बीमा कम्पनी धरासायी भए पनि चिन्ता नलिनुस, बीमितको बोनससहितको रकम सुरक्षित हुनेछ

Advertisement

काठमाडौं । बीमा कम्पनीले आफ्नो बोनस दिने हो कि  होइन ? तपाईंको मनमा खट्किरहेको छ ? चिन्ता नलिनुस् । यदि कुनै बीमा कम्पनी धरासायी भए पनि तपाईंले बीमा गरेवापतको बोनससहितको रकम सुरक्षित हुनेछ । 

अहिले पनि बीमा गर्दा आफ्नो रकम के हुने हो ? भन्ने चिन्ता बीमितहरुमा देखिन्छ । तर जीवन बीमाको हकमा साँवा र त्यसको बोनस तथा निर्जीवनको हकमा दामासाहीले समितिले तोकेको साँवा रकम बीमा लिने व्यक्ति वा संस्थालाई फिर्ता गर्नुपर्ने कुरा कानुनले सुनिश्चित गरेको छ । 

Advertisement

यस हिसावले बीमा कम्पनी नै डुब्ने अवस्थामा पनि बीमितको साँवा र त्यसको बोनस भने डुब्दैन् । अहिले बजारमा बीमा कम्पनीको संख्या बढ्दो छ । बीमा समितिले पनि नयाँ कम्पनी थप्ने तयारी गरिरहेको छ । ठिक यही बेलामा बीमितले अलिकति भए पनि धेरै प्रतिफल कहाँ पाइन्छ होला ? भनेर हेर्ने गर्छन् । 

समितिले कुनै कारण कम्पनी धरासायी भएर व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्थामा पुगे पनि बीमितले पाउने जीवन बीमाको बोनससहितको रकम, निर्जीवन बीमाको साँवा रकम र शेयरधनीको हकमा घोषणा गरिएको प्रतिफलमा भने कुनै असर नपर्ने स्पष्ट पारेको छ । 

यस्तो छ कानुनी प्रावधान
बीमा ऐन २०४९ को दफा १६ ले बीमकको खोरेजी पश्चात बीमाको दावी भुक्तानी सम्बन्धी बोलेको छ । उक्त दफामा बीमितको पाउने रकम वा आफ्नो दायित्व कम्पनीले आफू धरायसी हुँदा समेत व्यहोर्नुपर्छ भन्ने छ । 

ऐनको दफा १६ मा भनिएको छ, ‘दर्ता खोरेजीको कारणले विघटन भएका बीमकले बीमा बापत प्राप्त गरेको रकम समितिले तोकेको अवधि भित्र र तरिका बमोजिम जीवन बीमाको सम्बन्धमा समितिले तोकिदिए बमोजिमको साँवा रकम बीमा लिने व्यक्ति संस्था वा समितिलाई फिर्ता गर्नु पर्नेछ ।’

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘बीमाको सामान्य सिद्धान्त भनेकै जीवनमा जोखिम छ भनेर नै जोकोहीले बीमा गर्नुपर्छ भन्ने हो । अब बीमितले बीमा गरेको छ भन्दैमा बीमा कम्पनी पनि कहिल्यै धरापमा पर्दैन भन्ने त हुँदैन । तर, कम्पनीले बीमितसँग एउटा सम्झौता गरिसकेकाले बीमितको पैसा तिर्नु उसको अनिवार्य दायित्व हो ।’

उनले कम्पनी नै धरासायी हुनु र बीमितको पैसा तिर्नुपर्ने दायित्व फरक विषय हो भन्दै बीमितले बुझाएको प्रिमियम रकम बैंकले निक्षेपकर्ताले राखेको निक्षेप जस्तै हो भने । पौडेल भन्छन्, ‘कम्पनी भरासायी भएर आगामी दिनमा नयाँ व्यवसाय सञ्चालन नै गर्न सकिन्न भन्ने अवस्थामा पुगेमा बीमा कम्पनीले पनि सरेण्डर गर्नुको विकल्प नहोला । तर बीमाले नै रक्षावरण गर्न सिकाउने भएकाले कम्पनीले पनि आफ्ना त्यस्ता जोखिका लागि भने तयारी गर्नुपर्छ ।’ 

विगतदेखि नै बीमितलाई बीमा कम्पनीले पैसा लिएर भाग्ने हो कि ? ठूलो लगानी गर्दा कम्पनी टाट पल्टिएर त्यसको मार आफूले खेप्नुपर्ने हो कि ? भन्ने चिन्ता र चासो रहँदै आएको थियो । तर, कानुनीरूपमा नै बीमा कम्पनीले बीमितलाई भुक्तानी गर्नुपर्ने दायित्व अनिवार्यरुपमा भुक्तानी गर्नुपर्ने सुनिश्चितता गरेको कुरा भने धेरैलाई जानकारी नभएको देखिन्छ । 

आफ्नो दायित्व तथा बीमितको बोनस सल्टाउनै पर्ने नियम रहेकाले यसमा कुनै पनि बीमित आत्तिनु नपर्ने समितिको भनाई छ । नेपालका बीमा कम्पनीमा यस्तो खालको कुनै जोखिम अहिले नरहेको पनि समितिले स्पष्ट पारेको छ । तर, भोलिका दिनमा कुनै कम्पनी जोखिममा परेमा बीमितले पाउनुपर्ने प्रतिफलमा कुनै असर नपर्ने पौडेलले बताए । 

Advertisement

Advertisement