‘थुक्क ! यो मोरा पनि उस्तै चोर रहेछ’ भन्ने अवस्था बनाउन्न, अरु नेताभन्दा फरक हुन्छुः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई अरुको भन्दा फरक ढंगले नेतृत्व दिने बताएका छन् । 

आईतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा उनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने बताएका हुन् । लिङदेनले पार्टीलाई सही दिशा दिने र नेता, कार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरु नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताए । 

Advertisement

उनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला र खादा लगाइदिन र मुर्दावाद र जिन्दावादको नारा लगाउन आवश्यक नरहेको बताए । 

लिङदेनले भने, ‘मैले गाउँ घरतिर भोट माग्दा भन्थेँ, थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ, भन्ने काम म गर्न दिने छैन् । भन्ने मौका दिने छैन् भनेको थिएँ । आज राप्रपाका तमाम देशभरका महाधिवेशन प्रतिनिधि साथीहरुलाई, नेता, कार्यकर्ता साथीहरुलाई पनि चन्न चाहन्छु । यो पनि उस्तै रहेछ भन्ने मौका म दिन्न । तपाईंहरुको शिर झुक्ने काम गर्दिन । यो आन्तरिक चुनाव हो । कुनै पनि प्रकारको हामीले विजय जुलुस निकाल्नु पर्दैन । कुनै जिन्दवाद, मुर्दावादको नारा लगाउनु पर्दैन । सकियो आजबाट । कसैले फूलमाला लिएर पनि आउनुपर्दैन । राजेन्द्रलाई खादा लिएर गएन भने, माला लाइदिएन भने मलाई नराम्रो ठान्छ कि, त्यो केही गर्नु पर्दैन ।’

नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभइ पार्टीका मुद्दालाई जोड दिने बताए । उनले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गर्नुभयो । नवनिर्वाचित अध्यक्ष लिङदेनले अब पार्टीका नेता, कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभइ राप्रपाको कार्यकर्ता भएर भोट माग्न जान पाउने बताए ।

लिङदेनले थपे, ‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हिजोको दिनको जस्तै गतिहीन र निस्क्रिय, बनाएर लैजाने छुट हामीलाई छैन । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्र होइन, त्यो भन्दा बढी यसको मुद्दालाई समाप्त हुन नदिनको लागि हामीले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तनलाई लिएका हौँ । आज हामी अनेक समस्याका बाबजुद यो काममा सफल भएका छौँ । हामीलाई जित्नै पर्ने बाध्यता थियो । हामीले हिजो गरेका प्रतिष्पर्धाबाट मानिसहरुले पार्टी चिरा पर्ने हो कि, गुट बन्ने हो कि भन्ने आशंका थिए । हिजोसम्म जे भयो, भयो, आजबाट हामी सबै एक छौँ । कोही कुनै पक्षका छैनन् । नेतृत्व परिवर्तनका अनेक आयाम र उपलब्धिहरु छन् । त्यसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको अघिल्ला महाधिवेशनहरुमा एउटा नेताको कार्यकर्ता भएर भोट माग्न जान्थ्यौँ । आजबाट हामी राष्ट्रिय प्रजातन्त्र पार्टीको मान्छे भएर जान्छौँ । आजबाट कुनै गुट छैन राष्ट्रिय प्रजातन्त्र पार्टीमा । कोही कसैको मान्छे छैन, सबै राप्रपाको मान्छे भएका छन् ।’

उनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिष्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताए । उनले नेतृत्व परिवर्तन नगरी देश विकास हुँदैन भन्ने कुरामा मात्रै सिमित रहेका देशका ठूला राजनीतिक पार्टी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेका पुस्तान्तरणका कुरा गर्नेहरुलाई अब राप्रपाले नेतृत्व गर्ने बताए । 

नव निर्वाचित अध्यक्ष लिङदेनले नेकपा माओवादीले परिवर्तनको नाममा १० वर्ष ध्वंसात्मक गतिविधि सञ्चालन गरेर पूरानो भत्काउने नयाँ बनाउने भने पनि नयाँ योजना नै बनाउन नसकेको आरोप लगाउँदै अब राप्रपाले पूरानोलाई निरन्तरता दिँदै सिर्जनात्मक तरिकाले देशको विकास गर्ने बताए । 

आईतबार बिहान सम्पन्न मतपरिणाममा सो पार्टीका निःवर्तमान अध्यक्ष कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङदेन अध्यक्ष बनेका हुन् । 

Advertisement

Advertisement