रेमिट्यान्स ६.८ प्रतिशतले घट्यो, पाँच महिनामा भित्रियो ३ खर्ब ८८ अर्ब

Advertisement

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ६.८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा रु.३८८ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको हो । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टमा उक्त तथ्याङ्क उल्लेख छ । 

Advertisement

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३१,०८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । 

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु.४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो । 

Advertisement

Advertisement