राप्रपा प्रतिनिधिलाई नेउपानेको सुझाव– थापाले बाँडेको पैसा खाए हुन्छ, तर भोट लिङदेनलाई दिनु है

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण नेउपानेले लोकप्रिय नेता राजेन्द्र लिङदेनलाई भोट दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरुलाई सुझाव दिएका छन् । 

एक यूट्युव च्यानलसँगको कुराकानीमा उनले राप्रपामा अध्यक्षको प्रत्यासी रहेका कमल थापाले पैसा बाँडे लिँदा हुन्छ तर भोट लिङदेनलाई दिनुहोला भन्दै भने, ‘कमल थापासँग साँसद बेचेको खुब धेरै पैसा छ भन्ने सुनेको छु । उनले घर घडेरी बेचेको पैसा होइन् । राप्रपाका प्रतिनिधिले कमल थापाको पैसा टन्न खाइदिनु । मागी मागी । खोजी खोजी । तर आफ्नो एक भोट राजा र धर्मको विरुद्धमा नहाल्नुस् । कमल थापाकोमा भोट जानु भनेको गणतन्त्रको पक्षमा जानु हो ।’

राजा ज्ञानेन्द्र शाहको साथ पनि कमल थापालाई नभई लिङदेनलाई रहेको उनले दावी गरे । दरबारनिकट व्यक्तिहरुले अब नयाँ पुस्ता आउनुपर्छ भनेका आधारमा राजाको समर्थन थापालाई नरहेको प्रष्ट हुने उनको तर्क छ । नेउपानेले राप्रपाका धेरै मानिस कमल थापाले गरेको फटाईंको विषयमा जानकार रहेको आफूले पाएको पनि बताए । 

लिङदेनले ६० प्रतिशतभन्दा बढि मत ल्याएर लिङदेनले जित्ने अनुमान नेउपानेको छ । उनले लिङदेन र धवलशम्शेर राणाले जितेमा भ्रष्टाचार विरोधी, राजसंस्था र देशभक्त पक्षधरहरु एक भएर अघि बढ्ने बाटो खुल्ने पनि बताए । त्यस्तो एकताका लागि लिङदेनले पनि प्रतिवद्धता जनाएको र आफूहरु पनि तयार रहेको तर थापाले जितेमा त्यो कुराको संभावना नरहेको नेउपानेको भनाई छ । 

उनले कमल थापा हिन्दु धर्म र राजसंस्थाको व्यापारी भएको आरोप लगाए । कम्युनिष्टले गरिवलाई धनी बनाइदिन्छु भनेर राजनीति गर्ने तर गरिवलाई धनी बनाउने काम कहिल्यै पनि नगर्ने बताउँदै नेउपानेले सबै गरिव धनी भए कम्युनिष्टलाई भोग हाल्ने गरिव कोही नहुने भए जस्तै थापा पनि हिन्दु धर्म र राजसंस्थाको व्यापारी भएको तर्क गरे ।