बीमामा अभिकर्ता नेटवर्किङ र कमिशनको जालो मौलाउँदै, समस्या समाधानमा समिति उदासिन

काठमाडौं । अवैधरुपमा चल्दै आएको अभिकर्ता नेटवर्किङ घट्नुको सट्टा झन मौलाउँदै गएको छ । नियामक बीमा समितिले पटक पटक यस्तो नेटवकिङ बन्द गर्न चेतावनी दिए पनि समितिलाई चुनौति दिँदै नेटवकिङ जारी राखिएको हो । 

अभिकर्ता नेटवर्किङ बढ्नु बीमा कम्पनीहरूकै लागि घातक रहेको केही कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत)हरु स्वीकार गर्छन् । तर, तर अधिकांश कम्पनीले भने यस्तो अवैध नेटवर्किङलाई अझै प्रोत्साहित गरेको देखिएको छ । केही कम्पनीमा व्यवसाय बढाउने नाममा अस्वस्थ ढंगले नेटवर्किङ गर्ने र ठूलठूलो कमिशनको डिल हुन थालेको छ । यो जटिल समस्या बन्दै गएको भन्दै बीमा क्षेत्रका जानकारहरुले यसलाई तुरून्तै समाधान गर्नुपर्ने बताएका छन् । 

यता बीमा समितिले भने नेटवर्किङबारे कुनै पनि उजुरी नपरेकाले त्यसमा छानविन र कारवाही गर्न असहज भएको बताएको छ । बीमा समितिका अध्यक्षले कर्पोरेट नेपालसँग भने, ‘मेरो टेबलमा नेटवर्किङ भयो, कमिशनको डिल भयो भनेर कुनै पनि उजुरी आएको छैन । उजुरी वा गुनासो आए मलाई समस्या समाधान गर्न सहज हुन्थ्यो । नियामक निकायलाई कसैले समस्या नै बताउँदैन भने त्यसको समाधान गर्न सहज हुन्न् ।’

तर यस्तो धन्दामा नलाग्ने कम्पनीका सीईओहरूले भने नियामक निकायले उजुरी कुरेर बस्ने भन्दा पनि समस्याको पहिचान आफैले गरेर समाधान गर्न लाग्नुपर्ने बताउँछन् । एक सीईओले कर्पोेरेट नेपालसँग भने, ‘अभिकर्ताहरू नेटवर्किङ बढाईरहने अनि बीमा समितिले मैल् थाहा पाइन भनेर बसिरहने हो भने यसले बीमा बजारलाई नै अशुद्ध पार्दै लान्छ । अभिकर्ता नेवर्किङ बढेको छ भन्ने थाहा पाएर पनि समिति चुप बस्नु भनेको राम्रो संकेत होइन ।’

के होला रहस्य ?
बीमा समितिले अभिकर्तालाई जीवन बीमाको पहिलो बीमाशुल्क संकलन गर्दा २५ प्रतिशतसम्म कमिसन दिन मिल्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था विश्वव्यापी रूपमा नै चलिरहेको छ । सोही कमिसनलाई लिएर चलखेल हुन थालेको हो । 

बीमा कम्पनीले बीमितको जोखिम एक–दुई वर्षमा मात्र नभई १५–२० वर्षसम्मको लागि बहन गर्नुपर्छ । उक्त समयमा बीमितले कम्पनीको सबै जानकारी पाउन मुस्किल पर्ने भएकाले अभिकर्तामार्फत उनीहरुलाई बीमा र बीमा कम्पनीबारे जानकारी दिएर बीमा गराउने चलन हुँदै आएको छ । 

अभिकर्ताले जीवन बीमा गरेका बीमितको हकहितमा सघाएवापत कम्पनीबाट कमिसन पाउँछन् । कमिसन नियमित रूपमा पाउँदा अभिकर्ताले बीमितको हितका लागि पनि नियमितरुपमा नै काम गर्छन् भन्ने मान्यता रहँदै आएको छ । 

तर पछिल्लो समय अभिकर्ता पेशा सेवामूलकभन्दा पनि नाफामूलकमा परिणत हुँदै गएको छ । कम्पनीहरुले पनि व्यवसाय बढाउने नाममा अभिकर्ताको अवैध नेटवर्किङलाई प्रशय दिएका छन् । उनीहरुले अभिकर्ताको व्यवस्थालाई बीमितको सेवाको लागि भन्दा पनि नेटवर्किङ गरेर नाफा गर्ने गराउने माध्यम बनाएका छन् । यस्तै अवैध नेटवकिङसँगै बीमा गराउन बीमा शुल्क नआउँदै बीमा गराएको देखाएर कमिशनको ठूलठूलो डिल गर्ने प्रवृत्ति मौलाएको छ । 

बीमा समिति यो सबै देख्दा देख्दै पनि नेटवर्किङ र कमिशनको जालो हटाउन उदासिन बनेको छ । यस्तो अस्वस्थ र अवैध क्रियाकलापले नेपालको बीमा क्षेत्र नै बदनाम हुने खपत बढेको भन्दै यस क्षेत्रका जानकारहरु चिन्तत हुन थालेका छन् ।