दश बैंक मात्रै लाभांश बढाएर दिन सफल, अरुको घट्यो, कस्तो छ घोषणा हुन बाँकीको क्षमता ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरू १० वटाको लाभांश बढेको छ । गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १० वटा वाणिज्य बैंकले दिएको लाभांश एकदेखि सात प्रतिशतसम्मले बढेको हो । 

बाँकी १३ वटाले अघिल्लो वर्षको तुलनामा घटाएर लाभांश दिएका छन् । यस वर्ष घोषणा हुन बाँकी चार वटा वाणिज्य बैंकहरूको लाभांश क्षमता पनि गत वर्षभन्दा घटेको छ ।

Advertisement

नेप्सेमा सूचीकृत नभएका राष्ट्रिय वाणिज्यसहित चार वटा वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ । दोस्रो बजारमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंकको लाभांशको चासो लगानीकर्तालाई कम हुन्छ । तर, यसले एनआईडीसी बैंक मर्ज गरेको र यसको दोस्रो बजारमा करोबार नभए पनि ओटीसीबाट भने कारोबार हुने गरेको छ । 

यस बैंकको न्यून लगानीकर्तालाई मात्रै चासो हुने भए पनि यसले क्षमता अनुसार लाभांश नदिन सक्छ । क्षमताको हिसावले यो बैंकको लाभांश दिन सक्ने क्षमता २९.२४ प्रतिशत छ । तर, एनआईडीसीले गत वर्ष पनि जम्मा ४.५० प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।

सत्ताइस वटा वाणिज्य बैंकमध्ये अहिलेसम्म २३ वटाले लाभांश घोषणा गरिसकेका छन् । यी मध्ये केहीले साधारण सभा गरेर शेयरधनीलाई लाभांश वितरणसमेत गरिसकेका छन् । 

घोषणा हुन बाँकी चारवटामध्ये कृषि विकास बैंकले पुसको अन्तिममा साधारण सभा गर्ने गरी लाभांश घोषणा गर्ने भएको छ । लाभांश घोषणा गर्न बाँकी रहेका सिभिल बैंक र सेञ्चुरी बैंकको क्षमता पनि गत वर्षभन्दा कम देखिन्छ ।

सेञ्चुरी बैंकले  साढे ६ प्रतिशत लाभांश घोषणा गर्न सक्छ । गत आवको वितरणयोग्य नाफा हेर्दा यो बैंकको लाभांश दिन सक्ने क्षमता ६.५८ प्रतिशत छ । सेन्चुरीले यो वर्ष जगेडा कोषलाई बलियो बनाउँदै लगानीकर्तालाई लाभांश दिने तयारीमा छ ।  यो बैंकले गत वर्ष ७.५ प्रतिशत लाभांश दिएको थियो । क्षमता अनुसार लाभांश नदिने र गत वर्षको जगेडा कोषबाट नाफा थप गरेर क्षमता भन्दा बढी पनि दिन सक्छन् ।

कृषि विकास बैंकको गत आवको वितरणयोग्य नाफा हेर्दा लाभांश दिने क्षमता १०.५६ प्रतिशत रहेको छ । उक्त बर्षमा बैंकले गत वर्ष १५.८७ प्रतिशत लाभांश दिएको थियो । सिभिल बैंकको लाभांश दिन सक्ने क्षमता ५.७७ प्रतिशत रहेको छ । यो बैंकले अघिल्लो वर्ष ८.४२ प्रतिशत लाभांश दिएको थियो ।

Advertisement

Advertisement