वाणिज्य बैंकहरूले कर्जा पाँच गुणाले बढाए, सीडी रेसियो ९१ प्रतिशत नाघ्यो

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर १७ सम्मममा निक्षेपको तुलनामा कर्जा पाँच गुणाले बढाएका छन् । नेपाल बैंकर्स संघले जारी गरेको पछिल्लो तथ्यांक अनुसार कात्तिक मसान्तको तुलनामा कर्जा प्रवाह सात अर्ब रुपियाँबाट ३५ अर्ब रुपियाँ पुगेको छ । यो अवधिमा वाण्ज्यि बैंकहरूले संकलन गरेको निक्षेप भने जम्मा पाँच अर्ब रुपियाँले मात्रै बढेको देखिएको छ ।

वाणिज्य बैंकहरूले संकलन गरेको यस्तो निक्षेप कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रुपियाँबाट बढेर ४२ खर्ब २६ अर्ब रुपियाँ पुगेको छ । यो अवधिमा कर्जा ४० खर्ब ३४ अर्ब रुपियाँबाट ४० खर्ब ६९ अर्ब रुपियाँ कायम भएको पनि तथ्यांकले देखाएको छ ।

बैंकहरूले कात्तिक मसान्तको तुलनामा मंसिर १७ सम्ममा औसत सीडी रेसियो ९१ प्रतिशत नघाएका छन् । वैंकर्स संघकै तथ्यांक अनुसार हाल बैंकहरूको औसत सीडी रेसियो ९१.२४ प्रतिशत रहेको छ । यो सीडी रेसियो चालू आर्थिक वर्षबाट नेपाल राष्ट्र बैंकले सुरु गरेको सीमाभन्दा बढी हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूलाई ९० प्रतिशतभित्रै सीडी रेसियो कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्था अनुसार आगामी असार मसान्तसम्मको समय दिएको र त्यो बेलासम्म सीडी रेसियो ९० प्रतिशत बढी भएकोले पनि घटाउँदै जानुपर्ने हुन्छ । तर, अहिले बैंकहरूमा तरलता अभाव भएकोले सीडी रेसियो सबैजसो बैंकले अधिकतम सीमा नघाएका छन् ।