सिभिलपछि सुमेरु सहकारी संकटतर्फ, अध्यक्षबाटै अर्बौं रुपियाँ अपचलन भएको खुलासा

Advertisement

काठमाडौं । निक्षेपकर्ताको अर्बौं रुपियाँ दुरुपयोग गर्ने सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालकहरु प्रहरी हिरासतमा पुगेको घट्ना सेलाउन नपाउँदै पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ पनि पनि संकटतर्फ गएको छ । 

संस्थाका अध्यक्ष भरत महर्जनले निक्षेपकर्ताको अर्बौं रुपियाँ अनधिकृतरुपमा सुमेरु समूहअन्तर्गत भनिएका विभिन्न कम्पनीमा आफ्नै नाममा लगानी गर्नुका साथै सहकारीका सदस्यको घरजग्गा आफ्नै नाममा राजीनामा पास गर्न लगाई ऋण दिने गरेको देखिएको छ ।  साथै, उनले संस्थाको व्यालेन्स सिट कहिल्यै पनि सार्वजनिक नगर्ने गरेबाट सदस्यहरु पहिलेदेखि नै सशंकित हुँदै आएका थिए । 

Advertisement

संस्थाकै एक सदस्यले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको संरक्षणमा ठूलो आर्थिक अपचलन गर्दा आफूहरुको निक्षेप जोखिममा परेको गुनासो गरे । संस्थाको कार्यालयमा ऋण लिन आएका सदस्यहरुलाई सानो ऋण भए संस्थाबाटै र ठूलो ऋण महर्जनकै नाममा चेक काटेर उनकै नाममा जग्गा राजीनामा पास गर्न लगाइ ऋण दिने र प्राप्त ब्याज पनि आफ्नै खातामा जम्मा गर्न लगाउने गरेको ती सदस्यको भनाई छ । 

ऋण लाने सदस्यले तोकिएको समयमा ऋण चुक्ता गरे घरजग्गा फिर्ता गरिदिने र नगर्नेहरुको जग्गा महर्जनै नाममा रहने गर्दछ । सहकारीको ठूलो रकम आफ्नो खातामा देखाएर उनले अनधिकृतरुपमा सुमेरु समूहअन्तर्गतका कम्पनीदेखि अन्य क्षेत्रमा लगानी गर्ने, राजनीतिक दल तथा समूहलाई चन्दा दिने, घरजग्गामा लगानी गर्ने र गरिदिने गरेको स्रोतको भनाई छ । 

मेयर चिरिबाबु महर्जनलगायतले अध्यक्ष महर्जनलाई संरक्षण गर्दै आएकाले प्रहरी प्रशासनले अहिलेसम्म उनलाई पक्राउ गर्न सकेको छैन् । उनले सुमेरु सहकारीको वित्तीय अवस्था कहिल्यै सार्वजनिक गर्ने गरेबाट पनि बदमासी प्रष्ट हुने ती सदस्यले बताए । सुमेरु समूहअन्तर्गतका ११ वटा संस्थामा सुमेरु सहकारीको प्रष्ट लगानी कतै देखिन्न । अधिकांश भरत महर्जन र उनले विश्वास गरेका व्यक्तिहरुको नाममा अधिकांश लगानी भएको देखिन्छ । 

स्रोतले भन्यो– सुमेरु सहकारीको आर्थिक कारोबार पारदर्शी भएन्, पैसा हिनामिना भयो भनेर हामीले बारम्बार सहकारी विभागदेखि डिभिजन सहकारी कार्यालयमा पनि यसअघि भन्दै आएको हौं । तर कहिल्यै पनि त्यसको छानविन गर्ने र निक्षेपकर्ताको रकम जोखिममा परेको कुरामा चासो दिइएन् । जब सिभिल सहकारीको जसरी सबै सदस्यहरु सडकमा आएपछि मात्रै बल्ल होस खुल्छ यिनीहरुको ।’

महर्जनले सहकारीको पैसा आफ्ना ग्रुपका विभिन्न कम्पनीमा शेयरको रुपमा नभई कर्जाको रुपमा लगानी गरेको देखिन्छ । जबकी त्यस्ता कम्पनीमा कर्जा भनेर ठूलो रकम लगानी गर्नुपर्ने कुनै प्रयोजन नै हुँदैन् । सिभिल सहकारीको आफ्नै पर्याप्त सम्पत्ति हुँदाहुँदै पनि उक्त संस्थाका संस्थापक इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेर छानविन अघि बढाएको छ । तर सुमेरु सहकारीको नाममा आफ्नै पर्याप्त सम्पत्ति नहुँदा निक्षेपकर्ताको रकम ठूलो जोखिममा परेको छ । 

सहकारी विभागले आफूहरुलाई गुनासो आएको भन्दै पटक पटक त्यस्तो नगर्न सल्लाह दिँदा पनि उनले अटेर गर्दै आएका छन् । सहकारी विभागका सुचना अधिकारी टोलराज अधिकारीले सुमेरुको बारेमा उजुरी आए पनि आफूले फाइल हेर्नुपर्ने र चार दिनका लागि आफू विदामा रहेकाले गुनासो  सुन्ने अधिकारी खिमानन्द आचार्यलाई फोन गर्न आग्रह गरे । आचार्यले भने फोन उठाएनन् । विभागका रजिष्ट्राचार झलकराम अधिकारीले भने आफू भर्खर विभागमा आएकाले धेरै कुरा अध्ययन नगरी भन्न नसक्ने तर्क गरे । 

यस नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीईबी)का प्रवक्ता श्यामकुमार महतोले आफूहरुकोमा महर्जनको बदमासी बारे उजुरी आए पनि नेपाल राष्ट्र बैंक वा सहकारी विभागले नभन्दासम्म उनलाई पक्राउ गरेर ठगीबारे छानविन गर्न नमिल्ने बताए ।

Advertisement

Advertisement