विज्ञापन खर्च होइन्, लगानी हो भन्ने कुरा २० बर्षको करियरबाट बुझेंः शेखर गोल्छा

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन भनेको सफल उद्योगको लागि दीर्घकालिन लगानी भएको बताएका छन् । 

नेपाल विज्ञापन संघको साधारणसभामा शुक्रबार उनले विज्ञापनलाई खर्चको रुपमा मात्रै हेर्न नहुने भन्दै यसलाई लगानीको रुपमा हेर्नुपर्ने कुरामा जोड दिए । गोल्छाले भने, ‘विज्ञापन भनेको लगानी हो भन्ने कुरा हामी सबैले राम्रोसँग बुझेका छौं । सरकारले पनि बुझ्नुपर्ने भइसकेको छ ।’

Advertisement

उनले मार्केटिङले नेतृत्व गरेको व्यवसाय सफल हुने गरेको अनुभव सुनाउँदै थपे, ‘म आफै पनि एउटा उद्योगी हो । विज्ञापनले उद्योग र उत्पादनमा कति प्रभाव पर्छ ? मलाई राम्ररी थाहा छ । मैले सधैं भन्ने गरेको छु मेरो २० बर्षको करियरमा धेरै यस्ता व्यवसाय देखें, कुनै व्यवसायलाई एकाउन्टेन्टहरुले लिड गर्यो, कुनै कम्पनीलाई फाइनान्सले लिड गर्यो, कसैलाई सेल्सले लिड गर्यो भने कसैलाई म्यानुफ्याक्चरिङले लिड गर्यो । जुन जुन कम्पनीलाई मार्केटिङले लिड गर्यो, त्यस्तो कम्पनीको दिगो विकास देखेको छु । र, मार्केटिङसँग विज्ञापन पनि जोडिएको हुन्छ ।’

गोल्छाले २०४६ पछि सुरु भएको व्यवसायिक विज्ञापनको माध्यममा प्रविधिको विकासले धेरै विस्तार भएको बताउँदै नेपालको विज्ञापन बजार औपचारिकरुपमा १२ अर्बको भए पनि अनौपचारिकसमेत जोड्दा २२ अर्ब रहेको अनुमान प्रस्तुत गरे । उनले प्रत्येक बर्ष १० देखि १५ प्रतिशतले वृद्धि हुँदै आएको विज्ञापन बजार कोभिड महामारी र बन्दाबन्दीका कारण उद्योग व्यवसाय चल्न नसक्दा खुम्चिएको बताए । 

कोभिडको पहिलो लहरमा नै छदेखि सात अर्बको विज्ञापन बजार गुमेको गोल्छाको भनाई छ । कोभिड र बन्दाबन्दीका कारण सबैभन्दा धेरै प्रभावित हुनेमा विज्ञापन व्यवसाय पनि रहेको र यो क्षेत्रमा हजारौंले रोजगारी गुमाउनु परेको बताउँदै उनले तर सरकारले विज्ञापन व्यवसायलाई न्यून प्रभावित क्षेत्रको रुपमा राखेकोमा असन्तुष्टि पोखे । 

गोल्छाले अर्थतन्त्रको विस्तार, उद्योग व्यवसायको विस्तार भयो भने विज्ञापन व्यवसाय पनि फस्टाउँछ भन्दै तर अहिले उद्योगधन्दा बढ्न नसकेको बताए । गोल्छाले कोभिड महामारीपछि केही तङग्रिन खोजेको उद्योगधन्दा पनि अहिले तरलताको अभावका कारण ठप्प जस्तै भएको उनको भनाई छ । 

गोल्छाले भने, ‘यसको असर विज्ञापन व्यवसायमा पक्कै पनि पर्छ । र, तरलताको व्यवस्थापनमा सरकारले ध्यान दिनैपर्छ । उद्योग बाणिज्य महासंघले यसमा गम्भीर अध्ययन पनि गरिरहेको छ कि सरकारको खर्च कम भएर भएको हो कि ? राष्ट्र बैंकको अति सुरक्षामा राख्ने नीतिले भएको हो कि ? हामी आयातमूखी बढी भएर हो कि ? वा बाणिज्य बैंकहरुको कर्जा नीति सर्टटम भएको हो ? चारै वटा कारण दोषी छ कि ?’ 

उनले नेपाली विज्ञापनमा सरकारी विज्ञापनको पनि ठूलो हिस्सा रहेको बताउँदै तर उक्त विज्ञापनमा हुने गरेको अनियमितता बारे आफू केही नबोल्ने बताए । उनले पुँजीगत खर्च हुँदैन भने विज्ञापन पनि हुँदैन भन्दै पुँजीगत खर्च नहुने गम्भीर अवस्था अहिले देखिएको बताए । 

Advertisement

Advertisement