बीमा कम्पनीका सीईओहरूको चिन्ता– लकडाउनभन्दा पनि तरलता अभावले त्रसित बनायो

Advertisement

काठमाडौं । वित्तीय क्षेत्रमा तरलता अभावको समस्या बढ्दै जाँदा बीमा कम्पनीका सीईओहरु चिन्तित बन्न थालेका छन् । त्यसपछि कोरोना महामारीको नयाँ लहर रोक्ने नाममा फेरि लकडाउने हुने हो कि ? भन्ने कुराले उनीहरुमा झन त्रास बढेको छ । 

तरलता समस्याको नकारात्मक प्रभाव झेल्दै आएका बीमा कम्पनीहरु यो समस्या थप नचर्किए हुन्थ्यो भन्ने आशामा छन् । त्यसमाथि लकडाउन पनि भयो भने व्यवसाय डामाडोल हुने सीईओहरुको चिन्ता छ । 

Advertisement

नेशनल लाइफ इस्योरेन्स कम्प्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) सुरेश खत्रीले बीमा कम्पनीहरू कोरोना महामारी र तरलता अभावको दोहोरो मारमा परेको बताउँछन् । उनले भने, ‘बीमा कम्पनीहरू तरलता समस्याबाट निकै प्रभावित भएका छन् । यो समस्या बढ्न नदिन सरकार, नेपाल राष्ट्र बैंकबाट चाँडै पहल होस भन्ने हाम्रो चाहना हो । यसले हामीलाई व्यवसायमा अप्ठ्यारो पारेको छ ।’

तरलता समस्या सेलाउन नपाउँदै फेरि लकडाउन हुने हल्ला चलेकोमा पनि उनी चिन्तत देखिन्छन् । खत्रीले कोरोना महामारीका कारण बीमाको नयाँ तथा पुरानो दुवै व्यवसाय प्रभावित भएको बताए । तरलता अभावको प्रत्यक्ष असर बैंकलाई मात्रै नभएर बीमा कम्पनीहरुलाई पनि पर्ने उनको भनाई छ । 

खत्रीले थपे, ‘कोरोना महामारीको तेस्रो लहरले अन्य क्षेत्रलाई प्रभाव पारेजस्तै बीमा क्षेत्र पनि यसबाट अछुतो रहने अवस्था छैन् । यसले नयाँ व्यवसायलाई मुख्य असर पार्छ । हाम्रा अभिकर्ताले बीमितले पैसा छैन् भन्नु भएको सुनाई रहनुभएको छ । कोरोना महामारीले व्यवसाय ठप्पै हुन्छ भन्न त मिल्दैन । तर यसले आंशिक रूपमा भने प्रभाव पार्छ ।’

त्यस्तै, एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद (एलपी)  दासले कोरोना महामारीले बीमितको मृत्युदर बढाएको बताउँदै मृत्युदर ह्वात्तै बढ्नु जीवन बीमा कम्पनीको लागि राम्रो खबर नभएको प्रतिक्रिया दिए । 

उनले भने, ‘कोरोना महामारीले बीमा व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्छ । बीमितको सरेण्डर (समर्पण) बढ्ने र पूराना प्रिमियम उठाउन अफ्ठ्यारो हुन्छ । उनले बीमाले अरूको जोखिम बहन गर्ने भए पनि यस्ता महामारीले बीमा कम्पनी आफूलाई नै समस्यामा पार्ने बताए ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सीईओ श्रवण रावलले कोरोना महामारी कसैको लागि सुखद नरहेझै बीमा क्षेत्रका लागि थप दुखद कुुरा रहेको बताए । उनले भने, ‘अहिले बीमा क्षेत्रको व्यवसाय अपेक्षित रूपमा बढाउन सकिएको छैन् । यस्तो अवस्थामा नयाँ व्यवसाय ल्याउन तथा बीमा नवीकरण गर्न दुवैमा असहज अवस्था छ । कोरोना महामारी बढ्ने तथा लकडाउन नै हुने हो भने यो बीमा क्षेत्रका लागि राम्रो खबर होइन ।’ उनले जटिल अवस्था सिर्जना भए पनि सकेसम्म आफूहरूले बीमा सेवा नरोक्ने बताए । 

यस्तो छ बीमा समितिकोे जवाफ
बीमा समितिका अध्यक्ष सूर्य सिलवालले कोरोना महामारी बढ्छ भनेर पूर्वअनुमान गर्दै सावधानी अपनाउनु राम्रो कुरा भए पनि सकेसम्म बीमितलाई दिने सेवा प्रभावित गर्ने नहुने बताए । 

उनले भने, ‘भोलि यही हुन्छ भन्ने केही निश्चित हुँदैन । सरकारले पनि हामीलाई यही मोडलबाट अगाडि बढ्नु भनेर कुनै निर्णय गरेको छैन् । सरकारले अर्थतन्त्र ठप्प पार्ने किसिमको लकडाउन गर्दैनौ भनेको छ ।’ 

सार्वजनिक स्थलमा भीडभाड गर्ने तथा सावधानी नपनाउने काम बीमा क्षेत्रका मानिसबाट गर्न नहुने सिलवालको सुझाव छ । उनले थपे, ‘बीमाको व्यवसाय विगतको कोरोना महामारीमा पनि घटेको थिएन । हामीले बीमा कम्पनीलाई भोलि वा पर्सिसम्ममा सुरक्षा–सावधानी अपनाउनु भनेर निर्देशन दिँदैछौं । त्यसको लागि परिपत्र नै तयारी गरी सकेको छौं । परिपत्र जारी गरेलगत्तै बीमा कम्पनीहरूले थप सुरक्षा सावधानी अपनाउने छन् ।’ 

Advertisement

Advertisement