टिममा सबै क्षेत्र समेटेको छु, विजयी भए अटो क्षेत्रको औद्योगिक विकासमा जोड दिन्छुः चौधरी

Advertisement

काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको छाता संगठन नाडा एशोसियशन अफ नेपालका अध्यक्षका प्रत्यासी करण चौधरीले आफू विजयी भएपछि नेपालमा अटोमोवाइल उद्योगको विकासलाई प्राथमिकता दिने बताएका छन् । 

बुधबार आफ्नो टिम घोषणाका क्रममा उनले नेपालमा अटोमोवाइल उद्योगको विकास गर्ने कुरालाई प्राथमिकतामा राखेको बताएका हुन् । नाडाको बार्षिक साधारणसभा तथा चुनाव यही मंसिर २२ र २३ गते हुँदैछ । अर्कोको अर्को प्रत्यासीमा फोर्स मोटरको पोखराका डिलर लिएर गाडि बिक्री गर्दै आएका नाडाका पूर्वउपाध्यक्ष ध्रुव थापा छन् । उनले यसअघि नै टिम घोषणा गरिसकेका छन् । 

Advertisement

चौधरीले आफ्नो टिममा अटोमोवाइल क्षेत्रमा लामो समयदेखि संलग्न अनुभवी व्यक्तिहरुलाई समेटेको बताउँदै अटोमोवाइल क्षेत्रको नीति निर्माणमा आफ्नो टिमले खेल्नसक्ने बताए । उनले अटोमोवाइल क्षेत्र सबैलाई समेटेर टिम बनाएको बताए । चौधरीले भने, ‘कुनै क्षेत्र समेटेको छैन भने हात उठाएर भन्नुस यो क्षेत्र समेटिएको छैन् ।’

उनले भने, ‘यो टिमले काठमाडौंबाहेक मोफसललाई पनि राम्रोसँग समेटेको छ । तर समेट्नु मात्रै ठूलो कुरा होइन् । अब मोफसलका समस्यालाई कार्यान्वयन पनि गर्नु हो । उहाँहरुका समस्या कसरी समाधान गर्न सकिन्छ ? उहाँहरुलाई कसरी उठाउन सकिन्छ ? भन्नका लागि यो टिम जरुरी छ ।’

नाडाको प्रदेश संरचना बनाउँदा यसको सदस्यहरुको संख्या वृद्धि भएको बताउँदै उनले यसले गर्दा मोफसलका व्यवसायीलाई अझ बढि समेट्न सकिएको बताए । चौधरीले पछिल्लो दिनमा कर्पोरेट र मोफसलका व्यवसायीबीचको दूरी निकै कम भईसकेको पनि बताए । 

उनले यसअघि आफू दुई कार्यकाल नाडाको कार्यसमितिमा काम गरेको बताउँदै नाडाको हितविपरित आफ्नो कम्पनीको फाइदाको लागि काम नगरेको बताए । चौधरीले भने, ‘मुटुमाथि हात राखेर म एउटा कुरा के भन्नसक्छु भने नाडाको हितविपरित मेरो कम्पनीलाई फाइदा होस भनेर एउटा पनि कदम चालेको छु भने म अध्यक्षको पदको प्रत्यासी पनि हुन्न् ।’ 

उनले टिम घोषणा आफूहरुले ढिलाई गरेको कुरालाई कतिपयले कमजोरीको रुपमा लिएको सुनाउँदै आफूहरुले सकेसम्म सहमतिको प्रयासका लागि टिम घोषणा गर्न ढिलाई गरेको र सहमतिका लागि अन्तिमसम्म प्रयास गर्ने बताए । चौधरीले भने, ‘जित्छु भन्ने अहमता छैन् तर विश्वास छ । तर सबैलाई समेटेर जान पाए त्यो भन्दा राम्रो केही हुन्न ।’ 

चौधरीको टिममा अटो क्षेत्रलाई प्रतिनिधित्व गर्ने चार पाङग्रे, दुई पाङग्रे, व्याट्री, लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस्, हेभि इक्युपमेन्ट, सबै क्षेत्रलाई समेट्नेगरी अनुप बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराईलाई राखिएको छ । 

कार्यक्रममा नाडाको कार्यसमितिका सदस्यका उम्मेदारहरु राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्र उप्रेतीले पनि बोलेका थिए । नाडामा एक अध्यक्ष र १७ कार्यसमिति सदस्यका लागि निर्वाचन हुन्छ । नयाँ कार्यसमितिले अरु पदाधिकारी चयन गर्छ । 

Advertisement

Advertisement