शेयर बजारको अवस्था यस्तै रहे लगानीको १० प्रतिशत पनि बाँकी रहन्नः पोखरेल

Advertisement

काठमाडौँ । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताएकी छिन् ।  

अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर शेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताइन् । उनले शेयर बजार नियामक निकायहरुले शेयर बजार बढी रहेको अवस्थामा जसरी हुन्छ बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको बताइन् । 

Advertisement

शेयर बजार ३२ सय बिन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्ने, मौद्रिक नीतिमा शेयर बजारका लागि कडाई गर्नु नियामक निकायहरुको शेयर बजार प्रतिको नकारात्मक सोच भएको पोखरेलले आरोप लगाइन् । 

उनले भनिन्, ‘सरकारका शेयर बजार नियामक निकायहरु पूँजीबजारलाई लगाम लगाउने हिसाबले अगाडि बढेका छन् । शेयर बजार एउटा गतिमा दौडिरहेको अवस्थामा नियामक निकायहरुले बजारलाई प्रभावित गर्ने गरी नयाँ नीति ल्याउँदा लगानीकर्तामा निराशा छाएको छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दा थप बजार प्रभावित भयो थियो । त्यसपछि चालु आर्थिक वर्षको नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा एउटा लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा एउटा बैंकबाट ४ करोड र तीन वटासम्म १२ करोडको सीमा तोकिएको कारण शेयर बजारमा निराशा छ । यस्तो अवस्थामा जबसम्म बजारमा पैसा आउँदैन तब सम्म बजार घट्दै जान्छ । तर, मौद्रिक नीतीमा व्यवस्था भएको नयाँ नीति तीन महिनामा संशोधन गर्ने लगानीकर्तालाई बचन दिएको थियो । तर, मौद्रिक नीतिको समीक्षामा पनि नीति संशोधन नगरेकाले लगानीकर्तामा निराशा छाउँदा बजार गिरावट आएको छ । शेयर बजार सेन्सेटिभ मार्केट भएकाले घटबढ भइरहनु पर्छ । तर नियामक निकायले बनाउने नीतिले शेयर बजार घट्ने र बढ्ने हुन हुँदैन । नियामक निकायले शेयर बजारमा भएको विकृति विसङ्गतिलाई रोक्नुपर्छ । तर शेयर बजारलाई रोक्नु हुदैन् । अहिले बजारमा तरलताको समस्या छ । यो समस्या सरकारले ल्याएको बजेट खर्च नगरेर राज्यको ढुकुटीमा थन्केर बसेकाले पनि सिर्जना भएको हो । यो विषयमा अर्थमन्त्रीको बजेट खर्च गर्ने कुरामा केही चासोसमेत देखाउनु भएको छैन । यस्ता विविधि कारणले गर्दा शयेर बजारको भविष्य अन्योलमा रहेको छ । पछिल्लो तीन महिनाको अवधिमा शेयर लगानीकर्ताको २० प्रतिशत नोक्सानी भएको छ । यही अवस्था तीन वर्षसम्म रहेमा लगानीकर्ताको शेयर बजारमा १० प्रतिशत लगानी पनि रहँदैन ।’

अध्यक्ष पोखरेलले कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द भएको अवस्थामा धेरै नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गरेको तर पछिल्लो समय नयाँ लगानीकर्ता आफ्नो पुरानै व्यवसायमा फर्किएकाले बजार गिरावट भएको बताइन् । उनले कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको बताइन् । अध्यक्ष पोखरेलले पछिल्लो समय बिस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि विस्तारै चलायमान हुदै गएको बताइन् । 

शेयर बजारको सुधार एक दिन पनि टिकेन, नेप्से ३७.१८ अंकले घट्दा सवा तीन अर्ब पनि पुगेन कारोबार

Advertisement

Advertisement