देउवालाई भेटेर व्यवसायीले भने– एमसीसी चाँडै पास गर्नुस, विद्युतमा खर्बौं लगानी जोखिममा पर्यो

काठमाडौं । विभिन्न व्यवसायिक संस्थासँग आवद्ध व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौता अनुमोदन गर्न आग्रह गरेका छन् । 

एमसीसीको अनुदानमा निर्माण गर्न लागिएका पूर्वाधार आयोजना देशलाई आवश्यक रहेको भन्दै उनीहरुले पास गर्न सरकारलाई दबाब दिएका हुन् । प्रधानमन्त्रीलाई भेट्न जानेमा नेपाल अमेरिका उद्योग वाणिज्य संघसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघसम्वद्ध प्रतिनिधि छन् । उनीहरुले देउवालाई ज्ञापनपत्र पनि बुझाए । 

भेटमा उनीहरुले एमसीसी कार्यान्वयन गर्दा देशलाई हुने फाइदाबारे बताउँदै चाँडै राजनीतिक सहमति कायम गरेर पास गर्नुपर्ने बताएका थिए । उनीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘हामी विभिन्न व्यावसायिक तथा औद्योगिक क्षेत्रका प्रतिनिधिहरू एमसीसी नेपाल कम्प्याक्ट सम्झौता थप समय खेर नफाली अनुमोदन गर्नका लागि ठोस, सिद्धान्तनिष्ठ तथा सकारात्मक पहल लिनका लागि तपाई समक्ष सादर अनुरोध गर्दछौं ।’

व्यवसायीले नेपालको ऊर्जा क्षेत्रको समग्र विकासका लागि पूर्वाधारको आवश्यकता विवादरहित यथार्थ हो भन्दै उर्जा आयोजनाहरूमा खरबौं पुँजी लगानी भइरहेको छ तर ऊर्जा प्रसारणसम्बन्धी पूर्वाधार पर्याप्त मात्रामा उपलब्ध नभएको अवस्थाले विजुली खेर जाने अवस्था आएको बताएका थिए । यो समस्यालाई नेपाल विद्युत प्राधिकरणले बेलैमा बुझ्न नसक्दा अहिले समस्या आएको उनीहरुको भनाई थियो ।