कृषि यान्त्रीकरण प्रदर्शनी माघ ५ देखि चितवनमा, कृषि प्रविधि तथा सेवा प्रवर्द्धन हुने अपेक्षा

Advertisement

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी माघ ५ देखि ८ गतेसम्म चितवनमा हुने भएको छ । 

संघले मंगलवार पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी दिएको हो । संघका अध्यक्ष खोजराज कटुवालले प्रर्दशनीले नेपाली कृषकहरुको र कृषि उपकरण उत्पादनको वृद्धि र विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । 

Advertisement

उनले प्रदर्शनीमा नेपालमा उत्पादन भएका कृषिका नयाँ नयाँ प्रविधि, औजार, कृषि उपकरण तथा पछिल्लो दुई वर्षमा विश्वमा आएका कृषि यन्त्रहरु अवलोकन गर्न पाइने बताए । 

कटुवालले मुलुक कृषि प्रधान मुलुक भएता पनि कृषि औजारहरु विदेशबाट आयात गर्नुपर्ने अवस्था कायम रहेको बताए । उनले पछिल्लो समय नेपालमा १० अर्बभन्दा बढीको कृषि औजार आयात भइरहेको बताए । कटुवालले अब कृषि प्रविधिहरु नेपालमा नै उत्पादन बढाउनुपर्ने बताए । 

कटुवालले नेपालमा कृषि औजार उत्पादनको लागि नीतिगत समस्या रहेकाले सरकारबाट समाधान भएमा नै उत्पादन गर्न सहज हुने बताए । उनले भने, ‘चितवनमा हुने पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनीले नेपाली किसानहरुको र राष्ट्रिय उत्पादनको वृद्धि र विकास गर्ने महत्वपूर्ण भूमिका खेल्छ । प्रर्दशनीमा नेपालमा नै उत्पादन भएका कृषि औजार, नयाँ प्रविधि, मल, बिउ, पछिल्लो दुई वर्षमा विश्वमा उत्पादन भएका कृषि औजार, नयाँ प्रविधि, नेपाललाई सुहाउँदो प्रविधिहरु अवलोकन गर्न पाउनु हुनेछ ।’ 

प्रदर्शनीमा करिव १ करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ भने एक लाखभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदशनीले नेपालको कृषि तथा पशुपालनको क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण एवं व्यवसायीकरण गर्न टेवा पु¥याउने आयोजकको अपेक्षा छ । 

प्रदर्शनीको अवलोकनमा जाने कृषकहरुलाई लक्षित गरी पशुपालन, कुखुरा पालन, नगदेवाली, सिँचाई, डेरी सञ्चालन मात्र नभई कृषिका नविनतम औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी दिइने छ । 

त्यस्तै प्रदर्शनीमा कृषि प्रबिधि, कृषि यान्त्रिकरण, बिभिन्न रैथाने बाली, कृषि सम्बन्धी सेमिनार, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम, बाली बीमा सम्बन्धी सुबिधा, कृषिसम्वन्धी बीउ, बिषादी, मल र अन्य उपकरणको प्रदर्शनी एवं खरिद बिक्री सुविधा, उन्नत बिधि र प्रबिधिको स्थलगत प्रदर्शनी गर्न पाइने छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ । 

Advertisement

Advertisement