के लिङदेन नेपाली राजनीतिको ‘केजरीवाल’ बन्लान ?

Advertisement

काठमाडौं । नेपालको राजनीतिका कृष्ण सिटौला, कमल थापा जस्ता चतुर खेलाडीहरुलाई पछार्दै अघि बढेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन नेपालको राजनीतिका ‘केजरीवाल’ बन्ने संकेत देखिएको छ । 

उनको बढ्दो लोकप्रियता र ठूला दल र तिनका नेताप्रति जनताको बढ्दो अलोकप्रियताले लिङदेनको हाइट झन बढेको छ । छिमेकी देश इण्डियाको नयाँ दिल्लीमा लोकप्रिय नेता केजरीवालले पूराना दल भारतीय जनता पार्टी र भारतीय काँग्रेसलाई बढार्दै आफ्नो आम आद्मी पार्टीलाई दुई तिहाईभन्दा बढि सिटमा जिताउन सफल भएका थिए । 

Advertisement

नेपालमा पनि लिङ्देनको बढ्दो लोकप्रियता र आकर्षणले यहाँका काँग्रेस र कम्युनिष्ट पार्टी कतै धरासायी हुने त होइन् ? भन्ने चिन्ता सुरु भएको छ ।  उनको विजयबाट धेरै आशावादी र खुशी बनेको सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूबाट पनि देख्न सकिन्छ । 

नेपालको राजनीतिमा पटक पटक ‘टेष्टेड’ भइसकेका नेताहरुबाट बाक्क दिक्क भएका जनतामा लिङदेनले नयाँ उत्साह जगाएका छन् । पूर्ववर्ती कमल थापाले जनादेशविपरित सत्तामा जाने, पार्टीको सिद्धान्त र मान्यताविपरित अरु दलहरुसँग सहकार्य गरेपछि रुष्ट भएका राप्रपाका कार्यकर्ताले महाधिवेशनबाट लिङदेनलाई अघि सारेका छन् । 

राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट कायम गर्नुपर्ने पक्षमा जनआवाज बढ्दै गएको बेला लिङदेन उक्त एजेन्डालाई बोक्नसक्ने इमान्दार नेताको रुपमा धेरैले विश्वास गरेका छन् । भ्रष्टाचार गर्नु आमाको रगत खानु जस्तो हो भन्ने मान्यता राख्ने उनी अहिलेसम्म कुनै पनि विवादमा मुछिएका छैनन् । 

आफू किराँत धर्ममा आस्था राख्ने भए पनि हिन्दु राष्ट्र नेपालको पहिचानसँग जोडिएको र राजसंस्था राष्ट्रिय एकताको प्रतिक भएको स्पष्ट विचार राख्दै आएका लिङदेनले आउँदो छ महिनाभित्रमा सबै राजसंस्था र हिन्दुराष्ट्र पक्षधर पार्टी, समुदाय, व्यक्तिलाई गोलबद्ध गर्ने प्रतिवद्धता जनाएका छन् । राप्रपा बाहिर रहेका यस्ता पार्टी, समूह, व्यक्तिले पनि लिङदेनको नेतृत्वमा आफूहरु एक हुन तयार रहेको तर थापालाई भने विश्वास गर्न नसकिने बताउँदै आएका थिए । 

लिङदेनको बढ्दो लोकप्रियतासँगै ठूला दल नेकपा एमाले, नेपाली काँग्रेससँग नजिक हरेका धेरै मानिसले उनलाई साथ दिनसक्ने संकेत देखिन्छ । काँग्रेस, कम्युनिष्टका लागि समेत चुनौतिको रुपमा उदाएका उनको विजयले अन्य दलमा समेत लिङदेनहरु आउनुपर्ने आवाज उठ्न थालेको छ । शालिन र शिष्ट स्वाभावका उनले आफू सफल नेतृत्व गर्न सक्षम रहेको उदाहरण आफ्नो निर्वाचन क्षेत्रमा गरेका कामहरुबाट पनि पुष्टि गरेका छन् । काँग्रेस र कम्युनिष्टले दबदबा रहेको क्षेत्रमा मतदाताको मत जितेर विजयी भएपछि उनले शिक्षालाई निःशुल्क गर्नुका साथै स्वास्थ्य सेवामा जनतालाई सहुलियत प्रदान गर्ने, युवाहरुलाई उद्यम गर्न प्रोत्साहित गर्ने जस्ता रचनात्मक काम गरेका छन् । 

को हुन लिङदेन ?
पाँचथरको अमरपुर पुख्यौली घर भएका राजेन्द्र लिङदेन वि.सं. २०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका हुन् । उनी जन्मिदाँ बाबु प्रहरीको जागिरे थिए । सोही जागिरको सिलसिलामा ताप्लेजुङमा बस्दा उनी जन्मेका हुन् । तर लिङदेनले सबै कुरा थाहा पाउने हुँदा बाबुले जागिर छोडिसकेका थिए । आमा सानैमा बितेकाले बाबुले अर्को विवाह गरे । 

लिङदेनको परिवारको जग्गा–जमिन केही थिएन । जागिर छाडेपछि उनको बाबुलाई परिवार पाल्न धौधौ भयो । पहाडमा कोदो पनि खान नपुग्ने भएपछि २०३० सालमा लिङदेनको परिवार मधेस झर्यौं । झापाको अहिलेको शिवसतासीको गैंडे भन्ने ठाउँमा वन फँडानी गरेर सानो छाप्रो हालेर बसेको उनको परिवारलाई वन अतिक्रमणकारी भन्दै त्यहाँबाट पनि सरकारले लखेट्यो । पछि सुकुम्बासीका रुपमा गोल्धापमा थोरै जग्गा दिइयो । त्यहीँ लिङदेनका बाबुले घर बनाए । त्यही उनी हुर्किए । त्यहीँ औपचारिक शिक्षा पूरा गरे । 

गोल्धापमा बस्दा लिङदेनको परिवारलाई बिहान खाए बेलुका के खाने ? भन्ने अवस्था थियो । सरकारले दिएको थोरै जग्गामा गरेको खेतीले खान नपुग्ने भएकाले रुखको ठुटामा पलाउने च्याउ, निगुरो खाएर पेट पाल्थे । सानोमा धानको भात खान पनि उनको परिवारलाई रहर नै हुन्थ्यो । बाबुले कहिले काहीं श्रम गरेर कमाई भएको बेला सस्तो खालको मोटा चामल लिएर आउँथे । 

राजेन्द्र लिङदेन विद्यालय तहदेखि नै राजनीतिमा लागेका हुन् । उनका बाबु पञ्चायतकालमा गाउँपञ्चायतको अध्यक्ष थिए । बाबु कै पथमा लाग्दा उनले राजनीतिमा धेरै संघर्ष, अपमान, कुटपिट सहनुपरेको इतिहास छ । स्कुल पढ्दै गर्दा लिङदेनमाथि ज्यान मारेको झुट्टा मुद्दा पनि लगाइयो । पछि उनले अदालतबाट सफाई पाए । 

लिङदेनका बाबुमा नेतृत्वको गुण थियो । सुकुम्वासी बस्तिमा मुठ्ठीभरका सामन्तहरुले सिंगो गाउँलाई शोषण गरेको देखेपछि त्यसको विरोधमा उनका बाबुले अगुवाई गरेका थिए । सोही राजनीति चेत लिङदेनमा पनि कलिलैमा परेको थियो । २०३६ सालको  जनमतसंग्रहमा शोषकहरु बहुदलको पक्षमा उभिए उनमा बहुदल भनेको शोषक र सामन्तीलाई चाहिएको व्यवस्था रहेछ भन्ने प्रभाव पर्यो । शोषणको विरोध गरेकै कारण सामन्तहरुले लिङदेनका बाबुलाई मात्रै नभएर लिङदेनलाई पनि दुःख दिन्थे । एउटा कुटपिटको घटनामा लिङदेनलाई जबरजस्ती मुछेर दुई महिना जेल हालिए पनि अदालतले उनलाई पछि सफाइ दियो । 

पञ्चायतकालको अन्त्यतिर २०४५ सालमा मेची क्याम्पसमा विद्यार्थी सङ्गठनको निर्वाचनमा पञ्चायत समर्थक विद्यार्थी सङ्गठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट अध्यक्ष पदमा उठेर हारेका उनी २०४९ सालमा राप्रपाको विद्यार्थी सङ्गठन बनेपछि संस्थापक केन्द्रीय अध्यक्ष बने । साथै, लिङदेन  झापाको तत्कालीन गोल्धाप गाविसको वडा नं ३ को वडाध्यक्ष पनि भएका थिए । 

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी जिल्ला विकास समिति झापाको सभापति बनेका थिए । राजनीति शास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन पूरा गरेका लिङदेन राजसंस्थामा विश्वास राख्ने पार्टीको कार्यकर्ता भएकै कारण माओवादीको हिंसात्मक आन्दोलनको बेला उनको घर आगो लगाएर ध्वस्त बनाइएको थियो । 

त्यसपछि लिङदेनको परिवार त्यहाँबाट विस्थापित भई बिर्तामोडमा बस्दै आएको थियो । केही महिनाअघि मात्रै उनले आफ्नो गोल्धापको घर मर्मत गरी त्यहीं बसोबास गर्दै आएका छन् । आफ्नो र परिवारको पेट पाल्न केही समय धनकुटा–भद्रपुर रुटमा माइक्रोबस समेत चलाएका लिङदेनलाई २०६२–६३ को आन्दोलनको बेला झापाको बिर्तामोडमा राजसंस्थाको पक्षधर भएको नाममा गणतन्त्रवादी दलका कार्यकर्ताले कालो मोसो दल्ने काम गरेका थिए । तर पनि उनले राजसंस्था र हिन्दुराष्टको मुद्दा कहिल्यै छाडेनन् । 

लिङदेनको व्यक्तित्वका कारण राप्रपाले झापाका तीन स्थानमा अहिले चुनाव जित्न सफल भएको छ । उनले २०७४ सालको संसदीय निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । झापामा निगुरो, च्याउ र पानी खाएर हुर्किएका लिङदेन गरिव परिवारका सदस्य हुन् । गरिव भए पनि उनी कहिल्यै कम्युनिष्टले लोभ्याउने नाराको पछि लागेनन् । राप्रपाको सदस्य भएर संघर्ष गर्दै आए । जनजातीको छोरा भएर पनि उनले जातीय आरक्षणको विरोध गर्दै आए ।  

संसदमा राप्रपाको एक्लो सदस्य भएर फरक विचार राख्दै आएका नेता लिङदेनले संसदमा एक्लो भए पनि आफूले कहिल्यै कमजोर महशुस नगरेको बताउँछन् । औपचारिक कार्यक्रममा राष्ट्रिय पोषाकमै हिंड्ने उनले आफूलाई राष्ट्रवादी, निडर, विकासप्रेमी, संस्कृतिप्रेमी नेताको रुपमा उभ्याउन सफल भएका छन् । 

Advertisement

Advertisement