खोलाले बगाउने गरी जलविद्युत संरचना बनाइन्छनः सिलवाल, डाँडामा लगेर बनाउने त ?– पाण्डे

Advertisement

काठमाडौं । नेशनल हाइड्रोका कार्यकारी अध्यक्ष कुमार पाण्डेले बीमा कम्पनीहरूले जलविद्युतको बीमा नै गर्न नसक्ने अवस्था सिर्जना भएको प्रतिक्रिया दिएको बताएका छन् । 

पछिल्लो समय जलविद्युतमा जोखिम बढ्न थालेको भन्दै बीमा कम्पनीहरूले बीमा गर्न आनाकानी गरेकोप्रति पाण्डेले असन्तुष्टि पनि जनाए । बढ्दो जोखिमकै कारण विदेशी पुनर्बीमा कम्पनीले नेपाली बीमा कम्पनीसँग पुनर्बीमा गर्न नमान्ने अवस्था सिर्जना भएको बीमा कम्पनीका सीईओहरुले बताउँदै आएका छन् । 

Advertisement

बीमा क्षेत्रको नियामक बीमा समितिका अध्यक्ष सूर्य सिलवालले पनि जहाँ बढि जोखिम छ, त्यहीं लगेर जलविद्युत आयोजना निर्माण गर्ने र क्षति भएको देखाएर बढी बीमा रकम दावी गर्ने प्रवृत्ति देखिएको बताएका छन् । 

कम्पनीहरूलाई जोखिम धान्न मुस्किल भएकै कारण जलविद्युत बीमाको प्रिमियम बढाउनुपरेको बीमा कम्पनीदेखि बीमा समितिको भनाई छ । तर जलविद्युत प्रवद्धकहरु भने बीमा क्षेत्रको आरोपलाई अस्वीकार गर्छन् ।

के भन्छन् पाण्डे ?

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको उपाध्यक्षसमेत भइसकेका नेशनल हाइड्रोका कार्यकारी अध्यक्ष कुमार पाण्डे भन्छन्, दैवी प्रकोप सधै आउँदैन । यस वर्ष धेरै क्षति भएको कुरा सत्य हो । मेलम्ची करिडोर, मस्र्याङदी करिडोर, पश्चिम तिरका अन्य करिडोरमा पनि क्षति पुगेको छ । तर, त्यसको जोखिम हरेक वर्ष रहँदैन । एक वर्ष क्षति पुगेको आधारमा नै बीमा प्रिमियम बढाईहाल्नु हुन्न भन्ने हाम्रो धारणा हो । 

तर, पछिल्लो समय जलविद्युत बीमाको प्रिमियम बढाइएको छ । बीमा कम्पनीहरूले आफ्नो नाफालाई मात्रै जोड दिएर जलविद्युत कम्पनीहरूको समस्यालाई उपेक्षा गरेका छन् । हाम्रो आम्दानी सिमित हुन्छ । त्यसैले बीमाको प्रिमियम बढ्यो भन्दैमा हामीले पनि नेपाल विद्युत प्राधिकरणबाट माग्न मिल्दैन् । जलविद्युतको पनि खर्च बढाउनु हुन्न भन्ने कोणबाट सबैले सोच्न जरूरी छ । 

जलविद्युत आयोजनाका तट जोखिमपूर्ण ठाउँमा निर्माण गरिएका हुन्छ भन्ने पनि हामीलाई आरोप लाग्ने गर्छ । तर, वास्तविकता त्यस्तो होइन । हामीले पनि सकेसम्म राम्रो होस भनेर नै काम गर्ने हो । जलविद्युत कम्पनीको बाध्यता के हो ? भने जलविद्युतका तट र पावर हाउस त खोला कै छेउछाउमा बनाउनुपर्छ । डाँडामा राखेर बिजुली आउँदैन । 

यसमा सबैले बुझ्नैपर्ने कुरा के छ ? भने हामीले बनाएको तट मात्रै होइन, सरकारले बनाएको संरचना पनि त बगाएको छ । सरकारले बनाएको बाटो, पुल पनि बगाएका छन् । तर, यहाँ त हामीले बनाएर नै बगाएको पनि भन्ने गरिएको छ । वास्तविकता त्यस्तो होइन, जोखिमपूर्ण ठाउँमा हामीले तट बनाउँनुपर्छ । हाम्रै पावर हाउस जोखिममा हुन्छ । त्यसैले त हामीले बीमा गर्नु परेको हो । कुनै पनि पावर हाउस बगाओस भनेर बनाउने होइन । अब साच्चैको शंका उत्पन्न भएको हो र यतिको कुरा बाहिरिएपछि यसमा सरकारले पनि खोजी गर्न जरूरी छ । 

जोखिमपूर्ण ठाउँमा जलविद्युत आयोजना बन्दा समस्या भयोः सिलवाल

बीमा समितिका अध्यक्ष सिलवालले जोखिमपूर्ण ठाउँमा जलविद्युत कम्पनीका पावर हाउस र तट निमार्ण हुने भएकाले बीमा कम्पनीसँग सहकार्य गर्न केही समस्या रहेको प्रतिक्रिया दिएका थिए ।

उनले बीमा कम्पनीहरुले पनि आफूले धान्न सक्ने जोखिमसम्म मात्रै बीमा गर्ने हो, धान्न नसक्ने अवस्थामा प्रिमियम बढाउनुको विकल्प हुन्न भन्दै जलविद्युत आयोजना निर्माणमा क्षति कम हुने गरी गुणस्तरीय संरचना निर्माणमा जोड दिनुपर्ने बताए ।  

Advertisement

Advertisement