दूरसञ्चारसम्वन्धी गुनासोको संख्या बढ्दो, तर प्राधिकरण भन्छ– संख्या बढे पनि अनुपात घटदो छ

Advertisement

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणमा पछिल्लो समय इन्टरनेट सेवासँग सम्बन्धित गुनासाको चाङ बढ्दो । तर प्राधिकरणले गुनासाको संख्या बढे पनि ग्राहकको वृद्धिदरअनुसार समस्या घट्दो क्रममा रहेको जिकिर गरेको छ । 

प्राधिकरणका उपनिर्देशक सूर्य लामिछानेले कर्पोरेट नेपालसँग भने, ‘हामीले कुनै पनि गुनासो आउने बित्तिकै त्यसलाई रेक्टिफाई (सुधार्ने) गर्ने गरेका छौँ । इन्टरनेट सेवाको गुनासो आउने बित्तिकै सम्बन्धित सेवा प्रदायकलाई फोनबाटै सोधपुछ गर्नेदेखि निर्देशन पनि जारी गर्ने गरेका छौँ।’ 

Advertisement

संख्यात्मक रूपमा जनगुनासो बढे पनि बढ्दो ग्राहक संख्याको अनुपातमा विगतमा भन्दा उजूरी घटेको उनको तर्क छ । लामिछानेले थपे, ‘विगतको हिसाबमा अहिले ग्राहकको संख्या थपिएको छ । सेवा विस्तार वृद्धि हुँदा जनगुनासो बढेको छ भने विगतको भन्दा अहिलेको ग्राहकले भोग्दै आएका समस्यामा कमी आएको छ ।’ उनले दूरसञ्चारका समस्या तत्काल समाधान गर्न आफूहरू प्रयासरत रहेको बताए । 

एक महिनामा ३१ गुनासा
पछिल्लो एक महिनामा मात्रै दूरसञ्चार सेवासँग सम्वन्धित गुनासो गर्दै ग्राहकहरूले ३१ वटा उजूरी गरेका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार ती गुनासोहरू इन्टरनेट सेवाको विषयमा परेको भए पनि प्रकृति भने फरक छन् । 

प्रायः प्राधिकरणमा एकै किसिमका समस्या लिएर ग्राहकले उजुरी गर्दै आएका छन् । यस्ता उजुरी घर, कार्यालयमा इन्टरनेटको गति सुस्त भयो, इन्टरनेटको बिल तिर्न समस्या भयो, इन्टरनेटको गुणस्तर वृद्धि गर्नुपर्यो भन्ने जस्ता हुन्छन् । 

गुनासोको प्रकृति हेरेर निर्देशन दिने र कार्यान्वयन भए नभएको हेर्ने काम आफूहरुले गर्दै आएको प्राधिकरणका अधिकारीहरुको भनाई छ । सेवा प्रदायकले मापदण्डविपरीत काम गर्न नपाउने भन्दै प्राधिकरणले त्यस्तो गर्नेलाई पटक पटक कारवाही गर्दै आएको पनि जनाएको छ । 

यता ग्राहकले भने दूरसञ्चार सेवा प्रदायकबारे गरिएको उजुरीको ठोसरुपमा समस्या समाधान नहुने गरेको गुनासो गर्दै आएका छन् । तर प्राधिकरणले त्यो आरोप अस्वीकार गर्छ । उसका अनुसार ग्राहकहरुलाई इन्टरनेट सेवा प्रदान गर्नुपूर्व सेवा प्रदायकले सम्झौता गर्न आवश्यक हुन्छ । त्यस्तो सम्झौतामा कति मूल्यको इन्टरनेट ? कति समयको लागि ? तथा कति एमबीपीएस गतिको हो ? खुलाउन आवश्यक हुन्छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार इन्टरनेट खरिद गरेपछि सेवा प्रदायकहरुले शर्तअनुसार सेवा दिनुपर्ने हुन्छ । 

प्राधिकरणले व्याण्डविथ थप्नु पर्ने वा उपकरण बढाउने भन्ने कुरा बेग्लै कुराहरु हुन् भन्दै तर खरिद गरेको इन्टरनेट ग्राहकले शर्तअनुसार पाउनुपर्ने कुरामा सेवा प्रदायकले कन्जुस्याईं गर्न नहुने बताएको छ । 

Advertisement

Advertisement