एमसीसीका कारण अप्ठ्यारो पर्न लागेको प्रचण्डद्धारा स्वीकार, तर गठवन्धन टुट्न नदिइने

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदनको विषयले आफूहरुलाई अप्ठ्यारो पर्न लागेको स्वीकार गरेका छन् । 

न्युज एजेन्सी नेपालसँगको अन्तरवार्तामा उनले एमसीसीको अनुदान परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्टका कारण आफूहरुलाई अप्ठ्यारो परे पनि हालको सत्तारुढ गठबन्धन भने  नटुट्ने दावी गरेका छन् । 

Advertisement

एमसीसी तत्काल पारित नहुने स्थितिमा पनि गठबन्धन टुटदैन भन्दै प्रचण्डले केही ढिलाई भए पनि सम्झौता अनुमोदन भने हुने संकेत गरे । प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधार गर्नुपर्ने पक्षमा रहेको भन्दै उनले यसले केही समय लिनसक्ने बताएका छन् । 

प्रचण्डले भनेका छन्, ‘अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ । अप्ठ्यारो नै पर्‍यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन ।’ 

आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनपछि एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा देउवासँग कुरा भएको उनले बताएका छन् । एमसीसी सम्झौताको आधिकारिक दस्तावेजमा संसदबाट अनुमोदन हुने विषय नभएको तर पछि समावेश गरिएको भन्दै प्रचण्डले यसको दोष पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारलाई दिए । 

उनले भने, ‘यो विषयमा जहाँनिर त्रुटि भएको छ, जुन जुन प्रावधानले हामीलाई अप्ठ्यारो पारेको छ, जरुरी पर्दा त्यसलाई संशोधन पनि गर्नुपर्‍यो । गम्भीर र संवेदनशील विषय भएका कारण राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्नुपर्‍यो ।’ तर जबर्जस्ती पारित गर्न खोजेमा अप्ठेरो स्थिति आउने प्रचण्डले स्वीकार गरे । 

Advertisement

Advertisement