मलाई एउटा सफल बैंकर बन्ने इच्छा छः मिस गुरुङ इन्टरनेशनल

Advertisement

सन्ध्या गुरुङ इलाममा जन्मेकी २१ वर्षीय सुन्दरी हुन् जसले १४ प्रतियोगीहरुलाई पछि पार्दै हालै सम्पन्न मिस गुरुङ इन्टरनेशनल सिजन ४ को ताज हात पारेकी छन् । बीबीएस तेस्रो वर्षमा अध्ययनरत उनी स्कुलमा अंग्रेजी भाषाको शिक्षिका पनि छिन् । प्रस्तुत छ मिस गुरुङ सन्ध्यासँगको कुराकानीः 

मिस गुरुङ इन्टरनेशनलको उपाधि हासिल गरेपछि कस्तो अनुभव भएको छ ?
ममा आत्मविश्वास बढेको छ र मैले समाजलाई केही दिनसक्छु जस्तो लागेको छ । त्यसबाट मेरो मनमा गु्रुङ संस्कृतिप्रति प्रेम पनि बढेको छ ।

Advertisement

के तपाईंलाई प्रतियोगितामा विजय हुन्छु भन्ने विश्वास लागेको थियो ?
एक मनले त विजय हुन्छु होला भन्ने लागिरहेको थियो । तर फेरि कता कता एक प्रकारको डर पनि लागिरहेको थियो । चौध जना प्रतियोगीलाई कसरी उछिन्न सक्छु होला ? भन्ने लागेको थियो ।

टाइटल अवार्ड जित्न के प्रतिभा देखाउनुभयो ?
मैले टाइटल अवार्ड जित्नको निम्ति गु्रुङ सांस्कृतिक नृत्य प्रस्तुत गरेकी थिए । त्यस बखत मैले गु्रुङहरुको परम्परागत पोशाक लगाएकी थिए ।

आगामी दिनहरुमा मिस गु्रुङको हैसितयले के कस्ता गतिविधिहरुमा सहभागिता हुनुहुन्छ ?
मैले एक म्युजिक भिडियोमा मोडलिङका साथै एक गु्रुङ सिनेमाको निम्ति अभिनय गर्नुपर्ने छ । त्यसका निम्ति म छिटै कन्ट्राक्टमा हस्ताक्षर गर्छु होला । त्यसबाहेक मैले विभिन्न सामाजिक गतिविधिहरुमा पनि सक्रियता देखाउने छु ।

कस्ता प्रकारका सामाजिक गतिविधिहरुमा संलग्न हुनुहुन्छ ?
मैले सडक बालबालिका तथा एकल आमाहरुलाई सहायता गर्ने, उनीहरुका निम्ति रकम संकलन पनि गर्ने योजना छ । साथै वृध्दाश्रममा गएर ज्येष्ठ नागरिकहरुको सेवा गर्ने विचार पनि छ ।

तपाईंको थप रुचीका विषय के के छन् ? 
मलाई जनावरहरु, खासगरी कुकुर र विरालो मन पर्छ । मलाई ती जनावरहरुलाई सेवा गर्दै समय बिताउने मन छ । सडकमा छाडिएका कुकुरहरुलाई खाना खुवाउने रहर पनि छ । कुकुर मानिसको असल साथी पनि हो । त्यसैले मलाई कुकुर असाध्य मन पर्छ । साथै म गु्रुङ भाषा र संस्कृतिको प्रचार प्रसारमा पनि लाग्ने छु । मैले आफैले पनि गु्रुङ भाषा सिक्नु छ र मेरो जिल्ला इलाममा गु्रुङ भाषाको प्रचार गर्नु छ ।

कोभिड महामारीका क्रममा लागू गरिएको लकडाउनमा कसरी समय बिताउनुभयो ? 
लकडाउनले मलाई शारीरिक तन्तुरुस्ती राख्न व्यायाम गर्ने अवसर प्रदान गरेको थियो । त्यसबखत म आफ्नो गाउँ ईलामस्थित माबु पनि गए जहाँ खेतीपातीको काम हेरें । मैले त्यहाँ केही समय घाँस पनि काटें हातमा घाउ नै हुने गरी । मैले मेरी आमाबाट ऊनको स्विटर बुन्ने काम पनि सिक्ने मौका पाए ।

तपाईंको गाउँ के को लागि प्रख्यात छ ?
मेरो गाउँ माबु गहूँ, कोदो, छुर्पी र ऊनको निम्ति प्रख्यात छ । त्यहाँ हातले बनाइएको विशेष प्रकारको हाते पाती नामको चिया पनि पाइन्छ । ईलामको कन्याम जो चियाको निम्ति प्रख्यात छ । मेरो गाउँबाट चार घण्टा गाडीको बाटोमा पर्छ कन्याम ।

आफ्ना केही शौखहरुबारे बताउनुहुन्छ कि ?
म नाच्न, पौडी खेल्न र संगीत सुन्न मन पराउँछु । मलाई केटाकेटीहरुसँग खेल्न र हजुरबा, हजुरआमासँग गफ गर्न पनि सौख छ ।

तपाईंको भविश्यको उद्देश्य के छ ? 
मेरो उद्देश्य हो एक सफल बैंकर बन्नु । साथै अभिनयको क्षेत्र पनि मन पर्छ । म बैंकिङलाई पेशाको रुपमा र अभिनयलाई हवीको रुपमा अपनाउन चाहन्छु ।

कस्तो किसिमको एक्टिङ गर्न मनपर्छ ?
मलाई रमाइलो किसिमको एक्टिङ मनपर्छ । साथै केही भावुक रोल पनि गर्न मन छ ।

अहिले के गर्दै हुनुहुन्छ ? पढाइ कहिलेसम्म चालु राख्ने विचार छ ?
म अहिले ग्रामर कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छु । साथै एक स्कुलमा अंग्रेजी र सामाजिक विषय पढाउँछु । मलाई मास्टर्स इन विजनेस अध्ययन पूरा गर्ने विचार छ ।

तपाईंले प्राप्त गर्नुभएको रु १ लाख पुरस्कारको रकम कसरी उपयोग गर्ने सोच छ ?
म त्यसको ५ प्रतिशत आफ्नी आमा र ५ प्रतिशत हजुरआमालाई दिन्छु , जसले मलाई यहाँसम्म पुग्न मद्दत गर्नुभयो । दश प्रतिशत आफ्नो लागि छुट्याएर बाँकी सामाजिक कार्य मा लगाउँछु ।

Advertisement

Advertisement