लामो कसरतपछि नविल–एनबीबीच प्रारम्भिक मर्जर सम्झौता

Advertisement

काठमाडौं । लामो समयदेखिको चर्चा र लामो कसरतपछि नबिल बैंक र नेपाल बंगलादेश (एनबी)बैंकबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ । बिहीबार साँझ दुई बैंकबीच सम्झौतासम्वन्धी सम्झौता भएको हो । 

बंगलादेशी बैंक आईसीएफसी साझेदार रहेको एनबीबाट उक्त साझेदारले नविल बैंकका मुख्य प्रवद्र्धक विनोद चौधरीलाई शेयर बिक्री गरेर बाहिरिने निर्णय गरेसँगै नविल र एनबी बैंकको मर्जर प्रक्रिया अघि बढेको थियो । 

Advertisement

मर्जरका लागि एनबी र नविलको शेयर अनुपात १००ः४३ रहने यसअघि नै सहमति भइसकेको थियो । तर विभिन्न अवरोधका कारण दुई बैंकबीच मर्जर प्रक्रिया अघि बढ्न सकेको थिएन् । 

आफूलाई नेपालको नम्बर १ बैंकको रुपमा दावी गर्दै आएको नबिललाई आफ्नो अग्रता कायम गर्न कम्तिमा एउटा बाणिज्य बैंकलाई नगाभी उपाय थिएन् । एनबीको आईएफआईसीका प्रतिनिधिहरु कोभिड महामारीपछि नेपालमा लामो समयसम्म आउन नपाएपछि र बैंकहरुको मुनाफा विगतको भन्दा निकै घट्न थालेपछि आफ्नो संस्थापक शेयर बिक्री गरेर बाहिरिने योजना बनाएको बेला सो बैंकको शेयर चौधरीले किन्ने निर्णय गरेका थिए । 

गत बर्षदेखि नै दुई बैंकबीच मर्जरका लागि गृहकार्य भए पनि काम हुन सकेको थिएन् । मर्जरपछि बैंकको अध्यक्ष हालका नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी अधिकृत पनि नबिल बैंककै अनिल केशरी शाह हुनेछन् ।

दुवै बैंकले संयुक्त मर्जर (एक्विजिसन) सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम आज सम्झौता भएको हो । एक्विजिसन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि नबिलको तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेको थियो भने र एनबीको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्रबहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर कमिटि बनेको थियो । 

उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कन लाइ समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ । सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उपाध्यायले हस्ताक्षर गरेका छन् भने एनबीको तर्फबाट थापाले हस्ताक्षर गरेका छन् । 

बैंकहरुले प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । नबिलले नेपाल बङ्गलादेश बैकलाई प्राप्तिपछि बैकको प्राथमिक पुजी रु. ४३ अर्ब चुक्ता पुजी २२ अर्ब ५० करोड कर्जा तीन खर्ब निक्षेप तीन खर्ब १४ करोड हुनेछ । 

गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ३० अर्ब माथी हुने जनाइएको छ । शाखा संजाल तत्कालै २३५ पुग्नेछ भने ग्राहक संख्या १६ लाख माथी हुनेछ । 

Advertisement

Advertisement