थ्री स्टार हारबाट जोगियो, फ्रेन्ड्ससँग बराबरी खेल्दै ४ अंक बटुल्न सफल

Advertisement

काठमाडौं । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । 

सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट  आफूलाई जोगाएको हो । यससँगै दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Advertisement

दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्री स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । गोल गर्न असफल भइरहेको थ्री स्टार दबाबमा परेको बेला फ्रेन्ड्सले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्दै झन् दबाब दिएको थियो । 

५१औं मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीको क्रसलाई सदुपयोग गर्दै जाली चुमाउँदै बलियो टोलीविरुद्ध अग्रता निकालेका थिए । त्यसपछि दबाबमा परेको थ्री स्टारले काउन्टर अट्याकको रणनीति अपनाउँदै फ्रेन्ड्सलाई दबाबमा राख्न पुग्यो । 

कप्तान प्रकाश बुढाथोकी चोटग्रस्त हुँदै उपचारका लागि बाहिरिएको अवस्थामा कम खेलाडी भएको फाइदा उठाउँदै थ्री स्टारले बराबरी गोल फर्काउन सफल भयो । ८३औं मिनेटमा हेमन्त थापामगरको चलाखीपुर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए र उक्त नतिजा नै निर्णायक बन्यो । त्यसपछि पनि स्पष्ट अंकका लागि प्रयास गरे पनि थ्री स्टार सफल हुन सकेन ।

बराबरीपछि थ्री स्टारले ३ खेलबाट ४ अंक जोडेको छ । समान ३ खेल खेलेको फ्रेन्ड्सको २ अंक भएको छ । यसअघि पहिलो खेलमा थ्री स्टारले च्यासललाई ३–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग १–० ले स्तब्ध भएको थियो । फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बरबरी र दोस्रो खेलमा संकटालाई २–१ को नतिजा सुम्पिएको थियो । 

Advertisement

Advertisement