बैंकहरूको कर्जा विस्तार आर्थिक संकट आए मात्रै रोकिन्छ, अध्यक्षः बैंकर्स संघ

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो क्षमता र वार्षिक लक्ष्यअनुसार नै कर्जा विस्तार गरिरहेको बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायले बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने ‘अहिले बैंकहरूले आफ्नो वार्षिक लक्ष्यअनुसार नै कर्जा विस्तार गरेका छन् । यस्तो कर्जा विस्तार समग्रमा वार्षिक लक्ष्यभन्दा बढी नहुने गरी नै बढाएका हुन् ।’ 

Advertisement

बैंकहरूमा निक्षेप कम संकलन भइरहेको र कर्जा मात्रै बढिरहेको भन्ने गरिएको भए पनि सबै बैंकहरूको आआफ्नै क्षमता र लक्ष्य हुन्छ भन्दै उपाध्यायले सोही अनुसार कर्जा विस्तार गरिरहेको बताए । 

उनले भने, ‘वाणिज्य बैंकहरूमा तरलता अभाव भएको र कर्जा विस्तार गर्नै नसक्ने अवस्था आएको भन्ने गरिएको छ । अहिलेको अवस्था भने तरलता असहज भएको भए पनि क्षमता हुनेले कर्जा विस्तार नै गर्न नपाउने भन्ने होइन् । बैंकहरूले राष्ट्र बैैंकले तोकेको प्राथमिकताका क्षेत्रमा र सहुलियत कर्जामा पनि लगानी गरिरहेका छन् । सहुलियत कर्जामा अहिले कम लगानी भएको हुनसक्छ तर ठप्प नै भएको अवस्था भने होइन् ।’

बैंकहरूले अहिले सबैले आआफ्नो लक्ष्य अनुसार काम गरिरहेका छन् । बैंकहरूमा कर्जा विस्तार आर्थिक संकट आए मात्रै रोकिने उपाध्यायको तर्क छ । कर्जा कहिले बढ्ने र कहिले घट्ने सामान्य प्रक्रिया नै भएको उनको बुझाई छ । 

उपाध्यायले भने, ‘आर्थिक संकट आयो भने दुई महिना कर्जा विस्तार रोकिन सक्छ । नत्र निक्षेप संकलन गर्ने र कर्जा विस्तार गर्ने काम बैंकहरूको भएकोले यो निरन्तर चलिरहने प्रक्रिया हो ।’

त्यसो त बैंकहरूले वार्षिक मूल्यबृद्धि भन्दा बढी ब्याजदर दिइरहेको छन् । यस्तो ब्याजदर आम नेपाली निक्षेपकर्जाको हितमा रहेको उपाध्यायको भनाई छ । उनीहरूले वार्षिक मूल्यबृद्धि भन्दा बढी ब्याजदर पाउनुलाई सकारात्मक रूपमा हेर्नुपर्ने तर्क पनि उनले गरे ।

चालू  आर्थिक वर्षको पहिलो चार महिनामै बैंक तथा वित्तीय संस्थाले करिब तीन खर्ब ८७ अर्ब रुपियाँ थप कर्जा विस्तार गरेका छन् । यो राष्ट्र बैंकले चालू   आर्थिक वर्षका लागि तय गरेको वार्षिक लक्ष्यको ४९ प्रतिशतभन्दा केही बढी हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा १९ प्रतिशतका दरले निजी क्षेत्रतर्फ कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो । 

चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक)सम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूको निक्षेप थोरै संकलन भएको भए पनि कर्जा प्रवाह भने अधिक भएको देखिन्छ । चालू आवको पहिलो चौमासिकमा वाणिज्य बैंकहरूले जम्मा ३१ अर्ब ९५ करोड रुपियाँ मात्रै निक्षेप संकलन गर्दा कर्जा प्रवाह भने वेपत्ता बढाएका छन् ।
 

Advertisement

Advertisement