चौँतीस सय संस्था विदेशी मुद्राको कारोबारमा संलग्न, २९ अर्ब भित्रदा ३७ अर्ब बाहिरियो

Advertisement

काठमाडौं । नेपालमा विदेशी मुद्राको कारोबार गर्ने निकायको संख्या करिब ३४ सय वटा पुगेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एक प्रतिवेदन अनुसार नेपालमा केन्द्रीय बैंकबाट इजाजत लिएर विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र पाप्त संस्थाको संख्या असार समासान्तमै ३३ सय ८३ वटा रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७/७८ मा यस राष्ट्र बैंकबाट विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त गर्ने संस्थाहरूमा पर्यटकीय सेवामा केन्द्रित रहेका होटल २२७ वटा, ट्राभल एजेन्सी ९३६ वटा,  ट्रेकिङ्ग १५९३ वटा र एयरलाइन्स कम्पनी ७१ वटा छन् ।

Advertisement

राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको इजाजत लिने संस्थाहरूमा कार्गो ६५ वटा, मनिचेन्जर ३५८ वटा, रेमिट्यान्स कम्पनी ५१ वटा, वाणिज्य बैंक २७ वटा, विकास बैंक ६ वटा, वित्त कम्पनी सात, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एक, नेपाल क्लियरिङ हाउस एक र अन्य ४० गरी जम्मा ३३ सय ८३ वटा निकाय रहेका छन् ।

विदेशी मुद्राको कारोबार गर्ने उपर्युक्त संस्थाहरूमध्ये काठमाडौं उपत्यकाभित्र तीन हजार ६३ र उपत्यका बाहिर ३२० संस्था रहेका छन् । यस बैंकबाट विदेशी मुद्रा कारोवार गर्न ईजाजतपत्र प्राप्त संस्थाहरूमध्ये विप्रेषण कम्पनी तीन, वाणिज्य बैकहरू नौ, मनिचेञ्जर १२, होटल तीन, ट्राभल्स एण्ड टूर्स एक गरी जम्मा २८ संस्थाहरूको स्थलगत निरीक्षण सम्पन्न गरिएको छ ।

यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू एवं इजाजतपत्रप्राप्त विप्रेषणको कारोबार गर्ने विप्रेषकहरूले मौरिससस्थित एम एण्ड एम रेमिटसँगको सहकार्यमा विप्रेषण कारोबार गरिरहेका भए उक्त रेमिटसँग कुनै पनि कारोबार नगर्न/नगराउन सूचना प्रकाशन गरिएको छ ।

गत आर्थिक वर्षमा ३१ अर्ब २५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी तथा २८ अर्ब ६५ करोड रुपिष्याँ बराबरको वैदेशिक ऋण भित्र्याउन अनुमति प्रदान भएको पनि राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्ष २९ अर्ब ६७ करोड बराबरको विदेशी लगानी र  ६ अर्ब ३० करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको पनि उल्लेख छ ।
उक्त अवधिमा प्रत्यक्ष विदेशी लगानी फिर्ता, ऋण मार्फत भित्रिएको विदेशी लगानीको साँवा र व्याज, विदेशी लगानीबाट आर्जित लाभांश, प्रविधि हस्तान्तरण वापतको रोयल्टी तथा विदेशी लगानीसँग सम्बन्धित विभिन्न शुल्कहरू भुक्तानीको लागि जम्मा ३७ अर्ब २० अर्ब बराबरको सटही स्वीकृति प्रदान भएको छ ।

गत वर्षमा विदेशी फर्म, कम्पनी तथा संस्थासँग नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले सम्झौता गरी सेवा खरिद गरे बापत् वाणिज्य बैंकहरूले प्रदान गर्न सक्ने विदेशी मुद्रा सटही सुविधाको सीमाका अतिरिक्त यस बैंकमा पेश हुन आएका २,१७३ वटा फाईलहरू मार्फत् विदेशी मुद्राको सटही सुविधा प्रदान भएको छ ।

निर्यात व्यापारलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न निर्यातकर्ता फर्म, कम्पनी वा संस्थाहरूलाई वाणिज्य बैंकहरूबाट भुक्तानी भएको १ अर्ब ४० करोड बराबरको निर्यातमा नगद अनुदान रकमको शोधभर्ना उपलब्ध गराइएको छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउँदा परीक्षा शुल्क बापतको रकममा आयकर ऐन, २०५८ को दफा ९५क. ले तोकेबमोजिमको अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकारको अनुमति लिई खुलेका नेपालस्थित शिक्षण संस्थाहरूलाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरूको भुक्तानीको लागि तोकिएका कागजात लिई अमेरिकी डलर १० हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले गराउन सक्ने व्यवस्था गरिएको पनि राष्ट्र बैंकले जानकारी दिएको छ । 

Advertisement

Advertisement