लोकतन्त्रलाई कसरी योग्य बनाउने ?-एक विश्लेषण

Advertisement

– कुमार दाहाल । 

लोकतन्त्रले योग्यता बुझ्दैन । जनहित बुझ्दछ । जनताको हित बुझ्ने व्यक्ति नै योग्य हो लोकतन्त्रमा। गान्धीले नेहरुलाई  प्रधानमन्त्री चुनें । नेहरूले राजेन्द्रप्रसादलाई राष्ट्रपति बनाए । पृथ्वी नारायण शाह बिसे नगर्चीकोमा पुगे, एकिकरणको लागी सहयोग माग्न । गणेशमानले किसुनजीलाई प्रधानमन्त्री बनाए । बिपीले महेन्द्रलाई योग्य राजा माने। प्रजातन्त्र या लोकतन्त्रमा योग्यता भित्रको योग्य खोजिन्छ । राजनीति भित्र योग्यताको खोजी गर्नु लोकतन्त्रको खुबि हो । जो संग यो खुबी हुन्छ त्यो लोकतान्त्रिक नेता हो । लोकतन्त्रको योग्यता के हो तरु  राजनीति ,जनताको सेवा, जनमत वा योग्यता, यहि विषयले नै लोकतन्त्रको मर्मको सुरक्षा गर्छ। लोकतन्त्रको मर्म नबुझ्ने विद्यावारिधि, विश्वविद्यालयको प्रमाणपत्र ,अन्तर्राष्ट्रिय विद्यालयका ज्ञान काम लाग्दैनन ।

Advertisement

लोकतन्त्र बुझ्नेले स्कूल जानु पर्दैन । लोकतन्त्रको दर्शनले नै  विश्वविद्यालय स्थापना गर्छ ।  लोकतन्त्रको सुन्दरता जनमत हो। योग्यता हैन । अब्राहम लिंकन, विन्स्टन चर्चिलमा योग्यता थिएन, योग्य थिए । यस्ता धेरै उदाहरण छन् विश्वमा ,योग्यता नभएकाले आफ्नो योग्यता प्रमाणित गरेका ।  योग्यता विश्वविद्यालयबाट पाइन्छ तर योग्यको प्रमाणपत्र व्याक्तीको दुरदर्शिता, नेतृत्व क्षमता,नेताको गुण , सहनशीलता ,जनताको विश्वास, स्वार्थबाट मुक्ति, जनताप्रति उत्तरदायी, दुर दृष्टिकोणमा पाइन्छ । जनमत बाहिरको योग्यता राज्यको बहना हो । जनमत सहितको योग्यता राज्यको नेतृत्व हो । बाहिरको योग्यतालाई चिन्नुपर्छ। चिनेन भने लोकतन्त्र फस्टाउँदैन ।

राज्य संचालनका विधायिकी अङ्ग छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका । व्यवस्थापिकाले योग्यता खोज्दैन । जन्ममतबाट आएका प्रतिनिधि सबै योग्य हुन् । जनताले योग्य र  अयोग्य आफ्नो विश्वासमा चुन्छन मतबाट । राज्यले कसैलाई असमान ठान्दैन । असमान व्यवहार गर्दैन । यो कानुनको शासन हो तर, न्यायपालिका र कार्यपालिकामा जनमत भन्दा बाहिरका मानिसले शासन गर्छन् । जनमतबाट आएकोले नेतृत्व गर्छ तर कानुनको अधिनमा हुन्छ । यहीबाट राज्य निरंकुशता विरुद्धको दर्शन जन्मिएको हो । जनमत बाहिरको योग्यताले जनमतले जन्माउने निरंकुशतालाई नियन्त्रण गर्छ । लोकतन्त्रको रक्षा गर्छ । अपूर्व बहुमतले निरंकुशता जन्माउँछ । नेपालमा दुईतिहाईको सरकार नटिक्नुको कारण पनि यही नै हो । जनमत भित्रको घमण्डले योग्यतालाई चिन्दैन ।

अविकसित देशहरुमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई कसरी योग्य बनाउने भन्ने ठूलो चुनौती छ । अशिक्षा, गरिबी, बेरोजगारी, विभेद, धर्मभिरुता, अन्धविश्वासको राजनीतिले  योग्यता जन्मिँदैन । यिनमा राजनीति हुन्छ, योग्यतामा विश्वास हुँदैन।अयोग्य बाट राजनीति ,प्रशासन केही पनि चल्नु हुँदैन। चल्यो भने  कुशासन हुन्छ। राजनीतिलाई जनमतले योग्य बनाउँछ । मतपत्रमा जनताको विश्वास हुन्छ तर गुटबन्दी, मतदान धाँदली, मतपत्रको खरिद ,अयोग्य निर्वाचन प्रणाली र अस्वच्छ पार्टी पणालीले राजनीति योग्य हुँदैन । यहीबाट प्रशासनले राजनीति गर्न थाल्छ र राजनीतिलाई प्रशासनले अयोग्य बनाउँछ। नेल्सन मण्डेलाले राजनीति बाहिरको योग्यतालाई सरकारमा ल्याए । प्रतिपक्षलाई आफ्नो भन्दा ठूलो भूमिका दिए। विकसित देशमा अल्पमतलाई सरकार बनाउन दिइन्छ । विपक्षीलाई बहुमत नभएपनि सरकार बनाउने योग्यता दिन्छ । बहुमतको त्यागले लोकतन्त्रलाई दरो बनाउँछ।

हामी लोकतन्त्रको गौरव गर्छौं । गरिराखेका छौं । गौरव पनि छ । तर योग्य र योग्यता कहाँ चुकाउँदै छौ । थाहा छैन । राजनीति योग्य भयो भने प्रशासन स्वत योग्य हुन्छ जस्तै भारतको राजनीति र प्रशासन । त्यहाँ पशासन देखिँदैन तर प्रशासनतन्त्रले राज गरेको छ । राष्ट्रपतीय  संसदीय ,अर्ध संसदीय जुनसुकै प्रणालीमा पनि लोकतन्त्र फस्टाउँछ तर योग्यताको कदर नगर्ने कुनैपनि प्रणाली फस्टाउन सक्दैन । नेपालमा राजतन्त्र ,पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र ,गणतन्त्र सबै भोग्यौं । भोग्दैछौं तर राजनीति भित्रको योग्यता र प्रशासन भित्रको अयोग्यता हामीलाई थाहा छैन । दुबै झगडा गर्छौ।  

लोकतन्त्रलाई कसरी योग्य बनाउने ,यो ठूलो चुनौती हो हामीलाई । संविधान ,कानून सबै लोकतान्त्रिक छन् । पद्धति लोकतान्त्रिक छ । कानुनको शासन छ तर लोकतन्त्र सीमान्त अवस्थामा पुगेको छ । कारण के हो । यसका दुइटा कारण छन। प्रथम,  जनतालाई सरकारप्रति विश्वास छैन , जनता मतदानमा संग्लग्न छन् तर नेता चयनमा उदासीन । जो आए पनि कानै चिरेका भन्ने सोचाई डरलाग्दो हुँदैछ । सरकार राजनीति स्वार्थबाट प्रेरित भयो भने अल्पमत भित्रको योग्यता विस्थापित हुन्छ । नेपालमा यही भएको छ । दोस्रो, निर्वाचित र अनिर्वाचित दुबै नेतृत्व जनताप्रति उत्तरदायी भएनन । स्वार्थप्रेरित भयो । आफ्नो योग्यतामा विश्वास गरेनन र दुवैले अर्काको योग्यता देखेनन् । डाडुपन्यू हातमा हुँदा राज्यको नीति, सम्पत्ति, शक्ति, पद ,प्रतिष्ठा र शक्तिको दुरुपयोग गरे । जनताले यो  सोचेका थिएनन् । जो शक्ति र सत्तामा छ उसैले लोकतन्त्रलाइ सीमान्त अवस्थामा पुर्याउँदै छ ।  यो ठूलो चुनौती हो।

सत्तरी वर्षमा पनि राजनीति, शासन व्यवस्था ,संविधान स्थापित हुन सकेन । खेल जित्न आफै खेल्नुपर्छ । हारजित आफ्नै हुन्छ । तर राजनीति, नेता, नेतृत्वले खेल आफै खेल्छन  त ? हाम्रोमा राजनीति शासन र संविधान आफैमा सबै ठिक छन् । पद्धतिमा दोष हुँदैन, दोष हुन्छ प्रवृतिमा । प्रवृति खराब भएमा प्रणाली शुद्ध हुँदैन । शुद्ध प्रणालीलाइ पनि प्रवृत्तिले खराब पार्छ । नेपालमा त्यही भएको छ । संविधानवाद, कानुनको शासन ,शक्ति सन्तुलन ,जनमुखी कार्यप्रणालीबाट नै अमेरिका, युरोपमा सुशासन छ ।  गिलासबाट नै विष र अमृत पिउने हो ।अमृत र बिष पिउने दुइटा भाँडा हुँदैनन् । एउटै हुन्छ तर के पिउने भरपर्छ । हाम्रा संविधान, ऐन, कानुन, नियम, पद्धति, जनता सबै राम्रा छन ।  प्रयोग गर्ने ,उपयोग गर्ने, नमिलाउने, घमण्ड गर्ने व्यक्ति फरक छन् । यसलाई हतोत्साह गर्न जनताले जनमत को सहि उपयोग गर्नुपर्छ ।निर्वाचन स्वच्छ हुनुपर्छ । योग्य उम्मेदवारलाई भोट दिनुपर्छ । राजनीतिले गुट र उपगुटको आधारमा नेता चयन गर्नु हुँदैन । राजनीति दह्रो र स्थायी भएमा राज्यका अरू अङ्ग आफैं ठीक हुन्छन् । चिन्ता गर्नुपर्दैन ।

राजनीति राज्यसञ्चालनको उत्तम नीति हो । यसले योग्यता सिर्जना गर्छ । राजनीतिबाटै लोकतन्त्रको संरक्षण हुन्छ। कर्मचारीतन्त्रले राजनीति गर्ने र लोकतन्त्रको मर्म बुझ्नु पर्ने लोकतन्त्र बलियो हुँदैन । लोकतन्त्र बलियो बनाउने पुँजीवाद, समाजवाद साम्यवाद होइन, यी विचारधारा मात्र  हुन।इनले दर्शन जन्माउछन् । तर व्यवहारमा जनमुखी र जनउत्तरदायी शासन छ भने त्यहाँ योग्यताको कदर हुन्छ । त्यहाँ लोकतन्त्र फस्टाउँछ । जहाँ लोकतन्त्रमा योग्यताको कदर हुन्छ योग्यताले लोकतन्त्रलाई संरक्षण गर्छ । हामीमा  यो चेतना हुन जरुरी छ । अन्यथा लोकतन्त्र क्रमशः सीमान्त स्थानतिर जाँदै छ । क्षयीकरण हुँदैछ । यसले देशलाई युगबाट पछाडि धकेल्छ । लोकतन्त्रका चिन्तकहरुलाई चेतना हुनु जरुरी छ। 
(लेखक दाहाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटबलका सचिव हुन् ।)

Advertisement

Advertisement