राप्रपाका लोकप्रिय नेता लिङ्देनले गरे उम्मेदवारी घोषणा, थापा, राणा र लोहनी ओझेलमा

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकप्रिय नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीबार औपचारिकरुपमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । 

‘उम्मेदवार घोषणा कार्यक्रम’मा लिङ्देनलाई अर्का नेता धवलशमशेर राणाले अध्यक्ष प्रस्ताव गरेकोमा उनले त्यसलाई स्वीकार गरेका थिए । राप्रपाको महाधिवेशन आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्म हुँदैछ । अध्यक्षमा उनको उम्मेदवारी घोषणासँगै राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी ओझेलमा परेका छन् ।  

Advertisement

लिङ्देनले भने, ‘साथीहरुले सल्लाह गरेर, खासगरी यो अभियानको औपचारिक रुपले प्रारम्भ गर्नुअघि नेता धवल शमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ । म यसलाई सहर्ष स्वीकार गर्दै आउने १५, १६ र १७ गते जुन महाधिवेशन हुँदैछ, त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेतृत्व परिवर्तन हुनुपर्छ । र नयाँ नेतृत्वबाटै राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडी जानुपर्छ भन्ने आम हाम्रा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको समेत भावनालाई स्वीकार गर्दै आफू उम्मेदवार बन्न तयार रहेको घोषणा गर्दछु ।’

पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै नेता लिङ्देनले राप्रपा खिइनु र दुब्लाउनुमा अहिलेको अवस्थाभन्दा ठाउँ नरहेको भन्दै राप्रपाको ३१ वर्षको इतिहास असफलताको इतिहास भएको बताए । पार्टी एकीकरण भए पनि अध्यक्षत्रयले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिन नसकेकोले वर्तमान नेतृत्वबाट पार्टी अगाडी बढ्न नसक्ने बताए । 

आगामी महाधिवेशन पार्टीका नेता कार्यकर्ताको अग्निपरिक्षा भएको उल्लेख गर्दै लिङदेनले पार्टीमा रहेको परम्परागत गुटको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए । पार्टी नेता तथा कार्यकर्ताहरुलाई यो नेता र त्यो नेताको मान्छे भन्ने दाग नलगाई राप्रपाको स्वाभिमानी कार्यकर्ता बनाउन चाहेको उनको भनाई छ । 

राप्रपाले कांग्रेस र कम्युनिष्ट पार्टीले गर्न नसकेको काम गर्ने लिङदेनले दाबी गरे । उनले भने, ‘महाधिवेशन प्रतिनिधि साथीहरुलाई आव्हान गर्न चाहान्छु । राप्रपाका तमाम नेता, कार्यकर्ता साथीहरुका लागि अग्नि परिक्षा हो । हामी कुनै नेताको खल्तीको रुमाल हो की, हामी साच्चि नै राष्ट्रिय प्रजातन्त्र पार्टीको बाटोबाट राजसंस्था, हिन्दू राष्ट्रको पुर्नस्थापना चाहान्छौँ । यो हाम्रो अग्निपरिक्षा हो । हामी ३१ वर्षदेखि राप्रपामा रहेको गुटको अन्त्य गर्न चाहान्छौँ । आफ्नो शीरमाथि, आफ्नो थाप्लो माथि यो पशुपति शमशेरको मान्छे, यो कमल थापाको मान्छे, यो लोहनीको मान्छे भन्ने दाग मेटाउन चाहान्छौँ की त्यही भारी बोकेर हिड्न चाहान्छौँ यो हाम्रो मौका हो । यो अग्निपरिक्षा हो । हामी हाम्रो थाप्लोबाट त्यो दाग मेटाएर हामी राप्रपाको कार्यकर्ता बनाउन चाहान्छौँ भने, राप्रपाको स्वाभिमानी कार्यकर्ता मात्र बन्न चाहान्छौँ भने यो महत्वपूर्ण र सुवर्ण अवसर हो भन्नेकुरा म साथीहरुलाई निवेदन गर्न चाहान्छु । यो नेतृत्व परिवर्तनको मुद्दाले, हाम्रो विजयले नेतृत्व परिवर्तन मात्रै हुँदैन । पार्टीमा रहेको परम्परागत गुटको पनि अन्त्य हुन्छ । नेपालको राजनीतिमा राप्रपाले नयाँ सन्देश पनि दिन्छ, कांग्रेस कम्युनिष्टमा हुन नसकेको काम हुन्छ ।’

नेपाली राजनीतिमा पुस्तान्तरणको कुरा सबै पार्टीभित्र उठिरहेको भए पनि अब त्यसको नेतृत्व राप्रपाले सुरु गर्ने लिङ्देनले बताए । उनले नेतृत्व लिने मात्रै होइन नेतृत्व हस्तान्तरणपनि सजिलै गर्ने व्यवस्था अघि सारेको पनि उल्लेख गर्नुभयो । लिङ्देनले भने – ‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा मात्रै नयाँ नेतृत्व स्थापना गर्ने कुरा गरिराखेका छैनौँ । नेपालको राजनीतिमा अब पुस्तान्तरणको, नेतृत्व हस्तान्तरणको अभियानको समेत राप्रपाले नेतृत्व गर्नेछ । राप्रपाले एउटा इतिहासको निर्माण गर्दैछ । हामीले अहिले नेतृत्व परिवर्तनको कुरा मात्रै होईन, आगामी दिनमा समेत नेतृत्व हस्तान्तरणको सहज व्यवस्थाका कुराहरु पनि अगाडी सारेका छौँ । आज तीनवटा अध्यक्षले अध्यक्ष पद छोड्न नचाहाँदा, नयाँ नेतृत्वलाई स्वीकार गर्न नमान्दा हामी जुन हिसाबले जर्बजस्त गरिराखेका छौँ त्यही कुरा धवलजीलाई वा अरु कोही साथीलाई यो पार्टीमा अध्यक्ष हुन मन लाग्दाखेरी अहिले हाम्रो अध्यक्षत्रयले जसरी अडिन प्रयास गरिराख्नुभएको छ, र हामीले जसरी उहाँहरुलाई छुटाउन प्रयास गरिराखेका छौँ त्यो घटना नदोहोरियोस् भन्नका लागी हामीले सहज नेतृत्व हस्तान्तरणको व्यवस्था समेत मिलाएका छौँ ।’

नेता लिङ्देनले आफ्नो उम्मेदवारी कुनै नेताहरुको विरुद्धमा नभएको स्पष्ट पारे । उनले आफूलाई गौरवका साथ स्वीकार गर्न पार्टीका अध्यक्षत्रयलाई आग्रह गरे । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अध्यक्षत्रयलाई अभिभावकिय भुमिकामा बस्न उहाँले अपिल गर्नुभएको छ । राप्रपाको भविष्यको सुरक्षाको लागि आफुले पार्टी अध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताए । उनले भने, ‘हाम्रा अध्यक्षत्रयलाई आग्रह गर्न चाहान्छु यो हाम्रो उम्मेदवारी, यो राजेन्द्र लिङ्देनको उम्मेदवारी तपाईहरुको विरुद्धमा होइन, यो राप्रपा जिवित रह्यो भने, राप्रपाले निरन्तरता पायो भने मात्रै तपाईहरु यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो भन्ने इतिहास कायम रहन्छ । राप्रपा नै रहेन भने तपाईहरुको इतिहास कसले बोकेर अगाडी जान्छ ? आज कमसेकम त्यो इतिहासलाई हामी अगाडी लान्छौँ, तपाईहरुको विरासतलाई जोगाएर लान्छौँ भन्ने मान्छे त तपाईहरुले निकाल्नुभयो, हामीले आँट गरेका छौँ । तपाईहरुले गौरवका साथ हामीलाई स्वीकार्नुहोस् । र अभिभावकिय भुमिकामा बसिदिनुहोस् । राप्रपाका शुभेच्छुक र कार्यकर्ताहरुलाई अप्ठ्यारोमा नपार्नुस् भन्ने अपिल गर्न चाहान्छु । न यो विद्रोह हो, न यो तपाईहरुको विरुद्धको उम्मेदवारी हो । यो राप्रपाको भविष्यको सुरक्षाको पक्षमा हो । यसले कसैलाई नोक्सानी गर्दैन ।’

पार्टी अध्यक्षमा नेता लिङ्देनलाई प्रस्ताव गर्दै राप्रपाका नेता धवल शमशेर राणाले पार्टीलाई उठाउने जिम्मेवारी लिनुपर्ने भएकाले नेतृत्व परिवर्तन गर्नु आवश्यक रहेको बताए । राप्रपाको नेतृत्व परिवर्तन गरेमात्रै पार्टीको भविष्य हुने उनले बताए । राणाले भने, ‘हामी के निष्कर्षमा पुग्यौँ भने हामीले नयाँ चेहेरा दिनुपर्छ । नेतृत्व परिवर्तन गर्नुपर्छ । चाहेर नचाहेर नेपाली जनताले हाम्रा नेतृत्वलाई नपत्याउने भए, अब नेतृत्व परिवर्तन गरेर अगाडी हिम्मत गरेर अगाडी बढ्नुपर्छ । पार्टीको पनि राम्रो भविष्य छ, कार्यकर्ताको राम्रो भविष्य छ । र जनताको पनि राम्रो भविष्य यो पार्टीसित छ । हामीले नयाँ सुरुवात गर्ने प्रयास गरेका छौँ । पार्टीको लागि, कार्यकर्ताको लागि मात्र होइन, देशैको लागि नयाँ सुरुवातको थालनी भइरहेको छ ।’

नेता राणाले हजारौँको संख्यामा राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा जनलहर आएकाले राजनीतिक रुपमै राजतन्त्र र हिन्दूराष्ट्रको मुल्यमान्यतालाई स्थापित गराउनुपर्ने बताए । उनले पार्टी भित्र र बाहीर सबैले नेता लिङ्देनलाई मान्ने गरेकाले आफुहरुले अध्यक्ष पदका लागि अगाडी सारेको बताए । हालका अध्यक्षत्रय थापा, राणा र लोहनीले आफूले पाएको जनमतको दुरुपयोग गर्दै सरकारमा सत्ता स्वार्थमा परेपछि उनीहरु अलोकप्रिय बन्न पुगेका थिए । 

Advertisement

Advertisement