विज्ञापन बोर्डबारे भ्रम सिर्जना गर्ने काम नगर्न हुमागाईंको विज्ञापन एजेन्सीहरुलाई सुझाव

Advertisement

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डले विज्ञापन व्यवसायीको हकहितमा संकुचन गर्ने काम नगर्ने स्पष्ट पारेका छन् । नेपाल विज्ञापन संघको शुक्रबार सम्पन्न साधारणसभाको उद्घाटनका क्रममा उनले विज्ञापन व्यवसायीको हकहितमा संकुचन गर्नुपर्ने अवस्था आयो भने आफू अध्यक्ष भएर पनि नबस्ने स्पष्ट पारेका छन् । 

हुमागाईंले भने, ‘मैले आनका साथीहरुको पटक पटकका बैठकमा भन्दै आएको कुरा आज पनि सार्वजनिकरुपमा भन्छु कि विज्ञापन बोर्ड विज्ञापन एजेन्सीहरुको अर्थात विज्ञापन व्यवसायीहरुको हकहितमा संकुचन गर्ने कुनै काम गर्ने छैन् । गर्नुपर्ने अवस्था आयो भने म त्यहाँको अध्यक्ष रहन्न ।’

Advertisement

उनले विज्ञापन क्षेत्रको नियमन गर्ने र यस क्षेत्रमा उत्पन्न हुने थलोको रुपमा विज्ञापन बोर्ड गठन भएको हो भन्दै उनले बोर्डमाथि विज्ञापनदातादेखि सञ्चार माध्यम र उपभोक्ताको अधिकारको समेत संरक्षण गर्नुपर्ने दायित्व रहेको बताए । विज्ञापन व्यवसाय भन्नासाथ विज्ञापन एजेन्सीको मात्रै सरोकारको विषय नभएको हुमागाईंले बताए । 

उनले बोर्डका विषयमा भ्रम सिर्जना गर्ने काम नगर्न पनि आग्रह गरे । हुमागाईंले भने, ‘विज्ञापन बोर्ड विज्ञापन एजेन्सीमैत्री भएन भन्ने भ्रम सिर्जना नगरिदिन हुन म अनुरोध गर्दछु । विज्ञापनदाताले आफूले चाहेको ठाउँमा विज्ञापन गर्न पाउनुपर्ने हकको संरक्षण गर्नुपर्ने दायित्व पनि बोर्डको हो । सञ्चार माध्यमले विज्ञापनदाताले दिएको विज्ञापनको पैसा प्राप्त गर्ने हकको सुनिश्चितता गर्ने दायित्व पनि बोर्डको हो । त्यो हक छिनिने अवस्था आयो भने बोर्ड सक्रिय हुन्छ । त्यसमा साथीहरुले अन्यथा मान्न पाउनुहुन्न ।’ 

काम गर्नुभन्दा अगाडि भ्रमण सिर्जना गर्ने काम नगर्न संघका पदाधिकारीलाई उनले दोहोर्याएर सचेत गराए । विज्ञापन बोर्डमा विज्ञापन संघको प्रतिनिधित्वको माग आफ्नो पनि हो भन्दै हुमागाईंले ऐनले पनि त्यो स्पिरिट बोकेको बताए । उनले बोर्डमा प्रतिनिधित्व नभए पनि अन्य नीतिगत छलफल र कार्यक्रममा संघको प्रतिनिधित्व गराउँदै आएको बताए । 

हुमागाईंले अर्को हप्ताबाट चरणवद्धरुपमा सरोकारवालासँग विज्ञापन आचार संहिताको मस्यौदामाथि छलफल गरेर अन्तिम रुप दिने बताउँदै यसमा आफूहरुले पारदर्शीताको कुरा उठाएको बताए । यदि पारदर्शीता कायम गर्ने कुराको विरोध हो भने बोर्डलाई काम गर्न कठिनाई हुने उनको संकेत थियो । हुमागाईंले विज्ञापन बजार विकास र विस्तारका लागि बोर्डले यससम्वन्धी राष्ट्रिय नीति निर्माणको काम पनि अघि बढाएको जानकारी दिए । 

विज्ञापन एजेन्सीको हकहितको संरक्षण गर्दा सञ्चार माध्यम र विज्ञापनदाताको हकहितमा पनि बोर्ड चुक्ने छैन भन्दै अध्यक्ष हुमागाईंले सरकारी विज्ञापनको हकमा रहेको बेथिति अन्त्य गर्ने सन्दर्भमा जुन ऐनअन्तर्गत आफू अध्यक्ष भएको हो, त्यसलाई चुनौति दिने गरी काम गर्न नसक्ने स्पष्ट पारे । विज्ञापन एजेन्सीहरुले सरकारी विज्ञापन बोर्डमार्फत एकद्धार प्रणालीबाट वितरण गर्ने कुराको विरोध जनाउँदै आएका छन् । तर सञ्चार माध्यमदेखि अन्य क्षेत्रले भने त्यसको समर्थन जनाउँदै आएका छन् । 

सरकारी विज्ञापन एकद्धार प्रणालीबाट गर्दा पनि एजेन्सीको अधिकार छिन्ने काम बोर्डले नगर्ने उनले स्पष्ट पारे । सरकारी विज्ञापनमा ९० प्रतिशतसम्म सरकारी कर्मचारी र विज्ञापन एजेन्सी मिलेर अनियमितता हुने र १० प्रतिशत मात्रै सञ्चार माध्यमले पाउने अवस्था रहँदै आएको छ । हुमागाईंले विज्ञापन व्यवसाय पारदर्शी र मर्यादित भएन भने यस क्षेत्रको व्यक्तिको पनि मर्यादा नबढ्ने भन्दै सरकारी विज्ञापनमा रहेको विकृति हटाउन सहयोग गर्नुपर्ने बताए । 

अध्यक्ष हुमागाईंले १४ अर्ब रुपियाँको विज्ञापन बजार हुनुमा विज्ञापन रहित नीति (क्लिन फिड)को पनि योगदान रहेको बताए । उनले क्लिन फिड पूर्णरुपमा कार्यान्वयन गर्न केही कडाई गर्नुपर्ने बाध्यता रहेको पनि बताए । 

Advertisement

Advertisement