निजी वायुसेवाले सेल्फ ह्याण्डलिङ नपाउने, पोखरा र गौतमबुद्धमा निगमकै तयारी

Advertisement

काठमाडौं । सरकारी ध्वाजाबाहक नेपाल वायुसेवा निगम बार्षिक करिक ५० अर्बको ऋणमा डुबेको छ । यो वायुसेवाले जहाज थप गर्न नसक्दा त्रिभुवन विमानस्थलमा अन्य विदेशी वायुसेवाका यात्रुलाई जहाजसम्म पुर्याउने, सामान ल्याउन र राख्ने काम अर्थात ग्राउण्ड ह्याण्डलिङ गरेर कर्मचारी पालिरहेको छ । निगमले कर्मचारी पाल्न पुग्ने पैसा त्यहीँ ग्राउण्ड ह्याण्डलिङबाट कमाइरहेको छ ।

निगमको भाग खोस्न खोजेको भन्दै नेपाल नगारिक उड्डयन प्राधिकरणले गत असोज २०७७ मा नेपालकै निजी क्षेत्रको लगानीको वायुसेवा हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउण्ड ह्याडलिङको अनुमति कार्यान्वयन गरेन् । निगमको चर्को विरोध र कर्मचारी यूनियनले निगमलाई घाटा खुवाएर निजी वायुसेवालाई सेल्फ ह्याण्डलिङसम्म दिन नहुने तर्क गरेपछि उक्त निर्णय अहिलेसम्म न खारेज भएको छ न त कार्यान्वयनमा नै ।

Advertisement

सरकारले निर्णय गरिसकेपछि र आफ्नो अधिकार भएकोले हिमालय एयरलाइन्सले कानूनी लडाइँ लड्न सक्छ । तर, हिमालयन सरकारसँग फकाएर र सहजै यो सेवा लिन चाहन्छ । हिमालयनका अधिकारीले सरकारी निर्णय कार्यान्वयन गर्नुपर्छ भन्दै आएका छन् । हिमालयन एयरलाइन्सका पदाधिकारीले उक्त निर्णय कार्यान्वयन गर्न दिन पर्यटन मन्त्री पे्रेम आलेलाई लविङसमेत गरिरहेका छन् ।

मन्त्री आलेले भने सरकारी ध्वजाबाहक घाटामा रहेको र १४ सय कर्मचारी भएको संस्थाको नियमिति आम्दानी खोसेर निजीलाई दिने कल्पनै गर्न नसकिने बताए । आलेका अनुसार हिमालयनले अहिले सेल्फ ग्राउण्ड ह्याडलिङ मात्रै मागेको भएपनि वायुसेवा निगमले गरिरहेको सेवा भएकोले र निगम नाफामा नगएसम्म कुनै पनि वायुसेवालाई ग्राउण्ड ह्याण्डलिङको जिम्मा नदिने स्पष्ट पारेका छन् ।

निगमको पाँच वर्षे कार्यायोजना सार्वजनिक कार्यक्रममा मन्त्री आलेले निगमका कर्मचरीलाई विश्वस्त गराउँदै भने ‘तपाईंहरू ढुक्क हुनुस्, निगम नाफामा नगएसम्म कसैले ग्राउण्ड ह्याण्डलिङ पाउँदैनन् ।’ उनले भने ‘जसरी वन मन्त्री हुँदा वातावरण जोगाउन पक्षमा वैज्ञानिक वन कार्यक्रम खारेज गरेर विद्यार्थीले प्रेम आलेको नाम लिने बनाउन सके त्यसैगरी निगम सुधार गरेर नेपालको पर्यटनमा ऐतिसिक काम गर्ने व्यक्ति बन्न प्रयास गर्ने छु ।’

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने ३० वटा वायुसेवामध्ये एयर इन्डिया र थाइ एयर बाहेकका वायुसेवालाई नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङको सुविधा दिंदै आएको छ। विमानस्थलमा निगमले प्रत्येक उडानको ग्राउन्ड ह्यान्डलिङबाट २२ सय डलर लिंदै आएको छ। हिमालय एयरलाइन्सले आफैं ग्राउन्ड ह्यान्डलिङ गर्दा त्यो शुल्क निगमलाई तिर्नु पर्दैन भनेर नै आफैं गर्न चाहेको हो । ग्राउण्ड ह्याण्डलिङबाट महामारी अगाडि धेरैवटा उडान हुन थालिसकोले हिमालयबाट मात्रै निगमले वार्षिक करीब एक अर्बको हाराहारीमा पैसा उडान सक्ने भइसकेको थियो ।

अहिलेको उडान तालिका अनुसार निगमले ग्राउन्ड ह्यान्डलिङबाट कमाएको पैसाको १५ प्रतिशतका दरले उड्डयन प्राधिकरणलाई शुल्क बुझाउँछ। हिमालयले आफैं ग्राउन्ड ह्यान्डलिङको अनुमति पाए प्राधिकरणले पनि वार्षिक १० देखि १५ करोड रुपियाँ गुमाउने प्राधिकरणकै अधिकारी बताउँछन्।

हाल निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एअरले पनि सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्छ । चार्टर उडान अनुमति पाएको श्री एयरलाइन्सलेले पनि आफैं ग्राउन्ड ह्याण्डलिङ गर्दै आएको छ भने यती एअरलाइन्सले पनि सेल्फ ह्याण्डलिङ गर्ने गरि अनुमति पाएको हो ।

नेपालमा उडान गर्ने दुई वटा अन्तर्राष्ट्रिय वायुसेवाले पनि सेल्फ ह्याण्डलिङ गरिरहेको बेलामा हिमालयनलाई मात्रै रोक्न नहुने तर्क हवाई क्षेत्रका जानकारहरूको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने हिमालयलाई नियम अनुसार नै सेल्फ ह्याण्डलिङको अनुमति दिएको बताएको छ ।

पोखरा र गौतमबुद्ध विमानस्थलमा निगमकै तयारी
सरकारले पोखरा र गौतमबुद्ध विमानस्थलमा निगमलाई नै ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिएकोले निगमले आवश्यक तयारी गरिरहेको छ । गौतमबुद्ध विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको र उडान सञ्चालन गर्ने गरी तयारी भइरहेकोले निगमले पनि ग्राउण्ड ह्याण्डलिङको लागि आवश्यक तयारी गरिरहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए ।

अधिकारीका अनुसार निगमले पाएको जिम्मेवारी अनुसार पोखरा र गौतमबुद्ध विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिने भएको छ । यसका लागि आवश्यक सामान खरिद र उपकरण जडानको प्रक्रिया नै अगाडि बढेको निगमले जानकारी दिएको छ।
 

Advertisement

Advertisement