जनशक्तिसहित सञ्चालन भइसकेको छ । सोही क्रममा हायात इन्टरनेशनलका प्रतिनिधिले आएर यसको निरीक्षण पनि गरिसकेका छन् । हायातकै टिमले कर्मचारीहरुलाई तालिम दिने काम गरेका छन् । उच्च व्यवस्थापनमा हायातकै कर्मचारीहरु रहेका छन् । हायात अमेरिकी आथित्यता सत्कार कम्पनीको ब्राण्ड हो । 

पाँच बर्षअघि निर्माण सुरु गरिएको यो होटल ताहाचलमा रहेको छ । होटल क्षेत्र १० रोपनी क्षेत्रफलमा छ । यसअघि अपार्टमेन्ट बनाउने उद्देश्यले निर्माण सुरु गरिएको १५ तले भवनलाई पछि गोल्याण समूहले होटलमा रुपान्तरण गरेको हो । दुई भवनमध्ये एउटा अझै पनि अपार्टमेन्टको रुपमा रहने छ । उक्त अपार्टमेन्टमा गोल्याण समूहकै कार्यालयहरु रहेका छन् । होटलमा परिवारसहित आउने र अपार्टमेन्टमा बस्न चाहने ग्राहकलाई अपार्टमेन्ट उपलब्ध गराइने सञ्चालक पवन गोल्याणले बताए । 

के के छन् होटलमा सुविधा ? 
हायात प्यालेस काठमाडौंमा १० वटा सुइट्स रुम (तीन सुइट र सातवटा टेरेससहितको रुम) सहित १५३ रुम क्षमता रहेको छ । होटलमा एउटा अल डे रेष्टुरेन्ट, बारसहितको टेरेस पुल, जिम हल (ट्वेन्टी फोर आवर फिटनेस क्लब), साना तथा ठूला सभा समारोह आयोजना गर्नका लागि ५० देखि चार सय जना क्षमताको चारवटा बैंक्वेट हल छन्।

ग्राहकको सुविधाका लागि चिल्ड्रेन स्विमिङ पुल, सवारी पार्किङका लागि डबल बेसमेन्ट राखिएको छ। हरेक रुमदेखि रेष्टुरेन्टसम्म नेपालको मौलिक कला संस्कृति झल्किने कुराहरु राखिएका छन् । अध्यक्ष गोल्याणले ठाउँ अभावका कारण क्यासिनोका लागि ठाउँको व्यवस्था नगरिए पनि वरिपरी जग्गा पाएपछि किनेर क्यासिनो सञ्चालन गर्ने योजना रहेको बताए । 

खानादेखि सेवा हायातको अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रवाह हुने यस होटलले ग्राहकको सन्तुष्टि र उनीहरुको चाहनाअनुसारको खानपिनको सुविधा र मनोरञ्जनलाई प्राथमिकता दिने होटलका महाप्रवन्धक बरुण तलवार बताउँछन् । उनले कम्तिमा सय रुम बुक हुने विश्वास व्यक्ति गरे । 

होटलका अर्का सञ्चालक कमलेश अग्रवालले ६९ देशका ३८५ स्थानमा हायातको चेन रहेकाले यो नेटवर्कका कारण आफूहरुलाई गेष्टको अभाव नहुने विश्वास व्यक्त गरे । 

Advertisement

Advertisement