ज्योति विकास बैंकद्वारा विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान

काठमाडौँ । ज्योति विकास बैंकले हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र प्युठान, महादेवपुरी स्वास्थ्य चौकी बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय  जाजरकोट गरि थप ४ ठाउँमा बेबी वार्मर प्रदान गरेको छ । 

बैंकले राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको हो । बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरु बाट भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, महादेवपुरी स्वास्थ्य चौकी बाँके, बर्दिया जिल्ला अस्पताल र जाजरकोट स्वास्थ्य सेवा कार्यालयका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बीच सो बेबी वार्मर हस्तान्तरण गरिएको हो । 

साथै सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो ।

बैंकले हाम्रो विकास प्रवर्द्धन कोष मार्फत् न्यानो नानी परियोजना–२ अन्तर्गत हालसालै लिपानिबिर्ता स्वास्थ्य चौकी परवानीपुर, हेटौडा अस्पताल हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी फापरबारी, चन्द्रनिगाहपुर अस्पताल चन्द्रनिगाहपुर र इनरुवा अस्पताल सुनसरीलाई एक–एक थान बेबी वार्मर प्रदान गरिसकेको छ ।

बैंकले १३औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको ‘न्यानो नानी’ परियोजना–२ को लागि सहयोग प्रदान गरेको थियो । 

बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।