विशिष्ठ अतिथि बन्न पुगेका पर्यटन बोर्डका सीईओलाई पर्यटनमन्त्रीले मञ्चबाट बाहिर निकाले

Advertisement

पोखरा । नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी बसेको मञ्चमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मगर बस्न नमानेपछि रेग्मीलाई मञ्चबाट बाहिर निकालिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोकिएभन्दा बढि रक्सी ल्याउन नदिएको भन्दै सरकारी कर्मचारीलाई दुव्यवहार गरेपछि पर्यटन मन्त्रालयबाट स्पष्टिकरण सोधिएका रेग्मी शनिबार पोखरा पर्यटन परिषदको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा भाग लिन आइपुगेका थिए । 

Advertisement

मन्त्री आउनुअघि नै मञ्चमा आएर बसिरहेका रेग्मीलाई देखेपछि मन्त्री आलेमगर बाहिर निस्किएर आयोजकलाई हस्काउँदै ‘रेग्मीलाई किन बोलाएको ? उसलाई नहटाए कार्यक्रममा म बस्दिन’ भनेर चेतावनी दिएपछि आयोजकले रेग्मीलाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए । 

रेग्मीलाई एमालेका तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले नियुक्त गरेका थिए । गाडिको व्यापारीसमेत रहेका रेग्मीले भट्टराईलाई मोटो रकम दिएर सीईओ नियुक्ति भएको आरोप लाग्दै आएको छ । मन्त्री आलेले उनलाई राजीनामा दिन पटक पटक संकेत गरे पनि रेग्मीले आनाकानी गर्दै आएका छन् । 

उनीहरुबीचको मनमुटाव आज सार्वजनिक कार्यक्रममा देखिएको हो । मन्त्रीका कारण रेग्मी अपमानितरुपमा कार्यक्रमस्थलबाट निकालिएका छन् । आफूले कारवाहीका लागि स्पष्टिकरणका लागि सोधेको व्यक्तिलाई बोलाएको भन्दै आलेले आयोजकसँग असन्तुष्टि पोखेका थिए । उनले विवादित व्यक्ति विशिष्ट अथिति हुन नसक्ने भन्दै रेग्मीलाई राख्ने भए आफू कार्यक्रम छोडेर जाने चेतावनी दिएपछि आयोजकले बाध्य भएर रेग्मीलाई बाहिर निकालेका थिए । 

पोखरा आएका मन्त्री आलेले निर्माणाधिन पोखरा विमानस्थलदेखि अन्य विभिन्न क्षेत्रको अवलोकन र निरीक्षण गरेका छन् । बेलायतबाट फर्किने क्रममा रेग्मीले विमानस्थलमा देखाएको आक्रोसको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो । 

Advertisement

Advertisement