ब्रह्माण्डको उत्पत्ति पत्ता लगाउन बनाइएको जेम्स वेब टेलिस्कोप अन्तरिक्ष यात्रामा निस्कियो

Advertisement

एजेन्सी । ब्रह्माण्डको उत्पत्ति पत्ता लगाउन निकै ठूलो धनराशी खर्च गरेर बनाइएको जेम्स वेब टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । दश अर्ब अमेरिकी डलर लागतको उक्त टेलिस्कोप शनिबार अन्तरिक्ष यात्राका लागि निस्किएको बीबीसीले जनाएको छ ।  

यसअघि निकै शक्तिशाली मानिएको हबल टेलिस्कोपभन्दा पनि निकै शक्तिशाली जेम्स वेब टेलिस्कोपले ब्रह्माण्डको उत्पत्ति तथा पहिलो ताराको जन्मको बारेमा खोज गर्नेछ । दक्षिण अमेरिकाकी फ्रेन्च गुयानाको एरियन रकेटबाट इतिहासकै सबैभन्दा ठूलो यस टेलिस्कोप अन्तरिक्षमा पठाइएको हो । यसको सफल प्रक्षेपण भएको र टेलिस्कोपले संकेतहरु पठाउन थालिसकेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ । 

Advertisement

चन्द्रमामा एपोलो मिसनमार्फत अन्तरिक्षयान पुर्‍याउन प्रमुख भूमिका खेल्ने जेम्स वेबको नाम निर्माण गरिएको यस टेलिस्कोप निर्माणका लागि विगत ३० बर्षदेखि मानिसहरु कार्यरत थिए । 

यो टेलिस्कोपलाई पृथ्वीभन्दा करिब १५ लाख किलोमिटर पर पुर्‍याइनेछ । त्यहाँसम्म पुग्ने क्रममा टेलिस्कोपले अहिलेको आफ्नो स्वरूप बदल्ने छ र त्यो ककुनबाट पुतली निस्किएको जस्तै हुने बताइएको छ ।

यो सुपर टेलिस्कोप ब्रह्माण्डमा धेरै टाढासम्म हेर्न मिल्ने गरी निर्माण गरिएका कारण यसले १३.५ वर्षअघिको पहिलो ताराको प्रकाश पहिचान गर्न सक्ने अपेक्षा गरिएको छ।

यसमा ६.५ मिटर ब्यासको खगोलीय ऐना प्रयोग गरिएको छ जुन अहिलेसम्म पृथ्वीको कक्षमा पठाइएकामध्ये सबैभन्दा ठूलो हो। खुम्च्याएर पठाइएको यो ऐनालाई अन्तरिक्षमा फैलिन नै दुई हप्ताको समय लाग्नेछ।

यो टेलिस्कोप पूर्ण सञ्चालनमा आएर तस्बिरहरू पठाउन छ महिना लाग्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । त्यसपछि यो चिसो हुन, ऐनाहरू मिलाउन र उपकरणहरू खुल्न एक एक गर्दै धेरै महिना लाग्ने बताइएको छ । 

यस टेलिस्कोपले सन् २०२२ को गर्मीयामसम्म पहिलो तस्बिर पठाउने अपेक्षा गरिएको छ । हबल टेलिस्कोपले ब्रह्माण्डको बारेमा धेरै नयाँ तथ्यहरु पहिचान गर्न सफलता मिलेकोमा वेब टेलिस्कोपले ब्रह्माण्डका भागहरू हेर्न र यसको उत्पत्तिसम्म पहिल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ । यस टेलिस्कोपले इन्फ्रारेडका आधारमा ब्रह्माण्डलाई नियाल्नेछ । हबल टेलिस्कोपका आधारमा निर्माण गरिएको यस टेलिस्कोपको क्षमता हबलको भन्दा सय गुणा बढि रहेको बताइएको छ । 

Advertisement

Advertisement