स्पेनिस ला लिगाः बार्सिलोनामा जाभीको सुखद् सुरुवात

Advertisement

एजेन्सी/बार्सिलोना । प्रशिक्षकको रुपमा जाभी हर्नान्डेजले बार्सिलोनामा सुखद सुरुवात गरेका छन् । स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले छिमेकी टोली स्पान्योललाई १–० गोलले हरायो ।

बार्सिलोनाको जितमा मेम्फिस डिपाए नायक बने । डिपाएले ४८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । डिबक्सभित्र डिपाएलार्ई स्पान्योलका लियान्द्रो काब्रेराले लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । जसलाई डिपाएले सही सदुपयोग गरे ।

Advertisement

जारी सिजन खराब नतिजाबाट गुज्रिएको बार्सिलोनाले जाभीको पहिलो प्रशिक्षणसँगै जित निकालेको हो । टोलीको नजितामा सुधार गर्न नसकेको भन्दै बार्सिलोनाले तीन साताअघि प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो । पूर्व स्टार जाभीले दुई साताअघि बार्सिलोनाको मुख्य प्रशिक्षको जिम्मेवारी पाएका थिए ।

बार्सिलोनाले स्पान्योललाई खेलभर दबाबमा राखेपनि जितका लागि एउटै पेनाल्टी सहारा बन्यो । ६५ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले १६ वटा पोस्ट प्रहार गरेको थियो । यता १२ वटा पोस्ट प्रहार गरेको स्पान्योलको गोल फर्काउने प्रयास पनि सफल भएन ।

बार्सिलोनाका फ्रान्की डि जोङ ‘म्यान अफ दी म्याच’ भए । जितसँगै बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ । बार्सिलोनाको १३ खेलबाट २० अंक पुगेको छ । पराजित स्पान्योल १७ अंक सहित ११औं स्थानमा छ ।

शीर्षस्थानमा रहेको सेभियाको २८ अंक छ । घरेलु मैदानमा शनिबार राति नै भएको खेलमा सेभिया डिर्पोटिभो अलाभेससँग २–२ गोलको बराबरीमा रोकियो । अलाभेससँग अंक बाँडेको सेभिया गोलअन्तरका आधारमा शीर्षस्थानमा रहेको हो । १४ अंक बनाएको अलाभेस १४औं नै स्थानमा छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको पनि २८ अंक छ । एक खेल कम खेलेको रियल रियल म्याड्रिड २७ अंक सहित तेस्रो स्थानमा छ ।

अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिडले ओसासुनालाई १–० गोलले पराजित गरेको छ । एट्लेटिकोको कठिन जितमा फिलिपे नायक बने । फिलिपेले ८७औं मिनेटमा यानिक कारास्कोको कर्नर पासमा हेड गोल गरेका थिए । जितसँगै २६ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ । पराजित ओसासुना १९ अंक सहित नवौं स्थानमा छ । अर्को खेलमा सेल्टा भिगो र भिल्लारियलले १–१ गोलको बारबरी खेल्दै अंक बाँडेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement