बोनस दर नघटाउन दबाब दिएपछि अभिकर्ताको कमिशन नै घटाइदिने अन्तिम तयारीमा समिति

Advertisement

काठमाडौं । बीमा समितिले जीवन बीमा अभिकर्ताहरूको कमिशन कटौती गर्ने भएको छ । अभिकर्ताहरूले बोनस नघटाउन दबाब दिइरहेको बेला समितिले उनीहरुकै कमिशन कटौती गर्न लागेको हो । 

बीमा समितिका एक उच्च अधिकारीले बोनस दर घटाउन भनेर अनावश्यक दबाब दिने काम भएकाले कमिशन घटाउन लागिएको बताए । उनले भने, ‘अहिले अभिकर्ताले बुझेर पनि नबुझे जस्तो गरी बुझ पचाएको अवस्था छ । बोनस बढ्नैपर्छ घट्नु हुन्न भन्न थालेका छन् । तर, फ्युचर बोनस प्रोभिजनिङ गर्दा बोनसमा घटबढ हुनु भनेको सामान्य कुरा नै हो । यसलाई अभिकर्ताले पनि सहज रूपमा बुझ्न जरूरी छ ।’ 

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले बोनस दर नघटाउन समितिलाई दबाब दिँदै आएका छन् । अभिकर्ताले नचाहिँदो ढिपी गरेकाले बाध्य भएर उनीहरूको कमिशन घराउने तयारीमा पुगेको समितिको भनाई छ । 

३३ प्रतिशत तार्गेट हामीले पुर्याउने हो, बीमा समिति

सरकारले चालु आर्थिक वर्षका बजेटमार्फत बीमाको पहुँच ३३ प्रतिशत पुर्याउनुपर्ने लक्ष्य दिएको छ । अहिले बीमाको पहुँच करिव २७ प्रतिशत रहेको बताइन्छ । समितिले आफूहरूले बीमा क्षेत्रको सुधार लागि बजारको मागअनुसारको नीति तय गर्ने र सोहीअुनसार नै निर्देशन दिने जनाएको छ । 

सरकारले तोकेको लक्ष्यअनुसार बीमा बजारको सुधारमा केन्द्रित हुने भन्दै समितिले आफूहरूले बजारको हित विपरीत बोनस घटाउन लागेको हो भन्ने कुरा गलत रहेको बताएको छ ।

फ्युचर बोनस प्रोभिजनिङले विगतका बोनस दर निर्धारणले पूराना कम्पनीलाई केही धक्का लागेको छ । बोनस दर निर्धारणको ढाँचा परिवर्तन हुँदा केही असर देखिए पनि कम्पनीहरुको भविश्यका लागि यो राम्रो हुने समितिको भनाई छ । 

समितिले विगतबाटै बोनसलाई बीमाको प्रचारमाभन्दा सुरक्षणमा ध्यान दिनुपर्ने बताउँदै आएको छ भने यता अभिकर्ताहरूले बोनस घट्दा बीमित र कम्पनीको नाफा दुवै घट्ने बताउँदै आएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताले गुटबन्दी शैलीमा आएर समिति घेर्ने, अनावश्यक दबाब दिने काम गरेकाले समस्या सिर्जना भएको भन्दै समितिका ती उच्च अधिकारीले आफूहरू नियामक निकाय भएकाले सबैको कुरा सुन्न र समन्वय गर्न तयार रहेको बताए । 

मनग्गे कमिसन दिँदा पनि अभिकर्ताले नचाहिँदो ढिपी गर्न नहुने उनको तर्क छ । अभिकर्तासहित सबैका जायज माग र समस्या समाधान गर्न आफूहरु जहिले पनि तयार रहेको समितिको भनाई छ ।

Advertisement

Advertisement