Advertisement

काठमाडौं । नाफामा सञ्चालन गर्न लामो समय लाग्ने क्षेत्र हो उड्डयन क्षेत्र । विनाशकारी भूकम्प, त्यसपछि नाकाबन्दी, कोभिड महामारी, इन्धनको चर्को मूल्यवृद्धि जस्ता समस्याले नेपालको उड्डयन क्षेत्र प्रभावित हुँदै आएको छ । यस्ता प्रभावबाट निकै प्रभावित भएको उड्डयन सेवा हो हिमालय एअरलाइन्स । 

हिमालय एअरलाइन्स चिनियाँ संयुक्त लगानीको निजी क्षेत्रको अन्तर्राष्ट्रिय उड्डयन सेवा हो । सेवा सुरु गरेसँगै धेरै खालका चुनौतिको सामना गर्दै आएको यस एअरलाइन्सले घाटै भए पनि सेवा विस्तारको योजनालाई भने छोडेको छैन् । 

Advertisement

भूकम्प, नाकाबन्दी, पछिल्लो महामारीले हिमालय एअरलाइन्सको योजना पछाडि धकेलिएको छ । भूकम्प, योजनाअनुसार जहाजहरु थप्न सकेको छैन् । यद्यपि सन् २०२२ भित्र एउटा न्यारोबडी जहाज थप गरेर पाँच वटा पुर्याउने र अन्तर्राष्ट्रिय उडानका थप गन्तव्यमा जाने योजना रहेको कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठ बताउँछन् । 

उनी भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य र प्राथमिकताको गन्तव्य चीन हो । महामारीले हाम्रो योजनामा ठूलो धक्का लागेको छ ।’ महामारीपछि चीनमा उडान नभए पनि दोहा, क्वालालम्पुर, ढाकासहितका गन्तव्यमा भने हिमालय एयरलाइन्सले उडान जारी राख्ने प्रयास गर्दै आएको छ । कोभिड महामारी बढेको बेलामा विदेशमा रहेका विशेषगरी नेपाली कामदारहरुको उद्दारमा पनि हिमालय एअरलाइन्स सक्रिय रह्यो । 

यद्यपि नेपाल वायुसेवासँगै निजी क्षेत्रको हिमालय एअरलाइन्सलाई पनि विदेशी वायुसेवासँग प्रतिस्पर्धा गरेर आफ्नो व्यवसायिक दायरा बढाउँदै जानुपर्ने बाध्यता छ । नेपालको उड्डयन व्यवसायको ठूलो हिस्सा विदेश एअरलाइन्स कम्पनीहरुले आगट्दै आएको बेला त्यसलाई न्यून गर्ने र प्रतिस्पर्धी सेवा दिने कार्यमा आफूहरु सक्रिय रहेको श्रेष्ठ बताउँछन् । 

उडानमा पटक पटक आउने समस्या र १० अर्ब रुपियाँभन्दा बढि घाटामा रहेको हिमालय एअरलाइन्सले छिट्टै आफूलाई नाफामा लैजाने योजना समेत बनाएको छ । आफूलाई सुदृढीकरण गर्दै जाने काम हिमालय एअरलाइन्सले गरिरहेको उनले बताए । आफूहरु सरकारी नीति नियम र उड्डयनसम्वन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गर्ने कम्पनी हो भन्दै श्रेष्ठले पटक पटकको अडिटमा आफूहरु सफल हुँदै आएको पनि उदाहरण दिए । 

हिमालय एअरलाइन्सले सेल्फ ग्राउन्ड ह्याण्डलिङको अनुमति समेत पाएको छ । तर, पनि केही विरोधका स्वरका कारण अनुमति कार्यान्वयन भएको छैन् । आफूहरु यस कुराको कार्यान्वयनमा नियामकसँग आशावादी रहेको भाइस प्रेसिडेन्ट श्रेष्ठले बताए । कम्पनीले आफ्ना यात्रुलाई आफै सेवा दिन पाउनुपर्ने माग सहित चार वर्ष लगाएर सम्पूर्ण प्रक्रिया पूरा गरेर सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति लिएको थियो । सरकारले नियम पालना गरिदिए हुन्थ्यो भन्ने उनले चाहना प्रकट गरे । श्रेष्ठसँगको थप कुराकानी भिडियोमा हेर्नुहोसः

Advertisement

Advertisement