एकल बीमाशुल्कको पोलिसि र इन्सेन्टिभमा कम्पनीहरू असन्तुष्ट, अन्तर्राष्ट्रिय मापदण्ड मानौंः समिति

Advertisement

काठमाडौं । एकल बीमाशुल्क (सिंगल प्रिमियम पोलिसि)ले बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धालाई बढवा दिइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले  गुनासो गरेका छन् । 

बीमितहरूले एकै पटकमा जम्मै प्रिमियम बुझाउँदा पनि अभिकर्तालाई इन्सेन्टिभ भने १८ प्रतिशत नै दिनुपर्ने भन्दै कम्पनीहरूले असन्तुष्टि व्यक्त हुन् ।

Advertisement

सिंगल प्रिमियम पोलिसिमा बीमितले दुई पटक बीमाशुल्क बुझाउनु पर्दैन । तर, सोही सुविधाका कारण पनि पोलिसिमा विभिन्न किसिमका समस्या देखिएको सीईओहरूको तर्क छ । 

युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ मनोजकुमारलाल कर्णले कर्पोरेट नेपालसँग भने, ‘विगतमा हामीले पनि सिंगल प्रिमियम पोलिसि चलाएका थियौं । विगत एक वर्षदेखि हामीले सिंगल प्रिमियम रोकेको छौं । म त भन्छु सिंगल प्रिमियमा इन्सेन्टिभ दिनु गलत कुरा हो । यसलाई सकेसम्म रोक्नुपर्छ ।’ 

उनले विगतमा आफूहरूले सिंगल प्रिमियम पोलिसिमा दिइने इन्सेन्टिभ पूर्णरूपमा रोकिनुपर्छ भन्दा बीमा समितिले पनि त्यसको समर्थन गरेको सुनाए । 

त्यस्तै, एलआईसी नेपालका सीईओ एलपी दास भन्छन्, ‘सिंगल प्रिमियम पोलिसिले बजारलाई ध्वस्त बनाएको छ । यसमा बीमा समितिले पनि समयमै राम्रो कदम चाल्न जरूरी छ ।’ 

सिंगल प्रिमियम पोलिसिको हकमा विगतको तुलनामा समस्या केही कम भए पनि नयाँ नयाँ समस्या सिर्जना भएको उनको भनाई छ । दासले सिंगल प्रिमियको इन्सेन्टिभभन्दा पनि यो पोलिसि नै बन्द गर्नुपर्ने बताए । 

अहिले अधिकांश कम्पनीले एकल बीमाशुल्क पोलिसि बिक्री गरिरहेका छन् । पछिल्लो समय समस्या देखिएपछि केही बीमा कम्पनीहरूले यसको बिक्री नै बन्द गरेका छन् । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले केही समयअघि कुरा गर्दै सिंगल प्रिमियममा कमजोरी रहेको स्वीकार गरेका थिए । उनका अनुसार विगतमा आर्थिक वर्षको अन्त्यमा एकल बीमाशुल्कको चलखेल हुने भए पनि अहिले त्यसमा कडाई गरिएको छ ।

सिंगल प्रिमियम पोलिसिमा बीमितले आफ्नो सम्पत्तीको स्रोत नखुलाइ बीमा गराउँदै आएका छन् । बिस्तारै आउनुपर्ने प्रिमियम अहिले एकै पटकमा आउँछ, जसले गर्दा २० वर्षको लागि बीमा गरिएको छ भने अहिलेको र भविष्यको मनिटरी भ्यालु निकै फरक हुन्छ । 

यसले पनि एक पटक र पटक पटक बुझाईने बीमाशुल्कमा केही दुविधा सिर्जना गर्दै आएको छ । अहिले सिंगल प्रिमियम पोलिसि किन्ने अनि एक महिनापछि नै लोन लिन थाल्ने चलन पनि कायमै छ ।

त्यस्तै, अभिकर्तालाई आफ्नो टार्गेट पुर्योउने चटारोमा एकल बीमाशुल्क एउटा बलियो अस्त्र बन्दै आएको छ । बीमा समितिले एकल बीमाशुल्क अन्तर्राष्ट्रिय प्रचलन भएकाले सकेसम्म यसमा सिर्जना भएका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएको छ । 

Advertisement

Advertisement