प्रधानमन्त्री कप क्रिकेटः त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमतीको सुखद सुरुवात

Advertisement

काठमाडौं । विभागीय टोलीत्रय त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशले सोमबारबाट राजधानीमा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रन तथा पुलिसले सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेका हुन । 

Advertisement

यस्तै अर्को खेलमा एपिएपफले प्रदेश २ लाई २४ तथा बगामती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले हराएर प्रतियोगितामा सुखद सुरुवात गरेका हुन् ।

एक सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १४.४ ओभरमा सबै विकेट गुमाएर मात्र ५३ रन जोड्न सक्यो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ तथा कप्तान रविन्द्र शाहीले १५ रन जोडे । आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट हात पारे । सुशान भारी र शहाब आलमले दुई–दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक–एक विकेट हात पारे ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय १६ रन जोड्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रन जोडे । हरि चौहानले २० रन जोड्दा रोहित पौडेल र कुशल मल्ल समान १० रनमा आउट भए । सोमपाल कामी ९ रनमा आउट हुँदा जितेन्द्र मुखिया ८ रनमा अविजित रहे । कर्णालीका प्रकाश जैशीले ३ विकेट लिए । अनुज चुनराले २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले १–१ विकेट लिए ।

यस्तै मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्र बनाउँदा पुलिसले २ रनको रोमाञ्चक जित निकालेको हो । सुदुरपश्चिमका लागि जगेन्द्र बोहराले २७ रन जोडे । नारायण जोशीले २२ रन जोड्दा खडक बोहरा १३ रनमा आउट भएका थिए । पुलिसका आरिफ शेखले ४ विकेट लिए । दिपेन्द्र सिंह ऐरी, करण केसी र पवन सर्राफले १–१ विकेट लिए ।

यस अघि पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक २१ रन जोडे । यस्तै पवन सर्राफले २० रन जोड्दा आरिफ शेखले १० रन बनाए । सुदुरपश्चिमका नारायण जोशी र आदित्य महताले ३–३ विकेट लिए । शेर मल्लको नाममा २ विकेट रह्यो ।

कीर्तिपुरकै अर्को खेलमा एपिएफले प्रदेश नम्बर २ लाई २४ रनले पराजित ग¥यो । एक सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएरमात्र १ सय ३९ रन जोड्न सक्यो । हरिशंकर साहले २६ बलमा ३६ रन तथा मोहमद आदिल आलमले १४ बलमा ३५ रनको योगदान गरेपनि त्यो जितका लागि पर्याप्त भएन । एपीएफका लागि अविनाश बोहरा, भुवन कार्की र कमल ऐरीले समान दुई–दुई विकेट हात पारे । शरद भेषावकर र किशोर महतोको नाममा एक–एक विकेट रह्यो ।

यस अघि एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो ।  एपीएफका लागि आसिफ शेखले ४५ बलमा सर्वाधिक ६३ रनको योगदान गरे । प्रदेश २ का लागि रितेश सिंहले सर्वाधिक चार विकेट हात पारे । विवेक यादवले एक विकेट लिए ।

अर्को खेलमा बागमतीले मूलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा समेटियो । कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन तथा बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । बागमतीका लागि नन्दन यादवले सर्वाधिक ३ विकेट हात पारे । रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले समान दुई–दुई विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १४ रन जोडेको थियो । बागमतीका लागि सुवास खुकुरेलले सर्वाधिक ५१ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए । लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुई–दुई विकेट हात पारे ।

प्रतियोगितामा मंगलबार पनि चार खेल हुनेछन् । मूलपानी र कीर्तिपुर मैदानमा गरी दुई÷दुई खेल हुनेछन् ।

Advertisement

Advertisement