नाडामा चुनावी सरगर्मी बढ्यो, अध्यक्षका प्रत्यासीहरुको कस्तो छ सबल र दुर्बल पक्ष ?

Advertisement

काठमाडौं । नेपालका अटोमोवाइल व्यवसायीहरुमा चुनावी सरगर्मी बढेर गएको छ । अटो व्यवसायीहरुको संगठन नाडा एशोसियशन अफ नेपालको साधारणसभा तथा निर्वाचन यही आउँदो मंसिर २२ र २३ मा हुँदैछ । 

नाडाको नेतृत्वका लागि प्रतिष्ठित व्यवसायिक घराना चौधरी समूहका सदस्य तथा सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरी र अर्का व्यवसायी ध्रुव थापाबीच प्रतिस्पर्धा हुने प्रारम्भिक संकेत देखिएको छ । चौधरी नाडाको वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने थापा पूर्वउपाध्यक्ष हुन् । 

Advertisement

निर्वाचनका लागि चौधरी समूहभन्दा पनि थापा समूह हतारिएको देखिएको छ । थापा समूहले आफ्नो समूह सार्वजनिक गर्दै व्यापक प्रचारप्रचार गरिरहेको छ भने चौधरी समूहले निकै पहिले टिम तयार गरे पनि सार्वजनिक गर्न ‘पर्ख र हेर’को अवस्थामा छ । 

करण चौधरी कोभिड महामारीको जोखिम कायम रहेको अहिलेको समयमा सकेसम्म सहमति गरेर नेतृत्व लिने दाउमा देखिन्छन् । यद्यपि सहमतिका लागि आफू बाधक नरहेको थापाले पनि बताउँदै आएका छन् 

चुनावको मिति नजिकिरहेको बेला थापा समूह भने मिति सार्नुपर्ने पक्षमा देखिएको छ भने चौधरी समूह सार्न नहुने अडानमा छ । 

अध्यक्षका प्रत्यासीहरुको कस्तो छ सबल र दुर्बल पक्ष ? 
नाडाका अध्यक्षका प्रत्यासी करण चौधरी युवा व्यवसायी हुन् । उनी कार्यकारी निर्देशक रहेको सिजी होल्डिङसले नेपालमा सुजुकीका गाडिहरु बिक्री गर्दै आएको छ । नेपालमै गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा गल्फ लुब्रिकेन्ट उत्पादन गर्ने नेपाल ल्युब आयलको पनि उनी निर्देशक छन् । 

यसअघिको निर्वाचनपछि उपाध्यक्ष मनोनयन गरिएसँगै चौधरीलाई भावी अध्यक्षको रुपमा हेरिँदै आएको थियो । चौधरीले चार विषयमा स्नाकोत्तर गरेका छन् ।  उनी आफ्नो अध्ययनलाई प्रतिस्पर्धीको अगाडि घमण्डको रुपमा प्रस्तुत गर्न खोज्छन् । साथै उनी मानिसलाई छिट्टै विश्वास गर्छन्, जसलाई उनको कमजोरीको रुपमा हेरिन्छ । 

तर चौधरीको राम्रो गुण उनी राम्रो बोली व्यवहारका कारण सजिलै मानिसलाई आफ्नो पक्षमा ल्याउन र उसको विश्वास जित्न सिपालु छन् । चौधरी समूहको सदस्य भएकाले उनमा फरक खालको संस्कार देखिन्छ । 

अर्का प्रत्यासी ध्रुव थापाले भने फोर्स मोटरको पोखराको डिलर लिएर गाडिहरु बिक्री गर्दै आएका छन् । उनी अध्यक्ष रहेको हिमालय अर्गनाइजेसन फोर्स मोटरको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिको पोखराको डिलर हो । पोखरामा सीमित भएर गाडि बिक्री गर्ने भएकाले होला, नाडाको केन्द्रीय नेतृत्वमा प्रतिस्पर्धा गर्न यसअघि पछि हटेका थिए । 

यसअघिको निर्वाचनमा अध्यक्षका त्यतिबेलाका अर्का प्रत्यासी कृष्णप्रसाद दुलालले ‘अर्को निर्वाचनमा सहयोग गरौंला’ भनेर आश्वासन दिएपछि थापा पछि हटेका थिए । उनको उक्त निर्णयलाई कतिपयले आत्मबल कमजोर भएको व्यक्तिको रुपमा हेर्छन् भने कतिपयले सहमतिमा आउनसक्ने लचिलो व्यक्तिको रुपमा हेर्छन् । 

अर्कोतर्फ थापाको अटोमोवाइलमा भन्दा होटल, घरजग्गामा ठूलो लगानी छ । यद्यपि उनले त्यो क्षेत्रबाट आफ्नो नेतृत्व विकास गर्ने भन्दा पनि नाडालाई नै रोजेका छन् । पोखराको नेपाली काँग्रेसको राजनीतिमा समेत सक्रिय रहेका थापाले सानो लगानीबाट अहिले होटल र घरजग्गामा अर्बको लगानी पुर्याउन सफल भएका छन् । साथै, थापा लायन्स क्लबमा पनि सक्रिय छन् । लायन्स क्लबमा नाडाका धेरै सदस्य आवद्ध रहेकाले उनले क्लबकै सदस्यहरुले मात्रै सहयोग गरे पनि सजिलै चुनाव जित्ने दावी गर्दै आएका छन् ।

ठूला ब्राण्डहरु कस्को कस्लाई साथ ? 
नाडाको निर्वाचनमा नेपालमा धेरै गाडिहरु बिक्री गर्ने व्यवसायी तथा कम्पनीको महत्वपूर्ण भूमिका रहने गरेको छ । हाल ध्रुव थापा समूहले सार्वजनिक गरेको टिम र करण चौधरी समूहले बनाएको टिम हेर्दा धेरै ठूला ब्राण्डको साथ चौधरीलाई देखिएको छ भने केही तटस्थ देखिन्छन् । 

करण चौधरी
टाटा
बजाज
सुजुकी
अशोक लेल्याण्ड 
हिरो
होण्डा
यामहा
जेसीबी
जीप
महिन्द्रा
एएलटी
गल्फ लुब्रिकेन्ट्स
पीएलओ लुब्रिकेन्ट्स
म्याक लुब्रिकेन्ट्स
एचपी लुब्रिकेन्ट्स
डेल्टा टायर्स
सिट टायर्स
आइसर
एएलटी
फियाट
चाङगन
इएनआई

ध्रुव थापा
टिभिएस
हुण्डाई
फोर्स
फोर्ड
रेनोल्ट
भक्सवागन
टोयोटा
निशान

Advertisement

Advertisement