धाँधली गरेर चुनाव जितेको बारेमा श्रम कार्यालयले नेविप्रा कर्मचारी संघलाई सोध्यो स्पष्टिकरण

Advertisement

काठमाडौं । श्रम कार्यालय टेकुले धाँधली गरेर चुनाव जितेको बारेमा परेको उजुरीमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघलाई सोमबार स्पष्टिकरण सोधेको छ । 

असन्तुष्ट पक्षले आजै श्रम कार्यालयमा सप्रमाण उजरी दर्ता गराएपछि श्रम कार्यालयले संघको गत महिना निर्वाचित भएको भनिएको नयाँ कार्यसमितिलाई स्पष्टिकरण सोधेको हो । असन्तुष्ट पक्षले संघको नयाँ केन्द्रीय कार्यसमिति नै अवैध रहेको भन्दै विघटन गरेर नयाँ निर्वाचनको माग गरेको छ । 

Advertisement

गत कात्तिक ६ गते सम्पन्न नेविप्रा कर्मचारी संघको १२औं महाधिवेशनबाट जनार्दन भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन चयन भएको जनाइएको थियो । सोही महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेको इन्द्र न्यौपानेले भने उक्त कार्यसमिति अवैध रहेको र धाँधली गरेर चुनाव जितेको बताए । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले चुनाव अवैधानिक रहेको कुराको प्रमाण आफूहरुसँग रहेको र सो कुरा श्रम कार्यालयलाई पनि जानकारी गराइसकेको बताउँदै श्रम कार्यालयले न्याय दिने बताए । 

न्यौपानेका अनुसार नयाँ कार्यसमितिको चयन ट्रेड युनियन ऐनविपरित भएको, निर्वाचनमा सीसीटीभी क्यामेरा राखेर हरेक मतदातालाई धम्क्याउँदै आफ्नो पक्षमा मतदान गर्न लगाइएको, मतदातामा मनोवैज्ञानिक त्रास देखाएर मत माग्ने काम भएको, कार्यसमितिमा थपिएका २८ पदमा श्रम कार्यालयको स्वीकृति विना नै अहिले नै चयन गर्ने काम भएकोले यो कार्यसमिति पूर्णरुपमा अवैध रहेको बताए । 

श्रम कार्यालयका निमित्त प्रमुख सुलभ श्रेष्ठले उजुरीका आधारमा आफूहरुले नेविप्रा कर्मचारी संघलाई स्पष्टिकरण सोधिएको बताए । उनले स्पष्टिकरण चित्त बुझ्दो नभए र उजुरीकर्ताको आधार र प्रमाण हेरेर गत महिनाको महाधिवेशन खारेज गरी अर्को गर्न निर्देशन दिइने बताए । 

Advertisement

Advertisement