रिलायन्स लाइफमा सीईओको तलब विवादः पाँच लाख चाहिन्छः पोखरेल, त्यत्रो धेरै नदेउः बीमा समिति

Advertisement

काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने तयारीमा छन् । तर बीमा समितिले भने उनको लागि तय गरिएको तलब सुविधा केही बढि भएको भन्दै रोक्का गरिदिएको छ । 

पोखरेलले अन्य बीमा कम्पनीमा पनि काम गरेको लामो अनुभव संगालेका छन् । उनले कर्पोरेट नेपालसँगको कुराकानीमा भने, ‘कम्पनीको सञ्चालक समिति त मसँग सकारात्मक नै छ । तर बीमा समितिको अन्तिम स्वीकृति आउँन बाँकी रहेकाले म त्यसैको पर्खाइमा छु ।’ 

Advertisement

यसअघि रिलाइन्स लाइफको सीईओमा प्रवीणरमण पराजुली कार्यरत थिए । उनी नेपाल लाइफ इन्स्योरेन्सको सीईओ हुन गएपछि रिलायन्समा पोखरेललाई नियुक्त गरिएको हो । तर उनको लागि तोकिएको मासिक पाँच लाख रुपियाँ पारिश्रमिक धेरे भएको भन्दै समितिले स्वीकार गर्न ढिलाई गरेको छ । 

पोखरेल पाँच लाख रुपियाँभन्दा कम पारिश्रमिकमा काम गर्न तयार देखिन्न । पोखरेलका लागि त्यो पारिश्रमिक धेरै भएको समितिको तर्क छ । पराजुलीले पनि पाँचै लाख रुपियाँ पारिश्रमिक बुझ्ने गरेकाले सोही पदमा नियुक्त भएर जाँदा पारिश्रमिक घटाउने कुरामा पोखरेल मानसिकरुपमा तयार हुन सकेका छैनन् । 

समितिले पराजुलीले जत्तिनै पोखरेलले नै पाँच लाख रुपियाँ पारिश्रमिक दावी गरिरहेको जानकारी दिएको छ । सीईओहरुको न्यूनतम तलब दर तोक्न सके सहज हुने समितिका उच्च अधिकारीहरुको अनुभव छ । 

रिलायन्स लाइफको के त सम्पत्ति बढाउनुपर्ने के त अरु कर्मचारी पनि खर्च बढाउनुपर्ने भन्दै समितिले कम्पनीले आफ्नो सम्पत्ति पनि नबढाउने र अरु कर्मचारीको तलव सुविधा पनि नबढी सीईओको पनि पारिश्रमिक उच्च गर्ने कुरा गरे पोखरेलको सीईओ हुने संभावना टर्ने चेतावनी दिएको छ । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘सञ्चालक समितिले सिफारिस गरेकै व्यक्तिलाई बीमा समितिले स्वीकृति दिने हो । स्वीकृति दिने बेलामा केही कैफियत भेटिएमा समितिले रोक्ने गर्छ । अब रिलायन्स लाइफको हकमा निर्देशिकाले नै केही अप्ठ्यारो बनाएको छ ।’ 

पौडेलले व्यवहारिक पक्ष पनि हेर्न उत्तिकै जरूरी रहेको बताउँदै ‘विन विन सिचुयशन’मा पोखरेलको सीईओ हुने संभावना रहेको बताए । पोखरेल विगतमा आईएमई लाईफ इन्स्योरेन्सको कामु सीईओ, सूर्या लाइफमा डेपुटी सीईओसमेत भइसकेका छन् । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । 

Advertisement

Advertisement